वराहक्षेत्र नगरपालिका–२ मा रहेको राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलका ५० जना बालबालिकाहरुमा एकै प्रकारको लक्षण देखिँदै अस्पताल भर्ना हुनुपरेको घटना कुनै सामान्य विषय मान्नु हुँदैन । चतरास्थित अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन अधिकारीका अनुसार बालबालिकाहरुलाई वाक्वाकी, बान्ता, ज्वरो र पखालाको लक्षण देखिएको छ, जुन लक्षण दूषित पानी वा खाद्य पदार्थको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यो घटनाले विद्यालयहरुमा बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति कत्तिको संवेदनशीलता अपनाइएको छ भन्ने गम्भीर प्रश्न उठाएको छ। विशेषगरी ७ देखि १२ वर्ष उमेर समूहका बालबालिका बिरामी परेका छन्, उनीहरु शारीरिकरुपमा अझै संवेदनशील हुने भएकाले यस्ता लापरबाहीले अत्यन्तै गम्भीर परिणाम निम्त्याउन नसक्ला भन्न सकिँदैन ।
विद्यालय एउटा यस्तो संस्था हो, जहाँ बालबालिकाले मात्र शिक्षा होइन, सुरक्षित वातावरण पनि पाउने अपेक्षा गरिन्छ। तर, पानी, क्यान्टिन र सरसफाइको अवस्थामै लापरबाही हुँदा बच्चाहरु बिरामी पर्दा विद्यालयको व्यवस्थापन प्रणालीको प्रश्न उठ्छ। अर्कोतर्फ, अभिभावकहरु पनि आफ्ना सन्तान अध्ययनरत विद्यालयको स्वच्छता र सुरक्षाप्रति सचेत हुनु जरूरी छ। नगरपालिकाको भूमिकालाई पनि यहाँ नजरअन्दाज गर्न मिल्दैन । खानेपानीको गुणस्तर, विद्यालय निरीक्षण, क्यान्टिन नियमनजस्ता विषयहरुमा स्थानीय सरकारको सक्रियता अपरिहार्य छ। अहिले नगरप्रमुख स्वयम् निरीक्षणमा पुग्नु सकारात्मक पहल हो, तर यसलाई घटनापछिको क्रियावली मात्र नभई, नियमित अभ्यास बनाउन आवश्यक छ। कुनै पनि समस्या आएपछि क्रियाशीलता होइन, समस्या आउनु अगाडिको क्रियाशीलता हुनु उचित हो ।
सामूहिक रुपमा एकै विद्यालयका यति धेरै विद्यार्थी बिरामी पर्नु आकस्मिक घटना नभई संरचनात्मक कमजोरीको प्रतिफल हो । खानेपानीको स्रोत, प्रशोधन, वितरणदेखि विद्यालयभित्रको भान्साघर र सरसफाइसम्मका सबै पक्ष पुनरावलोकन गर्न जरूरी छ । यो घटनाले अरु विद्यालयहरुले पनि पाठ सिकेर सुधारमा लाग्नु उचित हुनेछ । यसबाहेक बालमैत्री स्वास्थ्य परीक्षण प्रणाली, नियमित सरसफाइ अनुगमन र अभिभावकसँगको सूचना साझेदारीजस्ता सुधारका उपाय अनिवार्य रुपमा लागू गर्नुपर्ने अवस्था आएको छ। विद्यालयस्तरमै ‘हेल्थ रेस्पोन्स सिस्टम’ निर्माण गरी यस्ता समस्याहरु प्रारम्भिक चरणमै नियन्त्रण गर्न सकिने व्यवस्था गरिनु उचित हुनेछ । विद्यालयहरुमा नियमित स्वास्थ्य परीक्षणका कार्यक्रम हुनु जरूरी छ । विद्यालयहरु केवल पढाइका केन्द्र मात्र होइनन्, बालबालिकाको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका संरचना हुन् । त्यहाँको हरेक कमजोरीले बच्चाहरुको जीवनमा गम्भीर असर पार्न सक्छ । अब पनि चेतिएन भने भोलिका दिनमा यस्ता घटना अझ भयावह हुन सक्छन् । बालबालिकाको स्वास्थ्य सुरक्षामा कुनै सम्झौता हुनु हुँदैन ।