भारतको जम्मु–काश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा नेपालीसहित २६ जनाको ज्यान गयो । पहलगाम पर्यटकीय स्थल हो । पर्यटकहरुलाई सोध्दै गोली ठोकिएको भनी विभिन्न सञ्चारमाध्यममा आए । आतङ्काकारीहरुले अन्धाधुन्ध बर्साएको गोलीका कारण नेपाली नागरिकले पनि ज्यान गुमाउन पुगे । अर्का नेपाली घाइते भए । यस्तै अन्य विदेशी नागरिकको पनि ज्यान गयो । भारत र पाकिस्तानले आ–आफ्नै दाबी गर्दै आएको जम्मु–काश्मीर पछिल्लो समय निकै शान्त बनेको थियो । तर, यो घटनाले फेरि पनि भारत–पाकिस्तानको सम्बन्धमा दरार उत्पन्न भएको छ । यी दुई देशकै कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन अहिले ‘कोमा’ मा पुगेको छ । यस्तै प्रकृतिको अर्को संस्थामा भारत सक्रिय छ । यी दुई देशबीच पानी बाराबारको स्थिति सिर्जना भएको छ । यतिसम्म कि पाकिस्तानका रक्षामन्त्रीले युद्ध हुनसक्ने चेतावनीसमेत दिएका छन् । पाकिस्तानले भारतको हेपाहा प्रवृत्तिको विरोध गरेको छ । अर्कोतिर यसले आतङ्कवाद फेरि पनि मौलाएको सङ्केत दिएको छ । विभिन्न नाममा आएका यस्ता आतङ्कवादको अन्त्य गर्नुपर्ने आवश्यकता छ । यही फेरोमा नेपालका सीमा क्षेत्रमा यतिबेला सुरक्षा व्यवस्था कडा बनाउन थालिएको छ ।
नेपालको सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने विभिन्न कारणहरु छन् । किनकि यसअघिका केही घटनाक्रमहरु नेपालको माटोबाट भएको देखिएको छ । जस्तैः नेपालको विमानस्थलको बाटो भएर प्लेन अपहरणसम्मको घटना भएको छ । यस्तै मिर्जा दिलसाद बेग, सञ्चारउद्यमी जमिम साहलगायतको हत्या पनि आतङ्वादको नमुना हो । यी घटनाक्रमहरु पनि आतङ्वादसँग जोडिएका थिए । भर्खरै काठमाडौँमा भएको एउटा घटना पनि यस्तै प्रकृतिको थियो । सार्प सुटरहरुको प्रयोग गरेर गरिएको हत्याको अहिलेसम्म पनि प्रहरी निक्र्यौलमा पुग्न सकेको अवस्था छैन । यसले पनि आतङ्कवादको एउटा प्रतिरुपलाई प्रष्ट पारेको छ । अर्कोतिर नेपाल र भारतबीच खुल्ला सिमानाका कारण पनि खतरापूर्ण स्थिति छ । यसलाई रोक्नका लागि पनि सुरक्षा व्यवस्था कडा पार्नुपर्ने देखिएको थियो । यो आवश्यकता थियो । नेपाल सरकारले अहिले सशस्त्र प्रहरी परिचालन गरेर जुन कार्य थालेको छ । यो एकदमै सह्रानीय कार्य हो । आतङ्कवादलाई नियन्त्रण गर्न सबै देशहरु एकबद्ध हुन आवश्यक छ । देश–देशबीच सुरक्षा सतर्कतासँगै अन्य साझेदारी आवश्यक हुन्छ । आतङ्कवाद विश्वकै लागि खतरा हो । अमेरिकाको ट्वीनटावरको घटनाबाटै आतङ्कवादको स्वरुप कस्तो छ भन्ने प्रतिबिम्बित गरेको छ । यसले पनि सबै देश ऐक्यबद्ध भई अगाडि बढ्ने हो भने यसलाई निर्मूल गर्न सकिन्छ ।
आतङ्कवादले नेपाललाई हालसम्म गाँजेको छैन । तर, यसबाट अछूतो भने छैन । विभिन्न घटनाक्रमले त्यसलाई पुष्टि गरेको छ । यसकारण नेपाल र नेपालको प्रशासन सक्रिय हुनु जरूरी थियो । यो नेपालको मात्रै समस्या नभई भारत, पाकिस्तान जस्ता दक्षिण एसियाली मुलुकको लागि पनि समस्या हो । एकले अर्कोलाई प्रत्यारोप गरेर समस्याको समाधान हुँदैन । यसका लागि सुरक्षा सतर्कता अपनाउन जरूरी छ । यसमा नेपालले आफ्नो हिसाबमा सुरक्षा सतर्कता बढाएको स्थिति छ । यसले नागरिकमा एक खालको प्रत्याभूति दिलाएको छ । सुनसरीमा झण्डै ७२ किलोमिटर खुला सीमाना छ । यस्ता सीमानाकाहरुमा दुवै पक्षले निगरानी बढाउँदै जाने हो भने समस्याको समाधान हुन सक्छ । आतङ्कवादलाई निर्मूल गर्न सबै क्षेत्र, देशहरु सक्रिय हुनुको बिकल्प छैन । सबैले चासो र चिन्ता व्यक्त गर्दै सुरक्षा निगरानी बढाउँदै आतङ्कवादविरूद्ध एकजुट हुन आवश्यक छ ।