सुनसरी । विद्यालय शिक्षा ऐन शीघ्र जारी साथै विगतका सम्झौता कार्यान्वयनको माग गर्दै चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूको आन्दोलन चलिरहँदा स्कुल लगाउनुपर्ने पक्षमा अभिभावकहरूले दबाव दिन थालेको प्रधानाध्यापकहरूले खुलासा गरेका छन् ।
केही विद्यालयका प्रअहरूले विद्यालय लगाउनुपर्ने बाध्यात्मक स्थिति सिर्जना हुन थालेको भनी बताएका छन् । काठमाडौँ केन्द्रित आन्दोलनलाई सहयोग पु¥याउने उद्देश्यले सुनसरीको रामधुनी नगरमा गरिएको शिक्षकहरूको कोणसभापश्चात्को बैठकमा केही प्रअहरूले यस्तो खुलासा गरेका हुन् । शिक्षक महासङ्घअन्तर्गतको आन्दोलन परिचालन समिति सुनसरीको निर्देशनअनुसार मङ्गलबार बिहान ११ बजे रामधुनी नगरभित्रका विद्यालयका शिक्षकहरू नगरपालिकाको कार्यालय परिसरमा भेला भई आन्दोलनको विषयमा प्रअहरूले धारणा राखेका थिए ।
रामधुनी–६ स्थित तेह्र बालबालिका स्मृति आधारभूत विद्यालय प्रधानाध्यापक सुनिल तिम्सिनाले अभिभावकहरूको तीव्र दबावका कारण आफू विद्यालय बन्द राख्न नसक्ने स्थितिमा पुगेको बताए । ‘म आन्दोलनको पक्षमा छु, तर अभिभावकको दबाव अत्यधिक छ’ उनले बैठकमा भने, ‘बुधबारदेखि विद्यालय खोल्नुपर्ने अवस्था आएको छ ।’ तर अन्य विद्यालयका प्रअहरूले तिम्सिनाको भनाइप्रति घोर आपत्ति जनाए । उनीहरूले कुनै पनि हालतमा आन्दोलन सफल नभएसम्म विद्यालय नखोल्ने अडान राख्दै विद्यालय खुलाए सामूहिकरूपमा गएर ताला लगाइने चेतावनीसमेत दिए ।
यता, शिक्षकहरूको कोणसभा चलिरहेकै बेला तेह्र बालबालिका विद्यालयका अभिभावकहरूको एक समूह सभास्थलमा पुगेको थियो । उनीहरूले विद्यालय अझै नखोलिएमा प्रतिवादमा उत्रिने चेतावनी दिएका थिए । एक अभिभावकले भने, ‘हाम्रो विद्यालयमा नेपाल सरकारको दरबन्दीमा एकजना मात्र शिक्षक छन्, बाँकी हामीले निजी स्रोतबाट तलब दिएर राखेका छौँ । हामीले लगानी गरेको खेर गइरहेको छ । बच्चाहरूको भविष्य गम्भीर सङ्कटमा छ ।’
शिक्षकहरूले आन्दोलन कायम राख्ने स्पष्ट सङ्केत गरेपछि केही अभिभावकहरू थप आक्रोशित बने । अर्का
अभिभावकले भने, ‘बुधबारदेखि विद्यालय खुल्नेछ, शिक्षकहरूले अवरोध गरे सह्य हुनेछैन ।’ यसले अभिभावक र शिक्षकबीच झडपको स्थिति सिर्जना गरेको थियो । स्थिति चर्कन नदिन नगरपालिकाकी उपप्रमुख तारा थापा स्वयम् उपस्थित भई दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरिन् । उनले भनिन्, ‘नेपाल सरकार र शिक्षक महासङ्घबीच सहमति भएपछि समस्या समाधान हुने अपेक्षा छ । केही दिन प्रतीक्षा गर्नुहोस्, अहिलेलाई भिडन्त नगर्नुहोस् ।’ थापाको आग्रहपछि अभिभावकहरू फर्किए पनि उनीहरूले बुधबारदेखि विद्यालय सञ्चालन हुनुपर्ने अडान कायमै राखे ।
शिक्षक आन्दोलन परिचालन समिति रामधुनीका संयोजक यादबहादुर कार्कीले व्यक्तिगत स्वार्थका लागि नभई शिक्षकहरूको आन्दोलन शिक्षा क्षेत्रमा दीर्घकालीन समाधान खोज्न भएकाले अभिभावकहरूलाई सहयोग गर्न आग्रह गरे । उनले भने, ‘हामी पनि विद्यार्थीको भविष्यप्रति चिन्तित छौँ । अभिभावकहरूको चासो स्वभाविक हो, तर हाम्रो माग पूरा नभएसम्म हामी पछि हट्न सक्दैनौँ ।’ उपप्रमुख थापाले सबै पक्षलाई धैर्य गर्न आग्रह गरिन् ।