पछिल्लो समय नेपाली समाजमा मिर्गौला पीडितको सङ्ख्या बढिरहेको पाइन्छ । सहरका घरघरमा मिर्गौला पीडितहरुले उपचार गर्न नसकेको भन्दै आर्थिक सहयोग माग्न आउनेहरु प्रशस्त भेटिन्छन् भने गाउँ–गाउँमा पनि मिर्गौला पीडितहरुले सहयोगको याचना गरिरहेका खबर सामाजिक सञ्जालभरि भेटिन्छन् । मिर्गाैला पीडितहरुलाई डायलाइसिस गर्न सरकारले सहयोग गरे पनि धेरै पीडितले यस्तो सहयोगसमेत पाउन नसकेको गुनासो गरेका छन् । मिर्गौला फेर्नु पर्ने अवस्थाका पीडितले झनै धेरै समस्या भोग्दै आएका छन् । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका पीडितहरुलाई मानसिक, आर्थिक मात्र नभई कानूनी समस्या पनि थपिन्छ । पीडितलाई प्रत्यारोपणका लागि कसैले आफ्नो मिर्गाैला दान दिन चाहे पनि नेपालको कानूनअनुसार लिन मिल्दैन । आफ्नो परिवारभित्रका व्यक्तिसँग मिर्गौला लिन र दिन मिले पनि त्यसबाहेकका आफन्त वा अन्य व्यक्तिले दिन चाहे पनि कानून बाधक छ ।

परिवारभन्दा बाहिरका मान्छेले चाहेर पनि दिन नमिल्ने भएपछि कतिपयले भारतमा गएर अवैध तरिकाले महँगो मूल्यमा मिर्गौला किनेर प्रत्यारोपण गर्ने गरेका छन् । भारतमा गएर मिर्गौला बेच्ने पनि कतिपय नेपाली नै भेटिन्छन् । यस्तो कानूनी जटिलताका कारण पीडितहरुले मिर्गौला प्रत्यारोपण गर्न नपाएर ज्यान गुमाउनु पर्ने अवस्था पनि सिर्जना हुने गरेको छ । धरान–१४ का मिर्गौला पीडित प्रेमप्रसाद पराजुलीले पत्रकार सम्मेलन गरेर यस्तै समस्याको उजागर गरेका छन् । लामो समयदेखि दुवै मिर्गौला बिग्रिएर हाल डाइलाइसिस गराइरहेका उनले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ तर, उनको परिवारका मान्छेको मिर्गाैला प्रत्यारोपण गर्न मिलेन, त्यसपछि उनलाई आफन्तले मिर्गाैला दिन चाहेका थिए तर, नेपालको कानूनअनुसार त्यसो गर्न पाइँदैन । यही समस्याबीच उनले कानूनी जटिलताका कारण आफू जीवन–मरणको दोसाँधमा रहेको भन्दै कानून परिवर्तन गर्न माग गरेका छन् । यसलाई उनले आफ्नो बाँच्न पाउने मानवअधिकार हनन् भएको भन्दै प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई अनुरोध गरेका छन् ।

यस्तो समस्या प्रेमप्रसाद पराजुली एक्लैको मात्र होइन । यस्ता धेरै व्यक्ति समाजमा भेटिन्छन्, जसलाई मिर्गौला दिन तयार व्यक्ति भए पनि कानूनी अवरोधका कारण उपचार पाउनबाट बञ्चित भइरहेका छन् । सरकारले परिवारबाहेक अन्य व्यक्तिबाट मिर्गौला लिएर प्रत्यारोपण गर्दा मिर्गौला किनबेचमा विकृति हुनेलगायतका कारणले अन्य व्यक्तिबाट लिन–दिन नमिल्ने व्यवस्था गरिएको बताइन्छ । तर, विकृति होला भनेर उपचार सेवा नै रोक्नु गलत हो । पराजुलीले भनेजस्तै कसैले स्वेच्छाले दिन तयार भएको अवस्थामा प्रत्यारोपण गर्न पाउने कानूनी व्यवस्था बन्नु उपयुक्त हुन्छ । कसैले कसैको ज्यान बचाउन सहयोग गर्छ भने त्यस्तो कार्यमा रोक्नु हुँदैन । नियम, कानून आम नागरिकको हितका लागि हुन्, यदि कानूनले नागरिकको हितमा बाधा व्यवधान पु¥याउँछन् भने त्यस्ता नियम कानून परिवर्तन गरिनु पर्छ । कानूनलाई व्यावहारिक बनाउनेतर्फ सरकारले ध्यान दिनु आवश्यक छ । आम नागरिकलाई फाइदा हुने गरी मिर्गौला प्रत्यारोपणलाई सहज बनाउनु जरूरी छ ।