नेपालका स्वास्थ्यसंस्थामा काम गर्ने चिकित्सकहरुमाथि हातपात र कुटपिट भएका घटना बेलाबखत सार्वजनिक हुन्छन् । कुटपिटपछि चिकित्सकहरु आन्दोलनमा उत्रिन्छन्, स्वास्थ्य सेवा बन्द गर्छन्, त्यसपछि सरकारले दोषीलाई कारबाही गर्ने र अब यस्ता घटना नदोहोरिने सहमति जनाएपछि स्वास्थ्यसंस्था खुल्छन् । लामो समयदेखि यही प्रक्रिया चलिरहेको छ । स्वास्थ्यसंस्थामा हुने गरेका यस्ता घटना न्यूनीकरण गर्न आवश्यक भए पनि यसतर्फ राज्यको ध्यान पुग्न सकेको छैन । त्यसको असर सर्वसाधारण बिरामीलाई परिरहेको छ भने सरकारी अस्पतालको बदनाम भइरहेको छ । चिकित्सकमाथि किन कुटपिटका घटना भइरहन्छन्, सरकारले त्यसको कारण खोजी गरेर समस्या समाधान गर्नु आवश्यक छ ।

मोरङको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि स्थानीय युवाहरुले गरेको कुटपिट घटनाको विरोधमा स्वास्थ्यकर्मीहरु ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएपछि बिरामी उपचार सेवाबाट बञ्चित भएका छन् । एकातिर चिकित्सक कुटिनु दुःखद् घटना हो भने अर्कातिर त्यही विषयमा स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन गरिनु अर्को दुःखद् पक्ष हो । यस्तो आन्दोलनबाट सर्वसाधारण नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्छ भने बिरामीहरुमा सरकारी अस्पतालप्रति विश्वास घट्दै जान्छ अनि उनीहरु निजी अस्पतालमा जान बाध्य हुन्छन् । स्वास्थ्य क्षेत्रमा मौलाइरहेका माफियाहरुलाई फाइदा पुग्छ, यस्ता घटनाले  । चिकित्सक होस् या अन्य कुनै पनि व्यक्तिमाथि कुटपिट हुनु गलत हो, कानून विपरीतको घटना हो । कानून विपरीत यस्तो काम गर्नेलाई पक्राउ गरेर कारबाही गरिनु पर्छ, यो सामान्य नियम हो । कुटपिटमा संलग्नलाई कानूनी कारबाही हुनैपर्छ तर, कुटपिट भएको निहुँमा अस्पताल नै बन्द गर्ने परिपाटी पनि गलत हो । यसको अन्त्य हुनु आवश्यक छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने कुटपिटका घटना र बन्द हड्ताल किन सरकारी अस्पतालमा मात्र हुन्छन् ? यो एउटा गम्भीर विषय हो । सरकारी अस्पतालका स्वास्थ्यकर्मीमाथि नै आक्रमण हुनुमा कहाँ कसको कमजोरी छ ? यसको अनुसन्धान हुनु जरूरी छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही हुनुपर्छ, साथै कोही व्यक्तिले अपराध गर्यो भन्दैमा अस्पताल नै बन्द गरेर सर्वसाधारण बिरामीलाई दुःख दिनेलाई पनि कारबाही हुनु जरूरी छ । स्वास्थ्य संस्था सार्वजनिक क्षेत्र हो, कसैको व्यक्तिगत घर होइन, त्यसमा उसले आफूलाई मन लाग्दा खोल्ने र नलाग्दा बन्द गर्ने अधिकार कसैलाई हुँदैन । यसका लागि सरकारले स्वास्थ्यसम्बन्धी स्पष्ट नीति ल्याउनु आवश्यक छ । स्वास्थ्य संस्थामा बन्द हड्ताल गर्न नपाइने कानून भए पनि विभिन्न बहानामा स्वास्थ्यकर्मीले नै बन्द हड्ताल गर्नु गलत हो । त्यसकारण सरकारले स्वास्थ्य संस्थालाई बन्द हड्ताल निषेधित क्षेत्र बनाउने कानून कडाइका साथ कार्यान्वयन गरिनु आवश्यक छ । साथै स्वास्थ्यकर्मीहरुमाथि हुने आक्रमणका घटना पनि निन्दनीय हुन्, यस्ता घटना हुन नदिन सबै पक्षले सचेतता अपनाउनु आवश्यक छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भयरहित र शान्तिपूर्ण वातावरण बनाउन सरकारले ध्यान पुर्याउनु पर्छ ।