भारतीय सन्त धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले वराहक्षेत्र चतराधामस्थित श्रीरामतारक ब्रह्मपीठमा श्रीराम मन्दिरको शिलान्यास गरेका छन् ।

धार्मिक पर्यटकीय स्थलका रुपमा चतराधामलाई विकास गर्ने जगदगुरु महायोगी सिद्धबाबाको सत्सङ्कल्पमा वराहक्षेत्रको चतराधाममा २ सय करोडको लगानीमा ब्रह्माण्डीय वास्तुकलामा आधारित श्रीयन्त्र शैलीको विशाल राम मन्दिरको संरचना निर्माण गरिने भएको छ ।

यस्तो हुनेछ श्रीराम मन्दिर 

रामानन्दाचार्य सेवापीठका अनुसार मन्दिर अण्डरग्राउण्डदेखि १२ तलसम्मको संरचना निर्माण हुनेछ । २ सय बाइ २ सय वर्गफिटको क्षेत्रफलमा फैलिएको संरचना मानव सभ्यताको उत्पत्तिदेखि वर्तमानसम्मको धार्मिक शास्त्रीय आधारमा रहेर अध्ययन, पर्यटन केन्द्रका रूपमा  निर्माण गरिने छ । 

२ सय करोडको अनुमानित बजेटमा निर्माण हुन लागेको विशाल संरचनाको डिपिआरको काम यसअघि नै सम्पन्न भइसकेको छ ।   '१ सय २८ फिट अग्लो ब्रह्माण्डीय वास्तुकलामा आधारित श्रीयन्त्र शैलीमा विशाल मन्दिर निर्माणका लागि आज बागेश्वर धाम सरकारबाट सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङ, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलगायत सन्त, महन्त र धार्मिक गुरुहरुको समुपस्थितिमा शिलान्यास भएको हो,' रामानन्दाचार्य सेवा पीठका अध्यक्ष श्यामकुमार लावतीले भने, 'मन्दिरमा घुम्न र त्यहाँका विषयवस्तु बारे सामान्य जानकारी लिन पनि कम्तिमा ५ घण्टा लाग्ने छ ।' उनका अनुसार मन्दिर दर्शन गरिसकेपछि सृष्टिको आरम्भ, सृष्टिको रहस्य, नेपालको उद्भव विकास र संस्कृति, स्वास्थ्य, प्रकृति, ईश्वर र आत्माबारे बोध हुनेछ ।

१२ तलाको निर्माण हुने संरचनामा नवौं तलामा सृष्टिको उत्पत्ति र तत्वहरूको दर्शन हुनेछ । ‘व्रह्माण्ड, शक्ति, र मूल विन्दुको दर्शन हुन्छ’ जगद्गुरु कृष्णदासले भने, ‘व्रह्माण्डको उत्पत्ति, पदार्थको दर्शन, अहङ्कार तत्व, महतत्वलगायत पञ्चतत्व र पच्चीस प्रकृतिको दर्शन हुनेछ ।’

जगदगुरु सिद्धबाबाका अनुसार पृथ्वी, नेपाल र नेपालको उद्भव विकास, शैव इतिहास, वेद, विज्ञान, नेपालको मूल संस्कृति, वराहक्षेत्र र ‘मनु’ बारे जानकारी हुनेछ ।

‘कोसी सभ्यताको आरम्भकर्ता भगवान् शिव हुन्, प्रथम मनुलाई प्रेरित गरेर श्वेत वराहकल्पको पहिलो मानव यहाँ जन्मिन्छ र नेपालको कोसी सभ्यता सुरु हुन्छ’ जगद्गुरु सिद्धबाबाले भने, ‘त्यसलाई शैव सभ्यता भनिन्छ, त्यही नै किरात सभ्यता हो । 

उनका अनुसार माथिल्लो तलाबाट क्रमशः कौल ऋषि, अष्टावक्र ऋषि, राजर्षि जनकजीदेखिको इतिहास चौथो तलामा भेटिन्छ । पाँचौं तलामा आइपुग्दा मानदेवको इतिहास भेटिन्छ । सातौं तलामा आइपुग्दा नेपालको सिमाङ्कनदेखि राजा, राज्य र वर्तमान नेपालको अवस्था देखिन्छ ।

निर्माण गर्ने भनिएको मन्दिर बालुवा, गिट्टी, ग्रेनाइट, ब्ल्याक स्टोन, रेड स्टोन, स्टेनलेस स्टिल, हाइड्याममा प्रयोग गरिने केमिकललगायतबाट निर्माण हुनेछ । जसको आयु अढाईसय वर्षसम्म हुने अनुमान गरिएको छ ।

तलबाट नवौं तलासम्म लिफ्ट हुनेछ । त्यसपछि माथि ३ तलाको सिँढी हुनेछ । तलबाट माथि साँघुरो क्रममा जाने भएकाले ९ तलाभन्दा माथि लिफ्ट लाने ठाउँ हुँदैन । ‘देवसभा’ २ सय फिट बाइ २ सय फिटको विशाल हल हुनेछ । बीचमा कुनै पिल्लर हुँदैन । ‘देवसभा’ २ सय फिट बाइ २ सय फिटको विशाल हल हुनेछ । 

मन्दिरको निर्माण वैज्ञानिक स्ट्रक्चरको आधारमा बनाइने पीठले जानकारी दिएको छ । मन्दिर इतिहास, विज्ञानमा आधारित चतराधाममा निर्माण हुने भव्य मन्दिर इतिहास, ज्ञान र विज्ञानमा आधारित हुने बताइएको छ । ‘देवसभामा ३३ कोटी देवताको स्थापना गरिनेछ,’  जगदगुरु सिद्धबाबा भन्छन्, ‘दर्शन भनेको मूर्तिलाई रातो अक्षता र फूल चढाउने मात्र होइन, यहाँको दर्शन समग्र जीवनको दर्शन हो ।’

जगद्गुरुका अनुसार आदिम इतिहासदेखि आधुनिक इतिहाससम्मको ज्ञान व्यक्तिले प्राप्त गर्नेछ । ‘यत् पिण्डे तत् व्रह्माण्ड’, पिण्ड भनेको शरीर जे यो पिण्डभित्र छ, त्यो व्रह्माण्डमा छ, तपाईंको शरीरमा ३३ कोटी देउता छन्, शरीरको संरचना र रहस्य के रहेछ ? त्यो देव सभाभित्र बुझ्नु हुन्छ । दुनियाँ, ईश्वर, प्रकृति, आत्मा, जीवन, जीवात्मा र कर्म के रहेछ ? भन्ने त्यहाँ बुझिन्छ’ जगद्गुरु सिद्धबाबा भन्छन्, ‘ यहाँ तपाईंको इनर इञ्जिनियरिङ, आफ्नो प्रकाश आफै बन भन्ने मूल ज्ञान दिएर पठाइन्छ ।’

'नेपाल के बिना भारत अधुरा'

श्रीराम मन्दिरको शिलान्यास गर्दै सन्त शास्त्रीले नेपालविना भारत अधुरो रहेको बताएका छन् । 

'नेपालविना भारत अधुरो छ, सीताविना राम अधुरा छन्, नेपालमा हिन्दूत्वलाई जगाउन आएको छु,' सन्त शास्त्रीले भने ।

उनले ५ दिन कथा सुनाउने बताए साथै एक दिन दिव्य दरबार लगाउने जानकारी दिए । 'नेपाल मेरो आत्मा हो, नेपालको शान्तिका लागि, हिन्दुत्वको विकासका लागि,' सन्त शास्त्रीले भन, 'नेपाल अब मेरो हो ।' 

सन्त शास्त्रीले नेपाल प्राचीन हिन्दू परम्पराको जननी भएको बताए । 

'राम मन्दिरको स्थापनाले विश्वलाई आकर्षित गर्छ'

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले रामतारक ब्रह्म पीठमा श्रीराम मन्दिर स्थापनाले विश्व भरका हिन्दू धर्मावलम्बीलाई आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन् ।  मन्त्री तामाङले नेपालको महिमा विश्वभर प्रसार हुने सिद्धबाबाको सङ्कल्पको प्रशंसा गरे । उनले महायज्ञ र आयोजित अनुष्ठान सफलताको शुभकामनासमेत दिए ।

'भारत और नेपाल के सीमा मात्र रेखा हे', धर्म संस्कृतिलाई अलग गर्न सकिंदैन

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपाल र भारतबीचको सीमा मात्र 'रेखा' रहेको बताएका छन् । उनले नेपाल र भारतबीचको धर्म संस्कृतिलाई कुनै सीमारेखाले अलग गर्न नसक्ने बताएका छन् । 

रामनवमीका अवसरमा बुधबार चतराधामस्थित श्री रामतारक ब्रह्मपीठमा श्रीराम मन्दिरको शिलान्यासमा सहभागी हुँदै मुख्यमन्त्री कार्कीले नेपालको हिमालबाट बग्दै भारततर्फ गएको कोसी नदीलाई जसरी कसैले छुट्याउन सक्दैन उसैगरी नेपाल र भारतलाई सनातन धर्म संस्कृतिले जोडेकाले छुट्याउन नसक्ने बताएका हुन् । 

भारतीय सन्त धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ५ दिने सङ्गीतमय हनुमद कथा वाचनका लागि चतराधाम आइपुगेका हुन् । उनले श्री रामतारक ब्रह्मपीठमा श्रीराम मन्दिरको शिलान्यास गरेका छन् । पीठका अनुसार २ सय करोड बढीको लगानीमा श्रीराम मन्दिर निर्माण हुनेछ ।

पीठमा गत चैत्र २७ गतेदेखि श्रीराम कथा चन्द्रकला सखीबाट प्रस्तुत हुँदैछ भने श्रीहनुमद महायज्ञ (कोटि होम) समेत आयोजना भइरहेको छ ।