धरान । कवि विप्लव प्रतीकको नयाँ हाइकु सङ्ग्रह ‘शाडेनफ्रोएडा’ माथि धरानमा संवाद गरिएको छ ।

धरान मोडल कलेजको आयोजनामा आइतबार हाइकु संवाद गरिएको हो । कवि प्रतीकले हाइकु लेख्नु चाहिँ प्रयोग भएको बताए । उनले हाइकुले गजबको अभ्यास गराउने र किफायतका साथ लेख्न सिकाउने बताए । ‘किफायतका साथ लेख्न सिकाउँछ । हिफाजतका साथ लेख्न सिकाउँछ’–उनले भने । हालै प्रकाशित भएको सङ्ग्रहमा १ सय ५० वटा हाइकु छन् ।

आठवटा खण्डमा विभाजित गरिएको सङ्ग्रहमा ९२ वटा हाइकु चाहिँ उत्कृष्ट रहेको वक्ता प्रा.डा. राम्जी तिम्सिनाले बताए । उनले हाइकु ध्यानको उच्चतम् विन्दुमा पुगेको अवस्थामा लेखिने बताए । ‘यो तीन खण्डमा किन लेखिन्छ ? किनभने ध्यानको पूर्व चरण, ध्यानको उच्चतम् तह र ध्यानले छाडेको चरण भएकाले तीन हरफमा लेखिन्छ’–उनले भने ।

उनले १७ सेलेबलमा लेखिने हाइकु जीवनकै रूप लेखिने बताए । यस सङ्ग्रहमा २५ वटा हाइकुहरू ध्यानको उच्चतम् तहमा पुग्ने खालको रहेको उनले बताए । सहजकर्ता डा. अस्मिता विष्टले सङ्ग्रह कलात्मक रहेको बताइन् । उनले जीवनध्वनि खण्डका हाइकुहरू ज्याँदा काव्यिक रहेको बताइन् । कवि प्रतीकले ‘शाडेनफ्रोएडा’ जर्मन भाषाको शब्द भए पनि अहिले अङ्ग्रेजीमा पनि प्रयोगमा आइसकेको बताए । उनले ‘शाडेनफ्रोएडा’ को अर्थ ‘अर्काको दुःख देखेर खुसी हुने प्रवृत्ति’ रहेको बताए । उनले हाइकुबारे सन् २००७ देखि सन् २०११ सम्म अध्ययन गरी लेखिएका हाइकुहरू रहेको बताए ।

हाइकु जापानिज कविता हो । यसको संरचना ५–७–५ अक्षरको रहेको हुन्छ । यसमा मान्छे, प्रकृति अनिवार्य रूपमा आएका हुन्छन् । कलेजका प्रमुख प्रवीणकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले कविलाई विभिन्न जिज्ञासा राखेका थिए ।