सुनसरीको इटहरीमा भएका ठूला आपराधिक घटनाका अपराधीहरु हालसम्म पत्ता लगाउन नसक्दा पीडितले अझै न्याय पाउन सकेका छैनन् । यसले प्रहरीको अनुसन्धानमाथि प्रश्न खडा भएको छ । गत भदौमा इलाका प्रहरी कार्यालय इटहरी आएका डिएसपी टेकबहादुर कार्कीले पत्रकार सम्मेलन गरेर इटहरीमा भएका ठूला हत्याकाण्डका फाइल खोल्ने बताएका थिए । तर, हालसम्म ती घटनाका फाइल खुलेका छैनन् । कतिपय फाइल त प्रहरीले अनुसन्धान पूरा नहुँदै पहिला नै बन्द गरिसकेको छ । यसबाट आम नागरिकको शान्ति सुरक्षाको जिम्मा लिएर बसेको प्रहरीमाथि प्रश्न चिन्ह खडा हुनु स्वभाविक पनि हो ।

इटहरीमा १६ वर्षअघि अर्थात् २०६४ चैत ५ मा हार्डवेयर व्यवसायी कैलाशचन्द्र अग्रवाल र श्रीमती कान्तादेवीको वीभत्स हत्या भएको थियो । तर, अहिलेसम्म अपराधी पत्ता लाग्न सकेको छैन । अग्रवाल दम्पतीको घरभित्रै हत्या भएको थियो । तर, पीडित परिवारले अहिलेसम्म न्याय पाएका छैनन् । त्यसबेला इटहरीको प्रहरी प्रमुख विश्वमणि पोख्रेल थिए । उनीपछि पनि धेरै प्रमुख फेरिए तर, हत्या कसले गरेको हो ? भन्ने अझै पत्ता लाग्न नसक्नुले प्रहरी अनुसन्धानमाथि प्रश्न उठ्ने कारण हो । त्यसैगरी २०७२ फागुन २० मा इटहरीकै १४ वर्षीया बालिका सपना भुजेलको वीभत्स हत्या भयो । यो घटना भएको पनि ८ वर्ष बितिसकेको छ । घटनापछि अधिकारकर्मी महिला समूहले छानबिनको माग गरेर आवाज उठाए तर, प्रहरीले हत्यारा पत्ता लगाउन सकेन । हत्या भएको ८ वर्ष बितिसक्दा पनि प्रहरीले हत्या कसले ग¥यो ? पत्ता लगाउन सकेको छैन । बोलिदिने मान्छे नहुँदा अहिले उक्त घटना सेलाइसकेको छ । इटहरी प्रहरीले पत्ता लगाउन नसकेको अर्को घटना हो, २०७४ असार १३ मा इटहरी–४ स्थित अग्र्यानिक रेष्टुरेन्टमा भएको घटना । रेष्टुरेन्टको पोखरीमा २९ वर्षीया रञ्जु ठकुरीको शव भेटिएको थियो । उक्त घटना हत्या भएको भन्दै नेपाली सेनाका पूर्वजर्नेल कुमार फुदोङमाथि आक्रमण समेत भएको थियो । यो घटना पनि अहिलेसम्म इटहरी प्रहरीले पत्ता लगाउन सकेको छैन ।

यस्ता ठूला आपराधिक घटनामा संलग्न व्यक्ति पत्ता लगाउन नसक्नुमा कि त प्रहरी कतैबाट प्रभावित भएर लुकाएको हुनुपर्छ, नत्र प्रहरीको अनुसन्धान क्षमता नै कमजोर हुनुपर्छ । समाजका यस्ता ठूला अपराधका घटनामा दोषी उम्किरहनुले आम नागरिकमा शान्ति सुरक्षाको महसुस गराउन सक्दैन । यस्ता विषयमा प्रहरीभित्र मात्र होइन, समाजमा पनि बहस हुनु जरूरी छ । प्रहरी प्रशासनले पनि आफ्नो क्षमतामा ह्रास किन आयो ? वा के कारणले अनुसन्धान पूरा हुन सकेन ? भन्ने विषयमा अध्ययन गर्नु जरूरी छ । ठूला अपराधका घटनाको अनुसन्धानमा नेपाल प्रहरीको प्रदेश र केन्द्रीय कार्यालयले पनि चासो देखाउनु आवश्यक छ । हत्याजस्तो जघन्य अपराधको अनुसन्धान पूरा गर्न नसक्दा प्रहरीको व्यावसायिकतामाथि पनि प्रश्नचिन्ह खडा भइरहेको छ । कतिपय अपराधका घटनामा वर्षौंपछि पनि अपराधी पत्ता लागेका उदाहरण छन् । त्यसैले इटहरीका यस्ता ठूला घटनाका अनुसन्धानको फायल बन्द गर्ने होइन, खोलेर अनुसन्धान जारी राख्नु आवश्यक छ ।