इटहरीस्थित यातायात व्यवस्था कार्यालयलाई बिचौलियामुक्त बनाइएको भनी गरिएको उद्घोषले सेवाग्राहीलाई केही राहत मिलेको छ । नयाँ स्थानमा सरेपछि गरिएको यो निर्णय स्वागतयोग्य छ । लाइसेन्स नवीकरणदेखि स–साना फारम भर्नका लागि बिचौलियाले दुःख दिँदै आएका थिए । सामान्य काम गरेको पनि पाँच सय रुपैयाँदेखि माथि लिने गरेका थिए । बिचौलिया विना कुनै पनि काम गर्न नसक्ने अवस्था थियो । हरेक काम गर्दा बिचौलिया नै लगाउनुपर्ने बाध्यता थियो । जसले गर्दा सेवाग्राही आजित थिए । यतिसम्म कि बिचौलियाविना काम गर्दा कयौँ दिन लाग्ने अवस्था थियो भने बिचौलिया लगाए तत्क्षणमै काम हुने अवस्था थियो । कतिपय शाखाहरुमा त बिचौलियाहरुले नै ढड्डा पल्टाउने, नाम खोजी गर्ने र फेरबदल गर्नेसम्मका कृत्यहरु समेत गर्दै आएका थिए । यो कृत्यको अन्त्य भएको खबर सुन्न पाउनु सेवाग्राहीका लागि एकदमै सुन्दर खबर हो ।

नेपालका यातायात कार्यालयहरू अधिक भ्रष्ट रहेको भनी समाचारहरु बाहिरिँदै आएका थिए । कतिपय यातायात कार्यालयहरुको प्रमुख तथा शाखा अधिकृतहरुका विरूद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै उजुरी पर्दै आएका थिए । कतिपय कारबाहीमा परेका उदाहरण पनि छन् । स्टिङ अप्रेसनका क्रममा पक्राउ परेको घटना पनि सार्वजनिक भएकै हो । यसले गर्दा पनि यातायात कार्यालयमा देखिँदै आएका भ्रष्टाचारहरू यस्तै बिचौलियाका कारणले हुने गरेका थिए । बिचौलियाले सम्पर्क सूत्रको रूपमा काम गर्दै आएका थिए । जसले गर्दा यातायात व्यवस्था कार्यालय भ्रष्टाचार र बिचौलियाको अखडाको रूपमा सेवाग्राहीले बुझ्दै आएका थिए । तर, अहिले उक्त कुरालाई निषेध गरिएको खबरले अब यातायात व्यवस्था कार्यालयको नयाँ मानक खडा हुने विश्वास गर्न सकिन्छ । बिचौलिया प्रतिबन्धले सधैँभरि निरन्तरता पाउला त ? भन्ने प्रश्न चाहिँ अहम् बनेको छ । यसका लागि यातायात कार्यालयका प्रमुखको भूमिका सबैभन्दा अहम् हुन्छ । जिम्मेवारी र दायित्वका हिसाबले पनि उनको भूमिका प्रमुख हुन्छ । अहिले आएका प्रमुखले यातायात कार्यालयलाई पारदर्शी र जवाफदेही बनाउने प्रयास गरेका छन् । उनको कार्यलाई सलाम गर्नुपर्छ । सेवाग्राहीलाई प्रमुखताका साथ काम गर्ने उनको लक्ष्यले निरन्तरता पाओस् ।

यातायात व्यवस्था कार्यालयहरुको कार्यप्रति सेवाग्राहीहरु असन्तुष्ट हुँदै आएका थिए । बिचौलियाको बिगबिगीले गर्दा पनि सेवाग्राहीहरुले अनाहकमा दुःख पाउँदै आएका थिए । यसले कार्यालयको गरिमा र ओजलाई निस्तेज पार्दै आएको थियो । त्यसमा हाकिमहरु पनि संलग्न थिएनन् भन्न सकिन्न । कार्यालयलाई कार्यालयजस्तो नबनाई बिचौलियाको कक्षजस्तो बनाएका थिए । यसले पनि कार्यालयको गरिमा घट्दो क्रममा थियो । तर, अब भने सेवाग्राहीमा केही आशा पलाएको छ । यातायात व्यवस्था कार्यालयले आफूलाई जिम्मेवार बनाउनका लागि हाकिमहरुले सत्कर्म गर्नुपर्छ । सत्कर्मको फलले सेवाग्राही सास्ती पाउनबाट बच्छन् भने त्यो प्रयास किन नगर्ने ? अहिले बिचौलियालाई तह लगाउने जुन प्रयास गरिएको छ, उक्त कुरा निर्णायक बनिरहोस् । यसले सेवाग्राहीको कामलाई केही सहज बनाइदिन्छ र जवाफदेही पनि बनाउँछ । यसमा हालका प्रमुखलाई शुभकामना छ ।