लिम्बू याक्थुङ सांस्कृतिक परिवेशमा आधारित रहेर वर्गीय समस्या उद्घाटन गरी निर्माण गरिएको चलचित्र 'कुमाक्ला फाक' को पोस्टप्रोडक्सनको काम अन्त्यतिर आइपुगेको छ ।

५० को दशकदेखि कला क्षेत्रमा लागेका लेखक निर्देशक नवीन मेन्याङ्बोको लेखन, निर्देशनमा चलचित्रको छायाङ्कन सकिएको हो । पोस्ट प्रोडक्सनको काम अन्त्यतिर आइपुगेको छ । 'कुमाक्ला फाक' अर्थात कालो सुँगुरमा केन्द्रित समस्याप्रधान सामाजिक रैथाने कथा समेटिएको चलचित्र अन्तर्राष्ट्रिय 'फिल्म फेस्टिभल' लाई लक्षित गरी  निर्माण गरिएको निर्देशक मेन्याङ्बोले जानकारी दिए ।

लिम्बू याक्थुङ समुदायको निमुखा परिवारमा देखिने सामाजिक यथार्थवादी धारमा निर्माण भएको चलचित्रका मुख्य पात्र घरमूलीको स्वभावजन्य विचलन र त्यसबाट सिर्जित घटना क्रम समेटिएको कथा हो । २५ मिनेटको चलचित्र झिनो कथानकमा आधारित रहेर कला प्रधान र प्रस्तुतिपरक चलचित्र निर्माण हुन पुगेको चलचित्रका लेखक निर्देशक  मेन्याङ्बो बताउँछन् ।

'मैले पहिले पनि 'टिनएजर्स' लगायतका चलचित्रको कथा लेखेको हो । तर यो 'कुमाक्ला फाक' को सन्दर्भमा चाहिँ समाजमा घट्ने, घट्दै गरेका र घट्न सक्ने घटना र परिस्थितिको चित्रण छ,' निर्देशक मेन्याङ्बोले भने, 'यो कथामा काम गरेको एक वर्षभन्दा माथि भयो । कथा लेखिसकेपछि पनि यसलाई तुरुन्त 'सुटिङ' मा कुदाइनँ । आफूलाई जबसम्म चित्त बुझ्दैन । स्कृप्ट जबसम्म 'लक' हुँदैन । जबसम्म यो स्कृप्टले सही रिजल्ट दिन्छ जस्तो लाग्दैन म चलचित्रलाई कुदाउँदिन । त्यसकारणले गर्दाखेरि यो एक वर्षसम्म रहन गयो ।'

एक वर्षसम्म आफैंले मात्र नभएर अरुसँग समेत सल्लाह लिएर चलचित्र अघि बढाएको निर्देशक मेन्याङ्बोले बताए । 'यसमा नवीन सुब्बा, विजय संयोक सुब्बा, कान्तिपुर एकेडेमीमा प्राक्टिस गरिरहेका नयाँ विद्यार्थीहरु र सन्चारकर्मी साथीहरुसँग समेत सल्लाह लिएँ,' उनले भने, 'पहिले चलचित्रको नाम 'फुलन्देको सुँगुर' त्यसपछि 'कालो सुगुर', 'ब्लाक पिग' हुँदै 'कुमाक्ला फाक' राख्नुपर्छ भनेर सुझाव पाएँ, त्यहीअनुसार गरेको छु । '

यस्तो छ 'कुमाक्ला फाक' को कथा

कथाको सन्दर्भमा निर्देशक लिम्बू भन्छन्- यो लिम्बू गाउँको कथा हो । जहाँ हुने खाने र हुँदा खाने वर्गहरु हुने गर्दछ्न् । यो कथा चाहिँ हुँदा खानेको कथा हो ।

हुँदा खाने एउटा परिवारमा एउटा सुँगुरको कस्तो भूमिका हुन्छ भन्ने कुरा चलचित्रले कलात्मक तरिकाले देखाउने प्रयास गरेको छ ।

हाम्रो लिम्बू समुदायमा एउटा खुत्रुकेको काम अथवा एउटा बैंकको काम एउटा सुँगुरले गर्दो रहेछ । एक वर्षसम्म खुत्रुकेमा पैसा हाल्यो- हाल्यो । वर्ष दिन पुगेपछि  त्यसलाई फुटाएर एउटा पुँजीको निर्माण गरिन्छ ।  घरको एउटा ठूलो गर्जो टार्ने त्यो विपन्न परिवारमा परम्परा रहन्छ ।  त्यही परम्परालाई निरन्तरता दिन वा भनौं एउटा सुँगुरले हुँदा खाने लिम्बूहरुको जनजीवनमा कस्तो प्रकारको भूमिका निर्वाह गर्दो रहेछ भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ ।

चलचित्रमा झिनो कथानकमा आधारित सांस्कृतिक परिवेशको उद्घाटन गर्दै मौलिक र रैथाने कथा दिन खोजिएको छ । कथा हेर्दा सरल छ, तर यसको प्रस्तुतीकरण गहन रुपबाट गर्ने प्रयास गरेका छौं ।

लोकेशनको सन्दर्भमा हामीले चलचित्रको फ्रेममा पहाडी दुर्गम ठाउँ देखाउन खोजेका छौं । धरानबाट त्यति धेरै टाढा गएका छैनौं । कहाँ खिच्यौ भन्दा पनि फ्रेमभित्र के खिच्यौ ? त्योभित्रको कुरा महत्त्वपूर्ण हुन्छ । हामीले फिल्ममा दुर्गम ठाउँ, लिम्बू बस्ती चित्रण गरेका छौं । सांस्कृतिक पाटोबाट हेर्दा लिम्बू याक्थुङको संस्कृति के रहेछ त भन्ने विषय पनि समेटेका छौं ।

निर्देशक मेन्याङ्बोको 'कमब्याक'

५० को दशकदेखि कला क्षेत्रमा उपस्थिति जनाएका निर्देशक मेन्याङ्बो केही समय व्यापार व्यवसायमा रहें । अहिले केही वर्षदेखि कलाक्षेत्रलाई पुनः निरन्तरता दिएको बताउँछन् ।

चलचित्र 'कुमाक्ला फाक' देखि उनको पुनरागमन नभए पनि यो चलचित्रमार्फत सशक्त उपस्थिति रहने विश्वास लिइएको छ । यसअघि उनले 'द रेड मुन' नामक चलचित्र निर्माण गरेका थिए । चलचित्र माओवादी द्वन्द्व कालको कथामा आधारित थियो । जसलाई लिएर चार वटा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनी र अवार्डमा उनको उपस्थिति रह्यो । 'एउटामा पुरस्कृतसमेत भयौं र अन्यमा सहभागी भयौं । भर्खरै हाम्रो बर्लिनसम्मको यात्रा थियो । बर्लिनमा आयोजित फिल्म फेस्टिभलमा सेलेक्सनसमेत भएको थियो । मुख्य आयोजक नै बिरामी परेका कारण त्यो पोस्टपोन भयो ।'  निर्देशक मेन्याङ्बोले भने ।

'रेडमुन' बाट 'कम्ब्याक' भएपछि उनले अन्य केही चलचित्रमा समेत काम गरे । मेन्याङ्बो भन्छन्, 'अहिले चाहिँ फेरि आफ्नै कथा र निर्देशनमा 'कुमाक्ला फाक' निर्माण गरेको छु ।

चलचित्र 'कुमाक्ला फाक' मेन्याङ्बोको स्टोरी, स्क्रिनप्ले, डाइलग र डिरेक्सनमा नवीन पराजुली र सुरेश लाबुङले निर्माण गरेका हुन् । उदय सुब्बा मुख्य पात्रका रुपमा चलचित्रमा रहेका छन् भने नुमा लिम्बू, प्रेम सुब्बा, प्रकाश लिम्बू, सानुराजा थेगिमलगायतका कलाकारको अभिनय रहेको छ ।

बालकलाकारमा अङ्कित लिम्बू र मनिस पराजुलीलाई देखाइएको छ । मोहन पराजुलीको छायाङ्कन रहेको चलचित्रको सम्पादन नरोत्तम पाण्डेले गरिरहेका छन् ।