धरान । सांस्कृतिक सम्पदा र पर्यटन सौन्दर्यीकरणको क्षेत्रमा सक्रिय वरिष्ठ मूर्तिकार विक्रमश्रिले आफ्नो सिर्जनात्मक जीवन ओझेलमा पारेर आर्थिक सङ्कट भोग्दै आएको गुनासो गरेका छन् ।  

विगत ५ वर्षदेिख एनआइसी एशिया बैङ्कले व्यावसायिक फर्म पनि ‘ब्ल्याकलिस्ट’ गराएको र अर्को बैङ्कमा जान नदिएको तथा थप ऋण पनि नदिएर तिनुपर्नेभन्दा बढी तिर्न लगाएपछि आफू सङ्कटमा परेको उनको गुनासो छ । परम्परागत र मौलिक नेपालीशैलीको प्रयोग गरी सम्पदा संरक्षणको क्षेत्रमा पर्यटकीय योजना निर्माण गर्दै आएका उनको  कम्पनी यतिबेला बन्द छ । यही कम्पनीबाट सरकारले घोषणा गरेको पर्यटकीय गन्तव्यहरूको सौन्दर्यीकरणका लागि डिपिआर तयार गरिएको थियो । 

विक्रमश्रिले बैङ्कको इटहरी शाखाबाट इटहरी–४ स्थित कि.नं. २९८३ र २९८४ को एक कठ्ठा जमिन र घरसमेत धितो राखी घर निर्माण कर्जासहित ७५ लाख व्यावसायिक ऋण लिएका थिए । २०७४ सालमा लिएको ७५ लाख ऋणको ७२ हजारका दरले किस्ता तिर्दै आएका थिए । 

उनले मूर्तिकला कार्यशालाको आम्दानीलाई इटहरी मेट्रिक्स सांस्कृतिक केन्द्रमा लगाउँथे । इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत् सरकारी निकायहरूसँग प्र्रतिस्पर्धाबाट योजनाहरू लिने गर्दथे । 

तर जीवनले आकस्मिक मोड लियो । श्रीमती मारिया भिक्टोरिया पनि क्यान्सर पीडित भइन् । नेपालमा उपचारका निमित्त प्रयत्न गरेर पनि अन्यत्र रिफर गरिएपछि उनलाई फिलिपिन्स लगियो । 

सोही बेला केही महिना किस्ता बुझाउन ढिला भयो । त्यसपछि बैङ्कको व्यवहार एकाएक बदलियो, फोनबाट धम्की दिनुका साथै सार्वजनिक स्थानमा फोटो खिच्ने र बाउन्सरजस्ता मान्छे पठाएर धम्क्याउने, परिवारका सदस्यहरूलाई डरत्रास देखाउने, छिमेकीहरूमा गलत भ्रम फैलाउनेजस्ता काम निकै समयसम्म भएको उनी बताउँछन् । आर्थिक वर्षको अन्तिम समय थियो, सकिएको प्रोजेक्टको अन्तिम प्रेजेन्टेसन गरेर बैङ्कमा रकम जम्मा गर्न जाँदा ३ महिनाअघि नै आफ्नो कम्पनी ब्ल्याक लिस्टमा राखिएको थाहा भयो । 

विक्रमश्रिको टिमले चाँगुनारायण, गोकर्णेश्वर नगरपालिका, ललितकला प्रज्ञा प्रतिष्ठान, विराटनगर महानगरपालिका र केराबारीसँग करिब ३८ लाखको कामको जिम्मेवारी लिएका थिए । “शान्ति निकेतन कम्पनीमा कारोबार नहुने भएपछि सबै रकम फिर्ता गर्नुपर्ने भयो । १८ लाख रकम त्यो आर्थिक वर्षमा डुब्यो । कम्पनी बन्द भयो । आम्दानी हरायो, किस्ता बढ्दै गयो” उनी भन्छन्, “एनआइसी बैङ्कले ऋण तिर्ने वातावरण होइन, ऋणमा डुबाएर लुट्ने योजना बनायो ।”   

उनका अनुसार त्यसपछि बैङ्कको मुख्यालय गएर गुनासो दर्ता गराई दुई पक्षबीच छलफल भएको थियो । यो पर्खिएमा केही महिनापछि ऋण थप दिने, पर्खन नसके अर्को बैङ्क जान अनुमति दिने भन्ने सहमति भएको थियो । तर आफुले अन्य बैकसँग पनि जान पाइएन । श्रीमतीको नामबाट १२ लाख रुपैयाँ ऋण पाए तापनि उक्त रकमसमेत ब्याजमा नै काटिदिएपछि थप आम्दानीको स्रोत बनाउन नपाएको उनको भनाइ छ ।  

बैङ्कले ४ वर्षसम्म पनि कुनै बैङ्कमा जाने वातावरण बन्न दिएन । उल्टै एकै दिनको मिति राखेर २५ दिन र ३५ दिने लिलामको पत्र थमाइदिएको उनले गुनासो गरे । । 

“ब्ल्याक लिस्टमा राखेपछि बैङ्कको कुनै शाखाबाट कम्पनीको कारोबार नहुने हुँदा लाइनमा पनि नबसी सिधै ऋण फाँटमा बुझाउने गरेको थियो, खराब कर्जा बनाउन ड्यु राख्दै खातामा राख्ने गरेका रहेछन्”–उनले भने ।  

२०२४ अक्टोबरमा भारतको दिल्लीमा हुने न्द्दण् को साउथ एसियन पिस इनिसिएटिभ कार्यक्रममा भाग लिन जाने भएपछि बाधा पु¥याउने गरी बैङ्कले अक्टोबर ३ मा घरको मूल ढोकामा हतियारसहितको गार्ड राख्यो र भेला भएका छरछिमेकीलाई ‘२–३ दिने नजरबन्दमा रहनुहुन्छ, त्यसपछि जिल्ला चलान गर्ने हो । यो सम्पत्ति बैङ्कको भएकोले सुरक्षाका निमित्त गार्ड राखेको’ भनियो । सो समयमा बाँकी किस्ता ६५ दिनको मात्र थियो । 

उनले फेसबुकमा लेखे– “मेरो घरमा राखिएको गार्ड प्रहरी होइन, एनआइसी बैङ्कले राखेको गार्ड हो, मैले ६५ दिनको किस्ता हाल्न बाँकी छ ।” उद्योग वाणिज्य सङ्घ, च्याम्बर अफ कमर्स, विप्लव अभियान, नागरिक बचाउ र नागरिक समाजलगायत सर्जकहरूले आपत्ति जनाएपछि गार्ड हटाइएको थियो ।

न्यायको सबै ढोका बन्द 

विक्रमश्रिले २०८१ साल माघ १८ गते गभर्नरलाई भेटी नेपाल राष्ट्र बैङ्कदेखि अख्तियार, अर्थ समितिलगायत ११ वटा सरकारी निकायमा उजुरी दिएका छन् । ‘बैङ्कले गरेको अन्यायको छानबिन गरियोस्, मैले तिरेको रकमको लेखाजोखा होस्’ भन्ने उनको माग रहेको छ । तर एक वर्ष बित्दा पनि केही जवाफ आएको छैन । बैङ्कले अझै ७५ लाख ऋणमा १ करोड ३५ लाख बढी बुझाइसकिएको भए पनि अझै १ करोड २३ लाख तिर्न बैङ्कले ताकेता गरिरहेको छ । 

“हामीजस्ता सिर्जनशील ऋणीहरूको आवाज सुनिदैन” उनी भन्छन्, “तर, म यो कथा–व्यथा सार्वजनिक गरिरहेको छु ता कि कोही एनआइसी बैङ्कको “साथी” नारामा फस्न नपरोस् ।”

“मेरो घर र सम्पदा राज्यले संरक्षण गरोस् । यो घर मात्र होइन, यो राष्ट्रिय सम्पदा हो । बैङ्कलाई दिन्न राज्यलाई दिन्छु । राज्यले न्याय देओस्” –उनले भने । इटहरीमा विक्रमश्रिले बनाएको घर कुनै साधारण घर होइन, यसको शैली एउटा  सङ्ग्रहालयको जस्तो छ ।  त्यससँगै उनी संस्थापक संरक्षक रहेको सांस्कृतिक केन्द्र इटहरी मेट्रिक्स रहेको छ । जो प्रदेशका कलाकारहरूकोे मूलघर नै हो ।  

तर अहिले यही सम्पत्ति बैङ्कले लिलामीमा राख्ने तयारी गरिरहेको छ । विक्रमश्रिको आग्रह छ–“यदि यो घर म बचाउन सक्दिनँ भने स्थानीय तह वा कोशी प्रदेश सरकारले सार्वजनिक सङ्ग्रहालय ग्यालरी आदि बनाओस् । यो सांस्कृतिक सम्पदा हो, जसले प्रदेश र देश सिँगारिरहेको छ ।” कलाकार विक्रमश्रिको कथा कुनै एक व्यक्तिको आर्थिक सङ्कटमात्र होइन, त्यो बैङ्ककिङ प्रणालीको संवेदनशीलतामाथिको प्रश्न हो । जसले “साथी” बन्ने वाचा गर्छ तर व्यवहारमा ऋणीलाई अपराधी बनाउँछ । उनको पीडाले एउटा प्रश्न उठाउँछ– ‘हाम्रो देशमा ऋण लिने अधिकार छ तर सम्मानपूर्वक तिर्ने अवसर किन छैन ?’

यस विषयमा बैङ्कका ऋण व्यवस्थापक अर्जुन खनियाले २ सय ६० दिनदेखि विक्रमश्रिको ओभर ड्युज रहेको जनाउँदै सामान्यतया सम्झौताअनुसार किस्ता नआएपछि बैङ्कले ताकेता गरेको हुनसक्ने बताए । “नियमित किस्ता तिर्ने ऋणीलाई हामी फूलमालाले स्वागत गर्छौैं, दुःख दिँदैनौं” ऋण व्यवस्थापक प्रमुख खनियाँले भने, “खराब कर्जा भएपछि अन्य बैङ्कहरूले पनि ऋण नदिने भएकाले उहाँले अन्य बैङ्कसँग जान नपाउनुभएको हो ।”

यता बैङ्कका इटहरी शाखा व्यवस्थापक रमेश खड्काले भने, “उहाँले लामो समयदेखि किस्ता हाल्नुभएको छैन तर मिलाउँछु भन्नुभएकाले अहिले बैङ्कले कुनै ताकेता गरेको छैन ।” “बैङ्कले कुनै कर्मचारी पठाउने, फोन गर्ने काम गरेको छैन । तर किस्ता नबुझाएको धेरै भयो” –शाखा व्यवस्थापक खड्काले भने । बैङ्कले घरमा गार्ड राखेको कुरा ३ वर्षअगाडिको र यो इस्यु त्यहीबेला मिलाएको उनको भनाइ छ ।