धरान । राजनीतिक दलका नेताहरूले धरान उपमहानगरपालिका–२० मा एउटा ‘यक्’ बनाउने दिमागमा रेखा कोरे । उक्त यक्लाई उनीहरूले नै नाम दिए–‘मुन्धुम यक्’ । खासमा मुन्धुम यकको अर्थ लिम्बू भाषामा ‘इतिहास जन्मिने ठाउँ’ भन्ने लाग्दछ । 

मुन्धुम यक्का लागि राजनीतिक पहलमा बजेट पनि छुट्टियो । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा तीन लाख रुपैयाँ बजेट विनियोजन पनि ग¥यो । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको पहलमा छुट्टिएको बजेटलाई मूर्तता दिन संस्थाको खोजी सुरु भयो । “काम गर्नका लागि आधिकारिक संस्था चाहिने रहेछ, त्यसो भएपछि राजनीतिक पार्टीका साथीहरूले मलाई बगरकोटमा एक दिन भेट्नुभयो” किरात याक्थुङ चुम्लुङका निवर्तमान अध्यक्ष मोहन हुक्पा चोङ्बाङले भने, “मुक्सामजी, ताजुबजी, हर्कजङजीलगायत साथीहरू आउनुभयो । तपाईंको संस्थामार्फत् काम गरिदिनुप¥यो भन्नुभयो ।”

तत्कालीन समयमा कियाचुका उनी जिल्ला अध्यक्ष नै थिए । बजेट छुट्टिएको र कामका लागि उनले पहल थाले । उनी आफू कुनै पनि काममा हात हालेपश्चात् सम्पन्न गर्न लागीपर्ने भएका कारणले पनि विश्वास गरिएको थियो । नभन्दै उनको पहलमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले गत असार १२ गते मुन्धुम यकका लागि पदमार्गको उद्घाटन पनि गरे । उक्त पदमार्गको नाम ‘मुन्धुम पदमार्ग’ राखिएको याक्थुङ मुन्धुम यक् पदमार्ग निर्माण समितिका संयोजकसमेत रहेका निवर्तमान अध्यक्ष चोङ्बाङले बताए ।

“साथीहरूले जिम्मेवारी दिइसकेपछि उद्घाटन पनि गरियो । माथि यकमा सिलाम साक्मा पनि राख्ने काम गरिसकिएको छ” उनले सञ्चारकर्मीहरूलाई भने, “सिलाम साक्मा राख्दा बकाइदा फेदाङ्मा लिएर गएका थियौँ । फेदाङ्माकै सहयोगमा राखिएको छ ।” उक्त डाँडा ऐतिहासिक डाँडा शूलीकोटभन्दा केही माथि पर्छ । शूलीकोटबाट झण्डै डेढ घण्टापश्चात् उक्त डाँडामा पुग्न सकिन्छ । जहाँ हाल सिलाम साक्मा राखिएको छ । मुन्धुममा सिलाम साक्माको पनि आफ्नै महŒव रहेको छ । जसले मृत्युलाई छेक्छ भनी विश्वास गरिन्छ । उक्त डाँडा समुद्र सतहबाट झण्डै १५ सय मिटरभन्दा अग्लो रहेको छ ।

हालसम्म उक्त मुन्धुम पदमार्गसहित मुन्धुम यक्का लागि धरान उपमहानगरपालिका र विभिन्न देशबाट दाताहरूको सहयोगमा २१ लाख रुपैयाँ खर्च भएको छ । धरान उपमहानगरपालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको भने पनि दुई लाख ४७ हजार रुपैयाँ मात्रै दिने भनिएको छ । “दुई लाख ४७ हजार रुपैयाँको काम सकिसक्यो । त्यो बजेट अहिलेसम्म पाएको छैन । मेरो आफ्नै खर्चबाट गरेको छु । मैले अझै विभिन्न देशमा बस्दै आएका साथीभाइहरूलाई आग्रह गरेर थप १७ लाख जुटाएँ र त्यसको काम पनि गरिसकेँ”–उनले भने । 

उनका अनुसार हङ्कङ, बेलायत, क्यानडा, कोरिया बस्ने साथीहरूबाट पदमार्गका लागि भनेर १७ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । हाल उक्त पदमार्गको छेउछाउ ६ सयवटा गुराँस र ५६ वटा सल्लाको बिरुवा पनि रोपिसकेको उनले बताए । उक्त डाँडा वरिपरि गुराँस राताम्मे भएर फुल्ने गरेको छ । यसले पनि पदमार्गीहरूलाई आनन्द दिने उनको विश्वास छ । अग्रज पत्रकार हर्ष सुब्बा भन्छन्, “डाँडा त मुन्धुमी यक् भइहाल्यो । त्यो चाहिँ लिम्बूहरूको मुन्धुममा आउने ऐतिहासिक स्थल हो । धरानको हाइएस्ट अग्लो डाँडा पनि रहेछ ।”

उक्त यक्बाट ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा क्षेत्र), पाँचथर, सङ्खुवासभा, भोजपुरलगायत हिमालहरू पनि देख्न सकिने संयोजक चोङ्बाङले बताए । “तराईको त कुरै नगरौँ, त्यो यकबाट सबै कुरा देखिन्छ । पदयात्रीहरूलाई आनन्दै हुन्छ” –उनले भने । उक्त यक्का लागि यो वर्ष धरान उपमहानगरपालिकाले ६ लाख रुपैयाँ बजेट छुट्याएको छ । हाल सहयोग गर्ने दाताहरूको नामावली राख्न शिलालेख र प्रवेशद्वार निर्माणको कामको तयारी भइरहेको छ । धरान–२० मा भ्रमण गर्न चाहने पर्यटकहरूका लागि प्राकृतिक सौन्दर्यपान गर्न शूलीकोट र मुन्धुम यक्ले भूमिका खेल्ने देखिन्छ ।