भद्रपुर । झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र एउटा कार लगेर चालकले आगजनी गरेका छन् ।
बिहीबार बिहान १० बजेतिर चन्द्रगढी–चारआली सडकअन्तर्गत गोरखकाली सिमेन्ट उद्योगदेखि पश्चिमपट्टि जङ्गलभित्र लगेर कारमाथि आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगजनीबाट कार जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
सडकदेखि करिब २ सय मिटर पश्चिमपट्टि जङ्गलभित्र कार लगेर आगो लगाई चालक भागेको हातेमालो सामुदायिक वनका अध्यक्ष चन्द्र सिग्देलले बताए । उनले कारलाई जङ्गलभित्र लाँदै गरेको स्थानीयले देखेको जानकारी दिए ।
सो कार झापा शिवसताक्षी नगरपालिका–१० माईधारका सरोज शर्माको भएको खुलेको छ । बाग्मती प्रदेश ०१–०३ च ७१९४ नं. कारलाई चालकले जङ्गलमा आगो लगाइदिएर भागेको अनुमान गरिएको छ । त्यसबारे अनुसन्धान भइरहेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
 
                     
         
                                        
                                                                                                 
        































