वरिष्ठ मूर्तिकार विक्रमश्रिको कथा एउटा व्यक्तिको मात्र आर्थिक सङ्कट होइन, हाम्रो बैङ्किङ प्रणालीको संवेदनशीलता र मानवीयता कति क्षीण हुँदै गएको प्रमाण हो । सांस्कृतिक सम्पदा संरक्षणदेखि पर्यटकीय सौन्दर्यीकरणसम्म देशलाई सिँगार्ने कार्यमा योगदान दिएका कलाकार आज आफ्नै घर जोगाउन सङ्घर्षरत छन्–त्यो पनि एउटा बैङ्कको व्यवहारका कारण । विक्रमश्रिले दशकौंको सिर्जनशील श्रम र प्रतिष्ठा कमाए, परम्परागत नेपाली मूर्तिशैलीलाई जगेर्ना गरे । तर जब निजी जीवनमा कठिन समय आयो–पत्नीलाई क्यान्सरको उपचारका लागि विदेश लैजानु प¥यो, व्यवसाय स्थगित भयो — त्यसबेला सहयोगको हात बढाउनुको साटो एनआइसी एशिया बैङ्कले धम्की, अपमान र मनोवैज्ञानिक त्रासको बाटो रोज्यो । ६५ दिनको किस्ता ढिलाइ भएकै कारण घरको ढोकामा हतियारधारी गार्ड राख्नु कुनै पनि सभ्य संस्थाको कार्यशैली कदापि हुन सक्दैन ।

नेपालका बैङ्कहरुले अहिले ‘कर्जामा साथी’ र ‘विश्वासको भागीदार’ जस्ता आकर्षक नारा राखेका छन् । तर जब ग्राहक कठिनाइमा पर्छ, ती नारा केवल विज्ञापनको खोक्रो बोलीमा परिणत हुन्छन् । विक्रमश्रिको घटनाले पनि देखाउँछ– बैङ्किङ सेवामा ‘मानवीयता’ भन्दा पनि ‘अर्थ–यन्त्र’ को कठोरता हावी छ । यस प्रकरणमा दुवै पक्षका आ–आफ्नै तर्क छन्–बैङ्कका अनुसार ऋणको किस्ता लामो समयदेखि बुझाइएको छैन, कानूनअनुसार ताकेता गरिएको हो । तर प्रश्न भने यथावत् छ– ऋणीलाई अपराधी ठान्ने मानसिकता कति न्यायपूर्ण हो ? ऋण तिर्ने वातावरण बनाउन सघाउनुको साटो, किन ऋणीलाई सामाजिक रुपमै बेइज्जत बनाउने ? विक्रमश्रिको मुद्दा कुनै ‘खराब ऋणी’ को कथा होइन, ‘सर्जक ऋणी’ को पीडा हो । आर्थिक सङ्कटमा परेका ऋणीहरुलाई ऋण तिर्ने वातावरण सहज बनाउन बैङ्कहरुले नयाँ नीति ल्याउनु पर्दछ । किन कि सबै ऋण खराब हुँदैनन् । यद्यपि जुन उद्देश्यले ऋण लिएको छ, त्यो उद्देश्य पूरा गर्न र आफ्नो व्यवसाय उन्नतिका लागि जिम्मेवार भने बन्नै पर्दछ । 

बैङ्कले ब्ल्याकलिस्टमा राख्ने अधिकार पाउँछ, तर त्यो अधिकारसँगै दायित्व पनि हुनु जरूरी छ । ऋणीलाई उचित परामर्श, किस्ता पुनसंरचना र जीवनका आपतकालीन अवस्थामा व्यावहारिक राहत दिनु बाञ्छनीय हुनेछ ।  विकसित देशहरुमा यो सामान्य अभ्यास हो । तर यहाँ त ऋणीलाई दण्डित गर्ने प्रणालीले कुनै कामका लागि ऋण लिएर यदि त्यो काम असफल भयो भने बैङ्ककै कारण मासिक तनावमा जीवन बिताउनु पर्ने वातावरण तयार गरिनु किमार्थ उचित होइन । मानिसहरुलाई ऋणप्रति डराउने वातावरण बैङ्कहरुले सिर्जना गर्नु हुँदैन । समस्यामा परेका ऋणीहरुलाई ऋण तिर्ने वातावरण सहज बनाउने कार्यक्रम बैङ्कहरुले ल्याउनु उपयुक्त हुनेछ । अतः अब के आवश्यक छ भने मानवीय दृष्टिकोणसहितको बैङ्किङ नीति, जसले ऋण तिर्ने वातावरण बन्नु पर्दछ । अस्थायी सङ्कटलाई जीवन विनाशमा बदल्न नदिन विशेष वित्तीय संरक्षण संयन्त्र बनाउनु पर्दछ । एनआइसी एशिया बैङ्कलाई आफ्ना ऋणीहरुले साँच्चीकै ‘बैङ्क पनि साथी पनि’ मान्न सकुन् । एउटा राम्रो संरचना भएको प्रतिष्ठित व्यक्तिलाई डुबाएर घरजग्गा ‘कब्जा’ गर्ने होइन, ऋण तिर्न सहज वातावरण बनाएर उसको पेसा व्यवसाय उन्नयनका लागि सोचौं । बैङ्किङ कारोबारबाट धेरै ‘विक्रमश्रिहरु’ समस्यामा परेका उदाहरण छन् । त्यसैले बैङ्कहरुले कर्जा असुलीको नयाँ नीति र योजना पो ल्याउने हो कि १