कुनै बेला लोकोक्ति झै लाग्ने हरियो वन, नेपालको धन अहिले एकादेशको कथाजस्तो छ । कुनै समय हरेकको मुखमुखमा झुण्डिने यो नारा अहिले हराउँदै गएको छ । विभिन्न कारणले हाम्रा वनहरू विस्तारै विस्तारै सखाप हुँदै छन् । वनलाई जोगाउने दायित्व सबैको हो। वन हाम्रो प्राण हो । हाम्रो मुटु हो । तर, यसलाई बेवास्ता गरिँदा धेरै कुराको क्षति भोग्दै जाने निश्चितप्रायः छ । पछिल्लो 'समय बढेको बाढीपहिरो, अल्पवृष्टि, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि सबै मानिसका कारणले सृजित समस्याहरू हुन् । यो हुनुमा कुनै न कुनै रूपमा वनसँग प्रत्यक्ष परोक्ष सम्बन्ध राख्दछ ।

प्राणवायुको रूपमा रहेको वनको संरक्षणमा हाम्रो ध्यान गएको पाइँदैन । पछिल्लो समय चारकोसे झाडी चारकोसे रहेन । चारकोसेको अर्थ चार कोससम्म फैलिएको भन्ने सन्दर्भमा आएको हो। तर, अहिले विद्यमान अवस्था त्यस्तो छैन । भित्रभित्रै खण्डहर बनिसकेको छ । चोरीतस्करी बढ्दो छ । नियन्त्रणतर्फ पहल छैन । कुनै न कुनै पक्षसँगको साँठगाँठमै यस्ता वनहरू मासिंदो छ । राणाकालदेखि पूर्व कुनै न कुनै नाममा नेपालका वनलाई उजाड बनाउन सरकार पक्ष तथा शासक नै उद्यत छ । नागरिक त नागरिक नै भइगए। जसले रुखको महत्त्वलाई बुझ्न सकेनन् ।

आजकाल कोसी राजमार्गमा पर्ने चारकोसे झाडीअन्तर्गत रामधुनी नगरपालिकाको कुमारखत सामुदायिक वनभन्दा उत्तरतर्फ पर्ने राष्ट्रिय वनको संखुवा प्रजातिको रुख कटान गरी चोरीतस्करी 'भएको पाइएको छ । शुभचिन्तक तथा रुखलाई माया गर्नेहरूले वनकै पदाधिकारीहरूको मिलेमतोमा यस्तो कुकर्म भइरहेको दाबी गर्दै आइरहेका छन् । स्थान र अवस्था हेर्दा त्यो नहोला भन्न पनि सकिन्न । तर, आरोपलाई पुष्टि गर्ने आधार तयार हुनका लागि त्यसमा संलग्न अपराधीहरू पक्राउ पर्नुपर्छ ।

रुखहरू जुन हिसाबमा काटिएका छन्, कुनै सङ्गठित गिरोहले नै गरेको छ भनेर भन्न चाहिँ सकिन्छ । यहीबीचमा केही गोलिया काठ, सवारी साधन र मानिस पक्राउ भएको पनि छ । सबै कुकर्म गरेको आधार तयार होला नहोला, त्यो अनुसन्धानको विषय हो । अनुसन्धानमा संलग्न अधिकारीहरूले अनुसन्धान गर्दा विषयलाई कत्ति पर्गेल्न सक्छन् भन्ने विषय पनि छ । कहिलेकाहीँ सङ्गठित गिरोहमा ठूला मान्छेहरूको हात हुँदा अनुसन्धान त्यसै सकिएको उदाहरणहरू पनि छन् । यसकारण शङ्का गर्ने ठाउँहरू जीवित छन् । तर, अनुसन्धानले केही निचोड ल्याउँला भन्ने कुरामा विश्वास गर्न सकिन्छ । रुखलाई हामीले जति हल्कारूपमा लियौं त्यो नै ठूलो भूल हो। रुख प्राणीजगत्‌को जीवनको आधार हो ।

यसका फाइदैफाइदा मात्रै छन् भन्ने विषयमा पनि हामीले नागरिकलाई बुझाउन सकेनौं। आजको बदलिँदो विश्व अर्थात् ग्लोबल वार्मिङलाई पनि न्यूनीकरण गर्नमा रुख, बोटबिरुवा, वनस्पतिले अहम् भूमिका खेलिरहेको छ । विश्वमा उत्पादन भइरहेको कार्बन उत्सर्जनलाई पनि न्यूनीकरण गर्न पनि भूमिका खेल्छ । त्यो ठूला विषय भए । हामै गाउँघरमा इन्धनको रूपमा दाउराको प्रयोग, गाईवस्तुलाई घाँसपात आदि प्रत्यक्ष परोक्ष फाइदाहरू हुन् । रुख, बोटबिरुवाले दिने यो प्रत्यक्ष तथा परोक्ष फाइदालाई नजरअन्दाज गर्न मिल्दैन ।

प्राणवायु प्रदायकको रूपमा रहेको रुखको संरक्षण गर्ने दायित्व राज्यको मात्रै हो । अर्थात् वन कार्यालयहरूको मात्रै हो । त्यहाँका पदाधिकारीको मात्रै हो भन्ने हामीमा भ्रम छ । वन कार्यालयका पदाधिकारीहरूको आँखा छलेर चोरीतस्करी गर्नेतर्फ चाहिँ बढी ध्यान गइरहेको छ । तर, रुख जोगाउने दायित्व आम नागरिकको पनि हो भन्ने मानसिकता चाहिँ विकास गरिनुपर्छ । जबसम्म नागरिकले रुख जोगाउने दायित्व हाम्रो हो भनेर आफूलाई त्यो रूपमा तयार गर्दैन, तबसम्म कुनै न कुनै रूपमा वनजङ्गलमा चोरीतस्करी र विनाश भई नै रहन्छ । यो बुझाउने पहिलो दायित्व राज्यको हो ।

राज्यका अन्य निकायहरूको हो । गाउँका भद्रभलाद्‌मीहरूको हो । तर, कुनै समय राज्यले नै वनलाई सत्यनाश गर्नतिर लाग्यो । अङ्ग्रेजलाई फकाउने नाममा, पैसाको नाममा, विकासको नाममा, चाक्ला वनको नाममा तथा अन्य विभिन्न नाममा वन सखाप गर्ने कार्य राज्य र राज्यका निकायबाटै भयो । यसर्थ पहिलो दोषी राज्य हो अनि मात्रै नागरिकहरू हुन् । राज्य सञ्चालकहरू नै कुनै न कुनै फाइदाका लागि यस्ता गलत हर्कतहरू गरिरहन्छन् भने आम नागरिकले के सिक्ने ? त्यसकारण समस्याको जड राज्य हो । राज्यका निकायहरू हुन् । यो रोक्ने दायित्व पहिलो राज्यको हो अनि नागरिकहरूको हो । यसबाट कोही भाग्न मिल्दैन ।