विजयपुर । धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाको बिजोग देखिएको छ । महाशाखामा शिक्षा क्षेत्रका आवश्यक तथ्याङ्कहरू अद्यावधिक हुनुपर्ने हो तर, आवश्यक तथ्याङ्कहरू केही छैन ।

नेपालको संविधान २०७२ ले आधारभूत र माध्यमिक तहको शिक्षा नियमन, नियन्त्रण, दर्ता, खारेजी, कक्षा थपलगायतका सम्पूर्ण अधिकारहरू स्थानीय तहलाई दिएको छ । सोही अनुरूप उपमहानगरले बेलाबेलामा अनुगमन, नियमन, नियन्त्रण, कक्षा थप गर्नेलगायतका कार्य गर्दै आएको छ । तर, उपमहानगरसँग आधारभूत र माध्यमिक तहका विद्यार्थी कति छन्, नतिजा कस्तो छ ? लगायतका आवश्यक तथ्याङ्कहरू केही पनि छैनन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको डेढ महिना हुँदासम्म धरान उपमहानगरका सामुदायिक विद्यालयका कति विद्यार्थी उत्तीर्ण भए ? संस्थागत विद्यालयका कति विद्यार्थी उत्तीर्ण भए ? विद्यार्थीले कति जिपिएसम्म ल्याए ? कति विद्यार्थी पूरक परीक्षामा सहभागी हुँदैछन् ? लगायतका कुनै पनि तथ्याङ्क उपमहानगरसँग छैन ।

यस वर्षको त के विगत ८ वर्षको पनि तथ्याङ्क उपमहानगरसँग छैन । ब्लाष्टले कक्षा १२ को नतिजा माग्दा शाखामा नआएको बताएको छ । शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले माध्यमिक तह उत्तीर्ण परीक्षा एसईईसँगै कक्षा १२ को नतिजाको पनि माग गरेको बताए । माध्यमिक तह कक्षा १२ सम्म सञ्चालनको अधिकार पाएको ८ वर्ष बित्दा पनि उपमहानगरसँग विश्वसनीय तथ्याङ्क केही छैन । शिक्षा क्षेत्रका जानकार तथा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक बालचन्द्र कट्टेलले स्थानीय तहले विद्यालय तह कक्षा १ देखि १२ सम्मको तथ्याङ्क अद्यावधिक गर्नेदेखि सम्पूर्ण कार्यहरू गर्नुपर्ने बताए । उनले भने, ‘पहिले जिल्ला शिक्षा कार्यालयले गर्ने शिक्षक र कर्मचारीको तलबभत्ता निकासा गर्ने मात्रै स्थानीय तहले गरिरहेका छन् ।’ उनले आफ्नो क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तर कस्तो छ ? उत्पादित जनशक्ति कस्तो छ ? भन्ने विषयमा अध्ययन, अनुसन्धान पनि गर्नुपर्ने बताए । उनले भने, ‘अध्ययन अनुसन्धानको विषयमा कसैको चासो छैन ।’ अध्ययन अनुसन्धान विना बनाइएको नीति तथा कार्यक्रम पनि प्रभावकारी हुँदैन । अध्ययन अनुसन्धानको निष्कर्षका आधारमा नीति तथा कार्यक्रम बनाउनु पर्ने बताउँदै उनले भने, ‘अध्ययन अनुसन्धान गर्ने प्रणालीको विकास नै भएको छैन ।’

तथ्याङ्क सङ्कलन अद्यावधिक नभएको विषयमा धरान उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले यसअघिका महाशाखा प्रमुखले तथ्याङ्क अद्यावधिक नगरेको बताए । उनले भने, ‘यसअघिका महाशाखा प्रमुखले नराखेकाले रेकर्ड छैन, अहिले हामीले तथ्याङ्क अद्यावधिक गर्ने प्रयास गरिरहेका छौँ ।’

विद्यालयले टेर्दैनन् नगरलाई
धरान उपमहानगरमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय नगरपालिकालाई पत्याउँदैनन् ।

धरान उपमहानगरले कक्षा १२ को नतिजाको जिपिए विवरण माग गरेको असोज ५ गते एक महिना पूरा भएको छ । तर, अधिकांश विद्यालयले नगरलाई कक्षा १२ को जिपिए विवरण पठाएका छैनन् । उपमहानगरको शिक्षा महाशाखाले भदौ ५ गते सूचना निकालेर धरानका संस्थागत तथा सामुदायिक विद्यालयको कक्षा १२ को जिपिए विवरण माग गरेको थियो । नियमन र नियन्त्रणको अधिकार पाएको स्थानीय सरकारलाई धरानका विद्यालयले टेरेनन् ।

महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाद्वारा हस्ताक्षरित सूचनामा ‘शिक्षा, युवा तथा खेलकुद महाशाखामा रेकर्डका लागि कक्षा १२ को परीक्षाको जिपिए विवरण उपलब्ध गराइदिनु हुन अनुरोध छ’ भनिएको छ । अझ उपमहानगरको शिक्षा महाशाखाले तीन दिनभित्र उपलब्ध गराउन भनेर सूचना प्रकाशित गरेको छ । तर, पनि विद्यालय एक महिनामा पनि जिपिए विवरण उपलब्ध गराएका छैनन् । महाशाखा प्रमुख खतिवडाले सबै विद्यालयको विवरण नआएको बताए । विद्यालयले नगरलाई नटेरेका हुन् ? भन्ने जिज्ञासामा उनले भने, ‘स्कुलले गम्भीर रूपमा नलिएका हुन् । नगरले पनि विद्यालयलाई गम्भीररूपमा हेरेको छैन ।’

नगरले कडाइका साथ नियमन गर्न नसकेको उनले बताए । उनले भने, ‘शिक्षाको विकासका लागि नगरको लगानी नभएकाले पनि नियन्त्रण गर्न नसकेको हो ।’ उपमहानगरलाई कतिपय विद्यालयले गलत जिपिए विवरण उपलब्ध गराएको पनि पाइएको छ । सम्पूर्ण विद्यालयको विवरण प्राप्त भएपछि  प्रमाणीकरण गर्ने महाशाखाले जनाएको छ ।