धरान (ब्लाष्ट) मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरमा जारी दोस्रो पुरुष खुला फुटबल प्रतियोगिताको कानेपाखेरी फुटबल क्लब उपाधि होडमा प्रवेश गरेको छ । 

नव प्रतिभा युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा कानेपोखरीले कीर्तिपुर फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । प्रतियोगितामा कानेपोखरीका लागि मिक्सन दासले ह्याट्रिक पूरा गरे । यता कीर्तिपुरबाट सामयोग गौतमले सान्तवना गोल गरे । 

क्लबका अध्यक्ष जयराज लिम्बूका अनुसार दोस्रो सेमिफाइनल खेल आज (शुक्रबार) शिवालय फुटबल क्लब र जुरा फुटबल क्लबबीच हुँदै छ । प्रतियोगितामा विजेताले नगद ५० हजार एक सय ११ रुपैयाँ र उपविजेताले ३० हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने जनाएको छ । प्रतियोगिताको फाइनल खेल आइतबार हुने जनाइएको छ ।