• हरिबहादुर कार्की 

प्रस्तावनाः

कुनै पनि संस्था वा सङ्गठनको स्थापना, विकास र विघटन समयको स्वभाविक प्रक्रिया हो । मानिसको जन्म र मृत्यु जस्तैः संस्थाको सुरु र अन्त्य पनि स्वभाविक चक्रभित्र पर्छ । तर ती दुई विन्दुबीचको यात्रामा भएका काम, अनुभव र उपलब्धिहरू नै त्यस संस्थाको वास्तविक मूल्याङ्कनका आधार बन्छन् । पूर्वी नेपालको सुन्दर, शिक्षित र स्वास्थ्यका दृष्टिले प्रगतिशील सहर धरान उपमहानगरपालिका आज पूर्वाधार र नगर व्यवस्थापनको दृष्टिले देशकै नमुना सहरको रूपमा परिचित छ । तर यो स्थिति सहजै आएको होइन ।

२०४५ सालको विनाशकारी भूकम्पले धरान र आसपासका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पु¥यायो । त्यस घटनाले एउटा गहिरो चेतना जगायो—भवनहरूको असुरक्षित निर्माण नै क्षतिका प्रमुख कारणहरूमध्ये एक हो । त्यसबेलादेखि सुरक्षित र भूकम्प प्रतिरोधी भवन निर्माणबारे छलफल त भयो, तर कार्यान्वयन तहमा पुग्ने पर्याप्त प्राविधिक जनशक्ति, दक्ष व्यवसायी र संस्थागत संयन्त्रको अभाव थियो ।

भूकम्प गएको झण्डै १२ वर्षपछि तत्कालीन धरान उपमहानगरपालिकाले भूकम्प प्रतिरोधी भवन निर्माण नीति कार्यान्वयन गर्नका लागि निर्णायक कदम चाल्यो । मिति २०५७ साल असार १० गते भवन तथा योजना मापदण्ड २०५६ लागू गर्दै जग्गाको कित्ताकाट, बाटो र घरनक्सासम्बन्धी नयाँ व्यवस्था ल्याइयो । त्यससँगै नेपाल राष्ट्रिय भवन निर्माण संहिता कार्यान्वयनमा आयो ।

यस निर्णयले निर्माण व्यवसायी र इन्जिनियरहरूलाई कानूनीरूपमा जिम्मेवार बनायो । नक्सा पासका लागि व्यवसायीको हस्ताक्षर अनिवार्य गरिनु नै त्यो समयको महŒवपूर्ण मोड थियो । यसै पृष्ठभूमिमा निर्माण व्यवसायलाई मर्यादित र जिम्मेवारीपूर्ण ढङ्गले अघि बढाउन संस्थागत नेतृत्व आवश्यक ठहरियो । फलस्वरूप, मिति २०६३ साल असोज ३१ गते धरानमा स्थानीय भवन निर्माण व्यवसायी सङ्घ विधिवत्रूपमा दर्ता भई स्थापना भयो । यो संस्था स्थापना भएको आज १९ वर्ष पूरा भएको छ । 

सङ्घका प्रमुख भूमिका र उपलब्धिहरूः 

स्थापनायताका दुई दशकमा सङ्घले धरानको भवन निर्माण क्षेत्रलाई व्यवस्थित, पारदर्र्शी र उत्तरदायी बनाउने दिशा लिएको कुरालाई नकार्न सकिँदैन । धरान उपमहानगरपालिकाका विकास तथा भवनसम्बन्धी क्रियाकलापमा सक्रिय सहकार्य गर्दै सङ्घले इमानदार र जिम्मेवार व्यवसायी तयार पार्ने अभियान सञ्चालन गरेको छ ।

मजदुर र कर्मचारीका लागि दुर्घटना बिमा अनिवार्य बनाउने निर्णय कार्यान्वयन गरेको छ । निर्माणका क्रममा घरधनी, व्यवसायी र प्राविधिकबीच देखिने विवाद वा समस्या सङ्घभित्रै छलफलमार्फत् समाधान गर्ने प्रणाली विकसित गरिएको छ । सङ्घले उपलब्ध निर्माण सामग्रीको गुणस्तरबारे व्यवसायी र आपूर्तिकर्तासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । सङ्घले सन्देश दिएको छ कि –“हामी व्यवसायीहरू गुणस्तर कायम गर्न प्रतिबद्ध छौँ, तर घरधनीले पनि सचेतता अपनाउनुपर्छ, ता कि असुरक्षित भवनमा कोही बस्न नपरोस् ।”

भूकम्प प्रतिरोधी तालिम, स्वरोजगार कार्यक्रम र पुनर्ताजगी तालिमहरू सङ्घको पहलमा नगरपालिकाको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएका छन् । सङ्घले नेपाल रेडक्रसका कार्यक्रम, विपद् व्यवस्थापन, बाढी–पहिरो प्रभावित क्षेत्रका सहयोग कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै आएको छ । यी क्रियाकलापहरूले सङ्घलाई केवल व्यावसायिक सङ्गठन नभई सामाजिक उत्तरदायित्वप्रति सचेत मानवीय संस्थाका रूपमा स्थापित गरेको छ ।

सङ्घको स्वरूप र कार्यशैलीः

सङ्घ कुनै सिन्डिकेट वा नाफामुखी सङ्गठन होइन । यसको नीति जनमुखी सेवा र उत्तरदायी व्यावसायिकता हो । यहाँका सबै निर्माण व्यवसायीहरूलाई समान अवसर प्रदान गरिएको छ, जसमा उपभोक्ताको अपेक्षा अनुसार प्रतिस्पर्धा गर्न सकिन्छ ।

भूकम्प प्रतिरोधी तालिम नलिएका वा नगरपालिकामा सूचीकृत नभएका व्यवसायीलाई सदस्यता नदिने नीतिले सङ्घको प्रतिबद्धता झल्काउँछ । यसरी सङ्घले ‘गुणस्तर, जिम्मेवारी र इमानदारी’ लाई आफ्नो मुख्य आधारका रूपमा अँगालेको छ । धरानमा सुरु भएको यो सङ्घ नेपालकै पहिलो स्थानीय तहस्तरको संस्थागत भवन निर्माण व्यवसायी सङ्घ हो । यसको सकारात्मक प्रभावका कारण झापा, मोरङ, सुनसरीलगायत पूर्वका जिल्लाहरूमा समान प्रकृतिका सङ्घहरू स्थापना हुन थालेका छन् ।

यति मात्र होइन, बागमती र कर्णाली प्रदेशका विभिन्न स्थानीय निकायहरूमा पनि धरानको मोडललाई अनुसरण गर्दै स्थानीय सङ्घहरू सक्रिय बन्दै गएका छन् । यस उपलब्धिलाई सङ्घको दूरगामी र प्रेरणादायी प्रभावका रूपमा लिन सकिन्छ ।

सङ्घ आबद्ध व्यवसायीबाट हुने विकृति र सुधारका उपायहरू

स्थानीय भवन निर्माण व्यवसायी सङ्घले धरानमा निर्माण क्षेत्रलाई व्यवस्थित र उत्तरदायी बनाउन ठोस भूमिका खेलेको छ । तर कुनै पनि संस्थामा जस्तै, सङ्घमा आबद्ध व्यवसायीहरूबाट पनि कहिलेकाहीँ केही विकृतिहरू देखापर्न सक्छन् । ती विकृतिहरू मुख्यतः अनियमित मूल्य निर्धारण, काममा ढिलाइ, गुणस्तरमा लापरबाही, ठेक्का लिने तर समयमा नपु¥याउने, प्राविधिक मापदण्ड उल्लङ्घन गर्ने र नाफामुखी प्रवृत्तिमा केन्द्रित हुनेजस्ता व्यवहार हुन् । यस्ता कार्यहरूले सङ्घको विश्वसनीयता कमजोर पार्छ र उपभोक्ताको विश्वासमा आघात पु¥याउँछ ।

यी विकृतिहरू न्यून गर्न पहिलो आवश्यक कुरा आन्तरिक अनुशासन र आत्मनियन्त्रण हो । सङ्घले आफ्ना सदस्यहरूलाई नियमित अनुगमन गर्न, स्पष्ट आचार–संहिता लागू गर्न र उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्न सक्नुपर्छ । गुणस्तर, समयसीमा र पारदर्शितामा आधारित ‘कार्य मूल्याङ्कन प्रणाली’ स्थापना गरिनुपर्छ, जसले इमानदार व्यवसायीलाई प्रोत्साहन र लापरबाहलाई चेतावनी देओस् । 

त्यस्तै व्यवसायीहरूबीचको अनुचित प्रतिस्पर्धा र सिन्डिकेट प्रवृत्ति नियन्त्रण गर्न सङ्घले निष्पक्षता र समान अवसरको नीति कडाइका साथ पालन गर्नुपर्छ । नियमित तालिम, सचेतना र प्रविधिको अद्यावधिक जानकारी उपलब्ध गराएर व्यवसायीहरूलाई व्यावसायिकरूपमा सशक्त बनाउनु पर्छ ।

सबैभन्दा महŒवपूर्ण कुरा भनेको सङ्घ र उपभोक्ताबीच विश्वास र पारदर्शिता कायम गर्नु हो । जब निर्माण कार्य गुणस्तरयुक्त, समयमै र नीतिगत ढङ्गले सम्पन्न हुन्छ, तब सङ्घको गरिमा बढ्छ र व्यवसायीहरू समाजका दृष्टिमा जिम्मेवार पात्रका रूपमा स्थापित हुन्छन् । यसरी विकृति नियन्त्रण र सुधारको मार्ग सङ्घकै आन्तरिक सचेतता, कडाइ र साझा प्रतिबद्धतामा निहित छ ।

निष्कर्षः

स्थानीय भवन निर्माण व्यवसायी सङ्घ, धरानको स्थापनाले भूकम्प प्रतिरोधी भवन निर्माण नीति कार्यान्वयनमा ऐतिहासिक योगदान पु¥याएको छ । सङ्घले धरान सहरमा सुरक्षित, मापदण्डअनुरूप र उत्तरदायी भवन निर्माणको संस्कार स्थापित गरेको छ ।

आज सङ्घले १९ वर्षको गौरवमय यात्रा पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको अवसरमा यस संस्थाका सबै संस्थापक, पदाधिकारी, सदस्य, प्राविधिक र सहयोगी निकायहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछ । सङ्घ हरेक चुनौती र परीक्षणबाट सिक्दै ‘जिम्मेवार निर्माण, सुरक्षित बसोबास’ भन्ने आफ्नो आदर्शलाई निरन्तर जीवित राख्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

(कार्की स्थानीय भवन निर्माण व्यवसायी सङ्घका महासचिव हुन् ।)