विराटनगर । राजनीतिक नेता उत्पादन गर्ने विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव नजिकिएसँगै हिजोआज बिहानैदेखि विद्यार्थीहरूको आउजाउ बढेको छ ।

कोशी प्रदेशको सबैभन्दा ठूलो क्याम्पसमध्ये विद्यार्थी सङ्ख्या, राजनीतिक प्रभावजस्ता कारणले स्ववियु चुनाव जित्नु विद्यार्थी सङ्गठनहरूले प्रतिष्ठाको विषय बनाउने गरेका छन् । सानातिना क्याम्पस जति जिते पनि महेन्द्र मोरङमा आफ्नो जित निकाल्न ठूला विद्यार्थी सङ्गठनहरू कम्मर कसेर लागेका छन् । विगतमा यहाँबाट स्ववियु जित्नेहरू केन्द्रीय राजनीतिमा स्थापित भएकाले यहाँको स्ववियुको विशेष महŒव छ ।

अहिलेसम्म महेन्द्र मोरङमा २०५४ देखि २०६५ सालसम्म नेविसङ्घले चार पटक, एमाले निकट अनेरास्ववियुले तीन पटक  र माओवादी निकट अखिल क्रान्तिकारीले २०६५ सालमा एक पटक स्ववियु सभापतिमा जितेका छन् ।

१४ वर्षपछि हुन लागेको चुनावमा एमाले, काङ्ग्रेस र माओवादी केन्द्रको विद्यार्थी सङ्गठनबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको छ । प्रमुख तीन दलका विद्यार्थी सङ्गठन एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । नेविसङ्घले अध्यक्षमा जसवन्त पौडेल र सचिवमा पूजा विश्वकर्मालाई उम्मेदवार बनाएको छ । अनेरास्ववियुले अध्यक्षमा नवीन पहाडी र सचिवमा सनिम ठकुरीलाई उम्मेदवार बनाएको छ ।

अखिल क्रान्तिकारीले अध्यक्षमा रोहित यादव र सचिवमा आशिका लम्साललाई उठाएको छ । अखिल क्रान्तिकारीका अध्यक्षलाई जसपाको विद्यार्थी सङ्गठनले पनि समर्थन गरेको छ ।

२०६५ सालमा भएको स्ववियु निर्वाचनमा महेन्द्र मोरङमा अखिल क्रान्तिकारीका तत्कालीन उम्मेदवार जयराम सुन्दास विजयी भएका थिए । १४ वर्षपछि हुन लागेको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा छ ।

चैत ५ गते हुने निर्वाचनमा महेन्द्र मोरङ कलेजमा ५ हजार ७ सय ९० जना र डिग्री क्याम्पसमा ३ सय ३४ जना मतदाता छन् ।

क्रान्तिकारी ढुक्क
माओवादी निकट अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनमा रोहित यादव विकासको नेतृत्वमा प्यानल बनाएर चुनावी मैदानमा छन् । हाल बीबीएस प्रथम वर्षमा अध्ययनरत यादवले महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर सुधारदेखि लिएर विद्यार्थीहरूलाई सहज रूपमा अध्ययन हुने व्यवस्था लागू गर्न लागि काम गर्ने बताए ।

अखिल क्रान्तिकारीले अन्य विद्यार्थी सङ्गठनमा देखिएको विवाद र आफ्नो सङ्गठनको एकता नै जितको आधार रहेको दाबी गरेको छ । क्रान्तिकारीले डिजिटल लाइब्रेरी, महेन्द्र मोरङ बन्दरहित सम्मानित क्षेत्र, हरियाली क्याम्पस परिसरलगायतको नारा दिएको छ ।

क्रान्तिकारीले सङ्गठन एकढिक्का रहेकाले आफूहले नै जित्ने दाबी गरेको छ । यादव भन्छन्, ‘सङ्गठन एक ढिक्का छ । पार्टीको केन्द्रीय कमिटीदेखि लिएर, पार्टीगत लाइन सङ्गठन सबैले ब्याकफोर्सको रूपमा काम गरिरहेकोले हामी जित्छौं ।’ मुख्य प्रतिद्वन्द्वी सङ्गठन नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुभित्र चर्केको विवादलाई पनि अखिल क्रान्तिकारीले आफ्नो जितका लागि लाभदायक देखेको छ ।

नेविसङ्घभित्र समस्या
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) भित्र दुईवटा समूह रहेको छ । संस्थापन पक्ष र इतर समूह । स्ववियुको अध्यक्षमा संस्थापन पक्षबाट नेविसङ्घले अध्यक्षमा जसवन्त पौडेललाई उम्मेदवारी बनाएको छ । पौडेललाई  अध्यक्षको टिकट दिएपछि इतर समूहका योगराज दाहाल पक्ष रुष्ट छन् । नेविसङ्घबाट उम्मेदवारी दिएका पौडेल एमपीएल तेस्रो सेमेस्टरमा अध्ययरत छन् ।

नेविसङ्घभित्रको विवादले बचुनावमा असर नगर्ने नेविसङ्घका उम्मेदवार पौडेल बताउँछन् । नेविसङ्घबाट उम्मेदवार बनेका सबै जना योग्य र क्षमतावान भएकाले मतदाता विद्यार्थीमाझ राम्रो प्रभाव भएको उनको जिकिर छ । ‘हामी सबैजना क्वालिटी भएको उम्मेदवारको टिम छौं । त्यसै पनि महेन्द्र मोरङमा नेविसङ्घप्रतिको चार्म छँदै छ ।’

नेविसङ्घले परीक्षा र नीतिगत प्रणाली, संरचनागत सुधार, पाठ्यक्रम निर्माणलगायतका विषयमा सुधार गर्नुपर्ने विषय उठाएको छ । नियमित पढाइ हुनुपर्ने, छात्रावास सञ्चालन गरिनुपर्नेलगायतका विषय नेविसङ्घले उठाएको छ ।

एमाले अनेरास्ववियुलाई अन्तरघातको डर
नेकपा (एमाले) को भ्रातृ सङ्गठन अनेरास्ववियुलाई सबैभन्दा डर विपक्षीसँग भन्दा पनि आफैभित्र देखिएको छ । अनेरास्ववियुमा चरम गुटबन्दी छ । त्यसको असर महेन्द्र मोरङ क्याम्पसमा पनि देखापर्ने अनेरास्ववियुका एक नेताले बताए । 

विगतमा जस्तै महेन्द्र मोरङ क्याम्पसमा स्ववियुको चुनावमा पनि अनेरास्ववियु नै पहिलो शक्ति हुने अध्यक्षका उम्मेदवार नवीन पहाडीले बताए । अनेरास्ववियुबाट अध्यक्षको उम्मेदवार पहाडीले बिबीएस र एमबीएसमा स्नातक सकेर अहिले जनप्रशासन एमपीएस फस्ट सेमेस्टरमा अध्ययनरत रहेका छन् ।

अध्यक्षका उम्मेदवार पहाडी भन्छन्, ‘हामीले ठूला सपना बाँडेका छैनौं । हामीले खास सुधार गर्नुपर्ने कुरा विद्यार्थीले भोगिरहेको समस्या समाधान गर्ने र महेन्द्र मोरङ क्याम्पसको सुधारको मुख्य आधारलाई एजेन्डा बनाएका छौं ।’

क्याम्पसको जीर्ण रहेको भौतिक संरचनाहरू मर्मत गरी सुविधा सम्पन्न बनाउनुपर्ने उनले बताए । छात्रावास र यातायातको व्यवस्था गरिनुपर्ने र छात्रा शौचालयमा भेन्टिमेसिनसहितको सेनेटरी प्याट अनिवार्य राखिनुपर्ने मुख्य चुनावी एजेन्डा रहेको उनले सुनाए ।

विगतः विवाददेखि हत्यासम्म
महेन्द्र मोरङ क्याम्पसमा पहिलो पटक २०३६ सालमा ध्रुवनारायण श्रेष्ठको सभापतित्वमा स्ववियु गठन भयो । २०३८ सालमा भने स्ववियु निर्वाचनका क्रममा तत्कालीन नेविसङ्घका नेतासमेत रहेका विजयकुमार गच्छदारको टिमले कब्जा ग¥यो । त्यही वर्षको मङ्सिर ९ गते फणिन्द्र तिम्सिनाको हत्या भयो । त्यसपछि लामो समय स्ववियु कार्यालयमा तालाबन्दी भयो । त्यसपछि भएको ४० सालको स्ववियु निर्वाचनमा भरतराज पोखरेल सभापतिमा निर्वाचित भए । २०४१ सालमा रमेश भट्टराई निर्वाचित हुँदा २०४३ सालमा भूराज राई सभापति चयन भए । ०४५ देखि ०४९ फागुनसम्म महेश रेग्मी सभापति चयन भए । ०४९–५१ देखि यदु विष्ट, ०५१ देखि ०५३ गुरुराज घिमिरे सभापतिमा चयन हुँदा ०५३ सालमा ऋषिकेश पोखरेल, २०५५ सालमा उपेन्द्र गच्छदार, २०५७ र २०६० मा सागरकुमार थापा, २०६२ सालमा भीम पराजुली र २०६५ सालमा जयराम सुन्दासको नेतृत्वमा स्ववियु गठन भएको हो ।

जयराम सुन्दास निर्वाचित हुनुपूर्व पनि क्याम्पसमा भएका झडप र आक्रमणको कहालीलाग्दो शृङ््खला रहेको छ । २०६४ साल फागुन १० गते पोखरा क्याम्पसमा एमाले अखिलसँग क्रान्तिकारीको झडप भयो । त्यसैको विरोधस्वरूप नेविसङ्घ र अखिल मिलेर महेन्द्र मोरङ क्याम्पसमा पनि बन्द हड्ताल सुरु गरे । त्यसको विरोधमा अखिल क्रान्तिकारी उत्रियो । विवाद बढ्दै जाँदा झडप भयो र फागुन १३ गते क्रान्तिकारीको नेतासमेत रहेका जयराम सुन्दासलाई १३ ठाउँमा काटियो । त्यसबेला हालका एमाले नेतासमेत रहेका पर्शुराम बस्नेतलगायतको टोलीले सुन्दासलाई आक्रमण गरेको थियो । पछि उनै सुन्दासको नेतृत्वमा एमाले अखिलसमेत सहभागी भएर ०६५ साल जेठमा सम्पन्न निर्वाचनमा होमियो र सुन्दास सभापतिमा विजयी भए ।