धरान । समाजसेवी तथा साहित्यकार लक्ष्मी राई (लारा) लाई नेपाल सरकारले ‘समाजसेवा रत्न’ अलङ्कारले विभूषित गर्ने भएको छ ।

भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय र सिफारिसमा संविधान दिवसको अवसरमा सोमबार विभूषित हुनेहरूको नाम घोषणा गरिएको हो । गृहमन्त्रालयले मानपदवी, अलङ्कार र पदक पाउने जम्मा ९ सय ९८ जनाको नाम सार्वजनिक गरेको छ ।

बेलायतमा रहेर ‘जुनकिरी इनिसिएटिभ’ संस्था स्थापना गरी नेपालका विभिन्न ठाउँका बालबालिकालाई शैक्षिक सहयोग गर्दै आएकी लक्ष्मीको समाजसेवाको यात्रा सानैदेखि धरानबाटै सुरु भएको हो । उनले यसपटक धरान आएर सामाजिक कार्य गरिरहेकै बेला सरकारले अलङ्कार प्रदान गरेको खबर पाइन् ।

‘पत्रिकामा नाम पढेर साथीभाइले खबर गर्दा सुरुमा त विश्वास लागेन’ उनी भन्छिन्, ‘निःस्वार्थ भावले काम गर्दा कसै न कसैले मूल्याङ्कन गर्दोरहेछ भनेर हर्षित भएँ ।’

लक्ष्मी सानैदेखि साहित्यमा रुचि राख्थिन् । डिपोट स्कुल पढ्दा कक्षा ८ मै उनी एकैपटक कविता, कथा र निबन्धमा प्रथम भएको अनुभव सुनाउँछिन् । धरानको अनाम नाट्य जमातको संस्थापक सह–सचिव लक्ष्मीले केही नाटकहरूमा पनि अभिनय गरिन् । त्यससँगै उनी कार्यक्रम उद्घोषण गर्थिन् ।

२०४५ सालको भूकम्पका बेला धरानमा घाइते र पीडितहरूलाई सहयोग गर्न सक्रिय बनेकी लक्ष्मी पछि पढाइका लागि काठमाडौं गइन् । त्यतैबाट विवाह गरेर हङ्कङ पुगिन् । हङ्कङमा उनको समाजसेवा र उद्घोषणको कामले झनै गति लियो । सन् १९९४ मै हङ्कङ पुगेकी उनले पछि जाने नेपालीहरूलाई कानूनीदेखि विविध सहयोग गरिन् ।

सन् २००९ मा बेलायत प्रस्थान गरेकी लक्ष्मीले जागिर, घर व्यवहार बीचको व्यस्ततामा पनि पढाइ अगाडि बढाइन् र युनिभर्सिटी कलेज अफ लन्डन (युसिएल)बाट ‘एजुकेसन, जेन्डर एन्ड इन्टरनेशनल डेभलपमेन्ट’ विषयमा मास्टर्स गरिन् । रजिष्टर्ड सोसल वर्करसमेत रहेकी लक्ष्मीले विभिन्न ठाउँमा १५ जनालाई छात्रवृत्ति प्रदान गरेर सहयोग गर्दै आएकी छन् ।

बेलायतकै व्यवसायी तथा समाजसेवीद्वय महन्त श्रेष्ठ र रविन्द्रजङ लामिछानेको सहयोगमा धरानको वसन्तटारस्थित आश्रममा रहेका ८ बालिकालाई शैक्षिक सामग्री, पोसाक र अन्य आवश्यक सामग्रीहरू सहयोग गर्न आएकै बेला सरकारबाट सम्मानित भएको खबर पाइन् । उनी भन्छिन्, ‘खासमा म छोरीलाई आफ्नो देश घुमाउनका लागि नेपाल आएकी थिएँ । यही मौकामा पहिलादेखि सहयोग गर्दै आएका नानीहरूलाई सहयोग गरिरहेकी थिएँ, सरकारले सम्मानित गर्ने खबर पाउँदा धेरै उत्साह मिलेको छ ।’

सानोमा आफूले चाहे जसरी पढ्न नपाएकाले उनी पढ्न चाहने कोही भेटे सहयोग गर्छिन् । त्यसो त उनी बेलायतमा नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउँछिन् भने नेपाल बारे सिक्न, बुझ्न चाहने विभिन्न देशका मान्छेहरूलाई अनलाइनमार्फत् नेपाली भाषा सिकाइरहेकी छन् ।

बेलायतमा रहे पनि नेपालबारे सोच्ने र नेपालीहरूकै सुख–दुःखमा साथ दिन पाउँदा आफूलाई खुसी लाग्ने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सम्मान र पुरस्कारको आशामा समाजसेवा गरेको होइन तर, सरकारले मूल्याङ्कन गरिदिँदा आफ्नो जिम्मेवारी अझै बढेको महसुस भएको छ ।’