भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ८ गोगने सल्लेनीका शम्भु नेपालले ड्रागनफ्रुटको खेती गरेर मनग्य आम्दानी गर्ने गरेका छन् । ४२ रोपनी जग्गामा ड्रागनफ्रुट खेती गरेर नेपालले वार्षिक १४ देखि १८ लाख सम्म आम्दानी गर्ने गरेका हुन् ।

बाँदरले अन्नबाली खाएर सखाप पारेपछि ३ वर्षअघि दाना बोट फलफूल तथा कृषि फर्म दर्ता गरी ड्रागनफ्रुटको खेती गर्न थालेको कृषक नेपालले बताए । बाँदर आतंकका कारण वर्षौँदेखि बाँझो रहेको जग्गामा ड्रागनफ्रुटको खेती गर्दा आम्दानी पनि सोचेभन्दा धेरै राम्रो  भएको उनले सुनाए ।

उनले भने “बाँदरले अन्नबाली खाएर दुःख  दिन थालेपछि विकल्पमा यो खेती रोजेँको हु , बजारमा यसको माग पनि धेरै छ, बजार मूल्य पनि राम्रो छ’, ‘बाँदरले खाइदेला भन्ने चिन्ता पनि छैन, आम्दानी समेत राम्रै हुन थालेपछि खुसी छु ।” रोपेको दुई वर्षमै यसले मनग्गे आम्दानी दिन थालेपछि गोगनेका किसान ड्रागनफ्रुट खेती तर्फ आकर्षित भएका छन् ।

बाँदर आतंकले अन्नबाली भित्र्याउन नपाएका किसानले बाझो रहेको खेतीयोग्य जमिनमा व्यावसायिक रूपमा ड्रागनफ्रुटको खेती गर्न थालेका हुन् । यो खती गर्न थालेपछि बाँदरबाट छुटकारा पाएको किसानहरूको भनाई छ । खाली जमिनमा किसानहरूले बाँदरले नखाने प्रजातिका फलफूल लगाएर मनग्गे आम्दानी लिन थालेको अर्का कृषक नरबहादुर गुरागाईँले बताए । व्यावसायिक रूपमा ड्रागनफ्रुट खेती गर्न सके आफ्नै गाउँघरमा स्वरोजगार बन्न सकिने गुरागाईँको विश्वास छ ।

केही वर्ष अघिसम्म सिँचाइ अभाव र बाँदरका कारण अन्नबाली भित्र्याउन नपाउँदा धेरै ग्रामीण बस्तीका जनता बसाइँ सर्न बाध्य हुने गरेका थिए । अहिले भने बाँदरले दिएको हैरानीको उत्तम विकल्प खोज्दै राम्रो आम्दानी लिन सकिने ड्रागनफ्रुट, कागती, टिमुर र मेकाडिया नट जस्ता फलफूल तथा नगदे बालीतर्फ युवापुस्ता आकर्षित बनेका छन् ।

वैदेशिक रोजगारीमा जाने युवापुस्ताले आफ्नै गाउँघरमा व्यावसायिक खेती गरे बेरोजगारी समस्या समेत हट्ने निश्चित छ । जिल्लामा अहिले ड्रागनफ्रुट खेती तर्फ कृषकको आकर्षण बढे पनि बजार माग अनुसार आपुर्ती हुन सकेको छैन ।

स्थानीय बजारमा ड्रागनफ्रुट प्रतिकिलो पाँच सयदेखि सात सय रुपैयाँमा बिक्री हुने गरेको व्यापारीले बताएका छन् । भोजपुरमा अहिले टम्के मैयुङ गाउँपालिका , हतुवागढी गाउँपालिका र भोजपुर नगरपालिकामा गरी ८८ रोपनी जग्गामा ड्रागनफ्रुट खेती गरिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।