सुनसरी । आर्थिक वर्ष २०७८/७८ मा सुनसरी हुँदै झन्डै ६ अर्ब बराबरको विभिन्न सामान आयात भएको छ ।

सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म पाँच अर्ब ९३ करोड ८८ लाख ७७ हजार बराबरको प्रमुख १५ वटा वस्तुहरू आयात भएको छ भने निर्यात शून्य रहेको छ ।

सुनसरी भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी धान, आलु, मकै, चामल, प्याज आयात भएको हो । कृषिजन्य उत्पादनमा कमी आउँदा कुनै बेला नेपालबाट भारत निर्यात हुने चामल र गहुँ अहिले भारतबाट आयात हुने गरेको छ । सुनसरी हुँदै आर्थिक वर्ष २०७७/०७८ सालमा ८८ करोड ९४ लाख २९ हजार बराबरको आलु आयात भएकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ५४ करोड ३७ लाख ९० हजार बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ दशमलव ३९ प्रतिशत बढेको हो ।

यसैगरी आर्थिक वर्ष २०७७÷०७८ सालमा ४७ करोड १६ लाख २२ हजार बराबरको प्याज आयात भएकोमा आर्थिक वर्ष २०७८/०७९ सालमा १ अर्ब ५४ करोड ३७ लाख नौ हजार बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४५ दशमलव ६१ प्रतिशतले बढी हो ।

यस्तै आर्थिक वर्ष २०७७/०७८ सालमा ३३ करोड ७५ लाख ९६ हजार बराबरको चामल आयात भएकोमा आर्थिक वर्ष  २०७८÷०७९ सालमा ८२ करोड ६१ लाख ६५ हजार बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय १५ दशमलव १९ प्रतिशतले बढेको हो । त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ सालमा १ अर्ब १७ करोड ४२ लाख ७० हजार बराबरको धान आयात भएकोमा आर्थिक वर्ष  २०७८/०७९ सालमा एक अर्ब ५९ करोड ४८ लाख ८५ हजार बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४ दशमलव ३४ प्रतिशत बढी हो ।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ सालमा ५३ करोड २२ लाख ८९ हजार बराबरको मकै आयात भएकोमा आर्थिक वर्ष २०७८/०७९ सालमा १ अर्ब ११ करोड ५६ लाख १० हजार बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको ९२ दशमलव ४४ प्रतिशतले बढेको हो । यसैगरी आर्थिक वर्ष २०७७/०७८ सालमा ६८ करोड २० लाख १६ हजार बराबरको गहुँ आयात भएकोमा आर्थिक वर्ष २०७८÷०७९ सालमा ८८ करोड २४ लाख ७१ हजार बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ दशमलव ४८ प्रतिशत बढी हो । त्यसै गरी आर्थिक वर्ष २०७७÷०७८ सालमा आठ करोड २० लाख २३ हजार बराबरको भुस आयात भएकोमा गत आर्थिक वर्षमा १६ करोड २९ लाख ७५ हजार बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८२ दशमलव ६५ प्रतिशतले बढेको हो ।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ सालमा २ करोड ७४ लाख ३६ हजार बराबरको कागती आयात भएकोमा गत आर्थिक वर्षमा आठ करोड ६९ लाख ९३ हजार बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय ९२ दशमलव ६६ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७८/०७९ मा आलु, प्याज, चामल, भुस, मकै, कागतीको आयात बढे पनि ताजा हरियो तरकारी, काँचो केरा, सुती सारी, लुङ्गी धोती, पानीपुरी, कुरमुरे, लेज आदिको आयातमा कमी आएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ सालमा एक करोड १९ लाख ८८ हजार बराबरको काँचो केरा आयात भएकोमा आर्थिक वर्ष २०७८/०७९ सालमा ९७ लाख ६६ हजार बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ दशमलव २१ प्रतिशतले घटेको हो । यस्तै आर्थिक वर्ष २०७७/०७८ सालमा २ करोड ५९ लाख ८० हजार बराबरको ताजा तरकारी आयात भएकोमा गत आर्थिक वर्षमा १ करोड ६९ लाख ६१ हजार बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३९ दशमलव ७४ प्रतिशतले घटेको हो ।

त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ सालमा २ करोड २६ लाख ८९ हजार बराबरको पानीपुरी, कुरमुरे, लेज आयात भएकोमा गत आर्थिक वर्षमा १ करोड ४४ लाख ६८ हजारको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ दशमलव २१ प्रतिशतले घटेको हो ।

८१ करोड ५८ लाख राजस्व असुली
सुनसरी भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा  २७ करोड ८२ लाख ३९ हजार बढी राजस्व सङ्कलन गरेको छ । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले गत आर्थिक वर्षमा ५३ करोड ७६ लाख ४३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ८१ करोड ५८ लाख ८२ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

भारत बिहार राज्यको फारबिसगञ्जस्थित रहेको मिरगञ्ज पुल मर्मत गर्नुपर्ने भएकोले पछिल्लो केही समययता वैकल्पिक बाटोका रूपमा भन्टाबारी भीमनगर नाका प्रयोग गरिएको हुँदा सुनसरी भन्सारको राजस्व सङ्कलन बढेको हो ।