सुनसरी । टिनको छानो भएको पाँचवटा भवन छ । कक्षा एकदेखि कक्षा आठसम्म पढाइ हुने विद्यालयको रजिष्टरमा विद्यार्थीको सङ्ख्या ९२ जना देखिन्छ ।

प्रअसहित पाँचजना शिक्षक छन् । तर, नियमित रूपमा विद्यार्थी मात्रै होइनन्, शिक्षकसमेत विद्यालय आउँदैनन् । कहिलेकाहीँ कक्षा कोठा आउने विद्यार्थीसँगै शिक्षकसमेत टिफिनपछि भेटिँदैनन् । यो दुरावस्था हो, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ८ स्थित राष्ट्रिय आधारभूत विद्यालयको । कक्षा आठसम्म सञ्चालनको अनुमति पाएको सो विद्यालयको शैक्षिक अवस्था निकै दयनीय रहेको अनुगमनको क्रममा पाइएको छ ।

यस्तै भोक्राहा नरसिंह गाउँपालिका–५ मा रहेको आदर्श आधारभूत विद्यालयको शैक्षिक गुणस्तर पनि दयनीय अवस्थामा रहेकोे पाइएको भोक्राहा नरसिंह गाउँपालिका शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्सिनाले बताए । उनका अनुसार सो विद्यालयमा जम्मा विद्यार्थीको सङ्ख्या ६३ जना देखाइए पनि अनुगमनका क्रममा २३ जनामात्र भेटिएको हो । भौतिक पूर्वाधारअन्तर्गत टिनको छानो भएको पाँच कोठे भवन रहेको उक्त विद्यालयको शैक्षिक गुणस्तर खस्किएको अवस्था रहेकोे पाइएको तिम्सिनाको भनाइ छ ।

भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा अनुगमनको क्रममा पुग्दा जम्मा ९२ जना रजिष्टरमा विद्यार्थी सङ्ख्या रहेको पनि ४२ जनामात्र उपस्थित रहेको पाइएको शिक्षा शाखा प्रमुख तिम्सिनाले बताए । उक्त विद्यालयका प्रअ जमरुद्दिन मन्सुरीले भने विद्यालयमा १ सय ५० को हाराहारीमा विद्यार्थी रहेको दाबी गरेका छन् ।

पूर्वजानकारी गराएर विद्यालयको अनुगमन गरिए पनि विद्यालय समयमा पानी परेका कारण विद्यार्थी आउन नसकेको प्रअ मन्सुरीको भनाइ छ । विद्यालयको शैक्षिक गुणस्तर खस्किनुमा विद्यालय प्रशासनको मुख्य कमजोरी रहेको भोक्राहा नरसिंह गाउँपालिका–८ का अभिभावक साफिल मियाँले गुनासो गरे । विद्यालय समयमा शिक्षक नआउने, आए पनि हाजिरी गरेर जाने, टिफिनपछि विद्यार्थीसँगै शिक्षकसमेत घर जाने गरेको उनको भनाइ छ । भोक्राहा नरसिंह गाउँपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयहरूको अनुगमनको क्रममा शैक्षिक अवस्था निकै दयनीय रहेको पाइएको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिताकुमारी उराँव, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुखलगायतले गरिरहेको विद्यालय अनुगमनको क्रममा सामुदायिक विद्यालयहरूमा हाजिरी रजिष्टरमा उल्लेख भएकोभन्दा कम विद्यार्थी रहेको, शैक्षिक गुणस्तर निकै दयनीय रहेको, छात्रवृत्तिको रकममा अनियमितता भएको पाइएको छ । शिक्षित मानिसको सङ्ख्या कम रहेको भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका बालबालिकाको सिकाइ उपलब्धिको अवस्थासमेत नाजुक देखिएको हो ।

भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा २६ वटा सामुदायिक र १५ वटा धार्मिक गरी जम्मा ४१ वटा विद्यालयहरू छन् । तीमध्ये पाँचवटा मावि छन् । जम्मा ५ हजार आठसय ७८ विद्यार्थी छन् भने १ सय १५ जना दरबन्दीका शिक्षकशिक्षिका तथा ५९ जना बालविकास शिक्षिका रहेका छन् । तीमध्ये वडानम्बर ५, ६, ७ र ८ मा गरी १२ वटा सामुदायिक विद्यालयको अनुगमन गरिएकोमा अधिकांशमा बहुसङ्ख्यक विद्यार्थीहरूले अक्षरसमेत नचिन्ने अवस्था रहेकोे पाइएको शिक्षा शाखा प्रमुख तिम्सिनाको भनाइ छ ।

‘कक्षा आठमा पढ्ने विद्यार्थीहरूमध्ये बहुसङ्ख्यक विद्यार्थीले अक्षर चिन्दैनन्’ उनले भने, ‘उनीहरूको सिकाइ उपलब्धि दयनीय रहेकोे पाइएको छ ।’ ‘कतिपय विद्यालयमा जनप्रतिनिधिसहितको अनुगमन टोली विद्यालयमा पुग्दा शिक्षकले हतार–हतार बोर्डमा कखरा लेख्दै गरेको पाइयो’–अनुगमन समितिका एक सदस्यले भने । सामुदायिक विद्यालय अनुगमनको क्रममा स्थानीयवासीले विद्यालयमा पठन–पाठन राम्रो नभएको, विद्यार्थी आए पनि शिक्षक नआउने गरेको, विद्यार्थी खेलेरै घर फर्कने गरेको जस्ता गुनासो आइरहेको भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिताकुमारी उराँवले बताइन् ।

शिक्षक र व्यवस्थापन समितिको चरम् लापरबाहीका कारण विद्यार्थीलाई विद्यालय पठाउने अवस्था नरहेको अर्की अभिभावक रेखा उराँवले गुनासो गरिन् । शिक्षकशिक्षिका आफै विद्यालयमा नियमित नआएकै कारण विद्यार्थीहरूले विद्यालय छाड्ने गरेको बताउँदै उनले भनिन्, ‘विद्यालय नामको मात्रै छ, मास्टर आउँदैनन्, के पढेर सिक्छन् विद्यार्थीले ?’

शिक्षा सुधारमा जनप्रतिनिधि
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष आजादले आफूहरूले शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए । भौतिक पूर्वाधार निर्माणका साथै सामाजिक क्षेत्रको विकास अपरिहार्य रहेको उनको भनाइ छ ।

‘यहाँका विद्यार्थी गुणस्तरीय शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता छ, यहीँ किन वातावरण भएन भन्ने प्रश्न उठेको छ’ अध्यक्ष आजादले भने, ‘अब हामीले कम्तिमा यहीँ गुणस्तरीय शिक्षा पढ्ने वातावरण बनाउने अभियान थालेका छौं । निजी विद्यालय हेर्दा सामुदायिक विद्यालय भौतिक पूर्वाधार सम्पन्न, दक्ष र तालिम प्राप्त शिक्षकशिक्षिका भएर पनि नतिजा दयनीय आउनुको कारण के हो ? भन्ने कुरा खोजिरहेका छौं, गुणस्तरीय शिक्षा नपाएमा बालबालिकाको भविष्य बर्बाद हुने भएकोले शिक्षामा कुनै खालको कञ्जुस्याइँ हुन दिन्नौं ।’

भोक्राहा नरसिंह गाउँपालिकामा शैक्षिक सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशासमेत स्वीकृत भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको शैक्षिक क्षेत्र सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा असार २८ गते बसेको दोस्रो गाउँसभाको १३ औं बैठकबाट स्वीकृत भएको हो ।

उक्त स्वीकृत कार्यदिशामा उच्चस्तरीय शैक्षिक सुधार अध्ययन कार्यदल गठन गरी प्रत्येक शैक्षिक संस्थाहरूमा अनुगमन, निरीक्षण, कार्यशाला गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने, प्रतिवेदन अनुसार उल्लेखित शैक्षिक संस्थाहरूको शैक्षिक सुधार योजना बनाउने, प्रत्येक वडाले एक–एकवटा विद्यालय छनोट गर्ने, अध्ययन प्रतिवेदनको आधारमा शैक्षिक सुधार कार्यक्रममार्फत् वडाले छनोट गरेको विद्यालयको भौतिक संरचना, शिक्षक दरबन्दी, विद्यार्थी प्रोत्साहन/आकर्षणको कार्यक्रम ल्याई शैक्षिक अवस्था सुधार गर्ने, छनोट भएका एक–एक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट  पठन–पाठन सुरु गर्ने, उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने, शैक्षिक अवस्था कमजोर भएका विद्यालयका शिक्षकहरूलाई अन्य विद्यालयमा स्थानान्तरण गरी क्षमता विकास गर्ने, विद्यार्थी कम भएका विद्यालयहरू मर्ज गर्ने, दरबन्दी मिलान गर्नेलगायतका बुँदाहरू रहेका छन् ।