धरान । घाँटीबाट सुरु हुने मेरुदण्डको हड्डी हुँदै र फोक्सोमा फैलिएको क्यान्सरको ट्युमरलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका न्यूरो सर्जरी युनिट र कार्डियो थोरासिक भास्कुलर सर्जरी युनिट मिलेर सफल शल्यक्रिया गरेका छन् ।

विहारको सुपौल बस्ने रवि कुमारका ७ वर्षीय छोरा आशिक कुमारको न्यूरो सर्जरी युनिटले मेरुदण्डको शल्यक्रिया गरेर हाडभित्रको ट्युमर निकालेको दुईसाता पछि कार्डियो थोरासिक भास्कुलर युनिटले फोक्सोमा फैलिएको ट्युमर निकालेको थियो ।

शल्यक्रियामा संलग्न प्रमुख चिकित्सक प्रतिष्ठानका न्यूरो सर्जन एसिष्टेण्ट प्रोफेसर डा. आलोक दाहालका अनुसार चिकित्साशास्त्रमा यसलाई न्यूरोग्याङ्गीलिओमा भनिन्छ । उनले भने, ‘यस्तो रोग १० लाख जनामा एकजनालाई हुनसक्छ । त्योभन्दा महŒवपूर्ण एउटा बच्चाको न्यूरोग्याङ्गीलिओमाको उपचार गर्न न्यूरो सर्जन र कार्डियो थोरासिक भास्कुलर सर्जनले मिलेर गरेको यो मुलुककै पहिलो हो ।’

न्यूरोग्याङ्गीलिओमा एक प्रकारको क्यान्सर हो । न्यूरोग्याङ्गीलिओमाले च्याप्दै लगेपछि ती बच्चाको उमेर करिब चारवर्ष नपुगदै हातखुट्टा चल्न छाडेको थियो भने फोक्सोमा पनि ट्युमर फैलिएपछि श्वास–प्रश्वासमा पनि समस्या देखिन थालेको थियो । विहार र विहार आसपासका विभिन्न सरकारी र निजी अस्पतालमा उपचारका लागि पु¥याए पनि चिकित्सकहरूले माया मारेर घरैमा पठाउने गरेका थिए ।

रवि कुमारले विहारका अस्पताल धाउने क्रममा त्यहीँको स्थानीय क्लिनिकका एकजनालाई भेटे । रविले भेटेका ती व्यक्तिका छोरालाई पनि बीपी प्रतिष्ठानमै डा.दाहालले मेरुदण्डको ट्युमरको शल्यक्रिया गरेर पठाएका थिए । तिनै व्यक्तिको सल्लाहअनुसार अन्तिम प्रयासको रूपमा प्रतिष्ठानमा गत अप्रिल १७ मा भर्ना गरेका थिए ।

डा.दाहालले भने, ‘बच्चालाई इमर्जेन्सीमा ल्याइएको रहेछ । न्यूरोको समस्या देखेपछि मलाई बोलाए । मेरुदण्डको एक्स–रे गर्दा ट्युमरले थिचिएर हाड नै बाङ्गिएको र मक्किसकेको अवस्थामा देखियो । फेरि एमआरआई गर्न विराटनगर पठायौं । एमआरआई रिपोर्टमा घाँटीदेखि सुरु भएको मेरुदण्डका तीन ठाउँमा मासुको ट्युमर पलाउनुका साथै फोक्सोका अधिकांश भागमा पनि ट्युमर फैलिएको देखियो ।’

बच्चाको मेरुदण्डको ट्युमर हटाउन न्यूरो सर्जन युनिटले र फोक्सोको ट्युमर हटाउन कार्डियो थोरासिक भास्कुलर युनिटले बेग्ला बेग्लै शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि प्रतिष्ठानका कार्डियो थोरासिक भास्कुलर सर्जन एसोसिएट प्रोफेसर डा. लोकेश जैसवाल, एसोसिएट प्रोफेसर डा. विजय साहसँग सल्लाह गरेर पहिले न्यूरो सर्जरी युनिटमा भर्ना गर्नुपरेको डा. दाहालले बताए । उनले भने, ‘अप्रेसन थिएटरमा करिब ५ घण्टा लगाएर बच्चाको मेरुदण्डको ट्युमर निकालेपछि पोष्ट अप्रेटिभ केयर डेमा भर्ना गरियो । १४ दिनसम्म त्यहाँ राख्दा बालकको हात–खुट्टा चल्न थाल्यो ।

सामान्य हिँडडुल गर्न सक्ने भएपछि डा. जैसवालको टिमले फोक्सोको ट्युमर निकाल्न छातीमा थोराटोमी (छातीमा दुई ठाउँ चिरा पारेर गरिने शल्यक्रिया) गरेर पाँच घण्टामा ट्युमर निकाले ।’ फोक्सोबाट रगत ‘लिक’ रोक्न र श्वास फेर्न सजिलो होस् भनेर पाइप (इन्टर कोस्टल ट्युव) लगाइदिएका थिए । उक्त ट्युव रहेसम्म बालकले नाक, मुखबाट सास नफेरी ट्युवबाटै श्वास फेर्ने गरेका थिए । तीनदिनसम्म हेर्दा शल्यक्रिया गरिएको फोक्सोबाट रगत लिक नभएपछि ट्युव निकालिएको डा. दाहालले बताए ।

उनका अनुसार करिब १ महिनासम्म राखेर मेरुदण्ड र फोक्सोको फिजियोथेरापी गरेपछि गत मे १५ मा डिस्चार्ज दिइएको छ । हालैमात्र फेरि फलोअपमा आएका बालकको स्वास्थ्य अवस्था सामान्य रहेको डा. दाहालले बताए । उनले भने, ‘यो खाले रोग बच्चामा हुने दुर्लभ मानिन्छ । न्यूरोग्याङ्गीलिओ क्यान्सर नै हो । यो वंशाणुगत हुन्छ । यो बढ्दै जाने ट्युमर भएकाले मेरुदण्ड, फोक्सो हुँदै मुटुमा पुग्न सक्छ । बालकको पनि मुटुमा पुगेको भए बचाउन मुस्किल हुनसक्थ्यो । फेरि पनि ट्युमर नफैलियोस् भनेर रेडियोथेरापी गर्न सल्लाह दिइएको छ ।’

प्रतिष्ठानमा मेरुदण्ड र फोक्सोको ट्युमर निकाल्दा बढीमा ७० हजार रुपैयाँ खर्च भएको थियो । जबकि नेपालका कतिपय निजी अस्पतालले बालबालिकाको यस्ता विरलै रोगको शल्यक्रिया गर्दैनन् भने भारतका ठूला निजी अस्पतालहरूमा यति उपचार गर्दा कम्तिमा २५ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको चिकित्सकहरूले बताउने गरेका छन् ।

त्यसो त दुई महिना अघिमात्र डा.दाहालले विराटनगर उपमहानगरबाट ल्याइएका १३ महिनाको बच्चाको अर्को विरलै शल्यक्रिया गरेका थिए । उनका अनुसार गर्भमै ट्युमर लिएर जन्मेका बच्चाको मेरुदण्ड र दिसा जाने नलीको बीचमा पलाएको सेक्रोकक्सीजिएल ट्युमर ८ घण्टा लगाएर शल्यक्रिया गरेका थिए । उनले भने, ‘ल्याएको सुरुको दिनमा ४ गुणा ४ सेन्टीमिटर ट्युमर थियो । उपचारको क्रममा राख्दाराख्दै ७ दिनमा त यति छिटो बढ्यो कि १२ गुणा १३ सेन्टीमिटरको भयो । तत्काल बच्चालाई बेहोस बनाएर शल्यक्रिया गरेर ट्युमर फालियो । हाल फलोअपमा आइरहेका छन् । अहिले बच्चा स्वस्थ छन् ।’

करिब ६ महिनाअघि पनि उनले राजविराजबाट ल्याइएका दुई महिनाका बच्चाको मस्तिष्कसँग जोडिएका इन्सेफालोकोइल ट्युमर काटेर बच्चालाई बचाएको बताए । बच्चाको नशा र ट्युमर प्रायः विरलै मानिन्छ । प्रतिष्ठानमा पाँच वर्षको अवधिमा उनले बालबालिकाको ट्युमर र नशासम्बन्धी समस्या भएका करिब सयजनाको सफल शल्यक्रिया गरिसकेका छन् भने वयस्कहरू करिब हजार जनाको शल्यक्रिया गरिसकेका छन् ।