यतिखेर चुनावी चटारो बढेको छ । बढ्दो गर्मीसँगै सिङ्गो समाजनै चुनावी सरगर्मीले तातेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू मतदाता रिझाउने अभियानमा छन् । विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू आआप्mनो योजनामार्फत जनतालाई विस्वस्त पारिरहेका छन् । यसमा कतिपय उम्मेदवारहरूले वस्तुवादी र यथार्थ धरातलमा टेकेर मतदाता फकाइरहेका छन् भने कतिपय उम्मेदवारहरूले हावादारी गफ चुटेर दिग्भ्रमित गरिरहेका छन् । कुनै उम्मेदवारले पनि जनतालाई धोका दिन्छौं, काम गर्दैनौं अनि भ्रष्टाचार गर्छौ; भनेका छैनन् । शासक होइन सेवक हुन्छौं नै भनिरहेका छन् । यो वा त्यो काम गर्ने प्रतिवद्धताको पुलिन्दा खोलिरहेका छन् अनि आश्वासनको भारी बिसाइरहेका छन् । यता जनता भने कसको कुरा पत्याउने रनभुल्लमा परेका छन् ।

मुलतः कुन आधारमा जनताले आप्mनो मताधिकार प्रयोग गर्दै आएका छन् । मतदाताहरूलाई कसरी वर्गीकरण गर्न सकिन्छ । वर्तमान हाम्रो अर्थराजनीतिमा जनताले मत अभिव्यक्ति गर्ने तौरतरिका के–के हुन् । लामो चुनावी अभ्यासको अनुभव सङ्गालेको नेपाली अर्थराजनीतिमा दल वा उम्मेदवारहरूले जनतालाई कसरी आस्वस्त पार्दैआएका छन् । जनताको सहभागिता वा प्रस्तुति कस्तो रहँदै आएको छ भन्ने कुरा सर्वाधिक महत्वपूर्ण सवाल हो । किनकि विभिन्न दूष्प्रभावमा परेर जनताले गलत पार्टी वा उम्मेदवारलाई जिताउनु भनेको गतिशील राष्ट्रिय अर्थराजनीतिलाई लङ्गडो बनाउनु बराबर हो; जसको इतिहासले चर्को मूल्य चुकाउनु पर्ने पनि हुन्छ । जनताले मतदान गर्ने संस्कृति र शैलीमा सारा जनताको भविष्य अन्तरनिहित हुन्छ । त्यसैले जनतामा मतदान गर्ने चारित्रिक आधारहरू भनेको निर्णायक विषय हो । यही चारित्रिक वर्गीकरणकै सन्दर्भमा तपशील बमोजिम चर्चा गरिएको छ । 

(१) सैद्धान्तिक मतदाताः कुनै पनि निश्चित विचार, दृष्टिकोण र अवधारणाद्वारा निर्देशित  वा प्रशिक्षित मतदाताहरू यस क्याटगोरीमा पर्दछ । उदाहरणका लागि साम्यवादी, पुँजीवादी र पुरातनवादी सिद्धान्तमा विस्वास गर्ने मतदाताहरू यस अन्तर्गत पर्दछ । विशेषतः यसमा कुनै पनि राजनैतिक दलमा क्रियाशील नेता तथा कार्यकर्ता, सङ्गठित सदस्य, शुभचिन्तक, समर्थक र जनताहरू पर्दछन् । उनीहरू मूलतः सिद्धान्तको आधारमा सही र गलतको वकालत गर्दै मतदान गर्दछन् । उनीहरू सङ्ख्याभन्दा सार र रूपभन्दा गुणमा विस्वास गर्छन् । सारभूत दृष्टिकोेण र विचारबाहेक अन्य रूपवादी माहौलहरूमा विस्वास गर्दैनन् । त्यसैले भोट हाल्दा पनि खास विचार बोक्ने पार्टीका उम्मेदवारहरू प्राथमिकतामा पर्दछन् । अन्य स्वार्थ र अवसरजन्य पक्षहरूको दूष्प्रभावमा नपरी आकारमा सानो भएपनि आफूलाई सही लागेको सिद्धान्त बोक्ने पार्टीलाई मत दिन्छन् । वास्तवमा हुनुपर्ने पनि यही हो तर दुर्भाग्यनै भन्नु पर्छ; आज सिद्धान्तको आधारमा मतदान गर्ने कित्ता नितान्त रक्षात्मक हुँदै गइरहेको छ । यसले हाम्रो विकृत अर्थराजनीतिक यात्राको सङ्केत गरिरहेको छ ।

(२) एजेन्डागत मतदाताः कुनै पनि पार्टी वा उम्मेदवारले बोक्ने राजनैतिक एजेन्डाहरू सही र वस्तुवादी लागेर मत जाहेर गर्ने मतदाताहरू यसमा पर्दछन् अर्थात्एजेन्डाहरूको उठान वा आन्दोलनको पक्ष वा विपक्षमा उभिएका पार्टी वा उम्मेदवारलाई मतदान गर्ने मतदाताहरू एजेन्डागत मतदाता हुन् । जस्तै सङ्घीयता, समावेशी, धर्मनिरपेक्षता र समानुपातिक जस्ता एजेन्डाहरू माथि विस्वास गर्ने मतदाताहरूले यही एजेन्डाधारी पार्टी वा उम्मेदवारहरूलाई भोट हाल्छन् । वस्तुतः यसमा पनि एजेन्डा प्रधान हुन्छ भने रूप र माहौल सहायक हुन्छ । एजेन्डालाई केन्द्रमा राखेर मतदान गर्नु भनेको समाजको गतिशीलतालाई सम्वोधन गर्नु हो । एजेन्डा भुल्नु भनेको समाजलाई झनै गोलचक्कर र भद्रगोल बनाउनु हो । यद्यपि विडम्वना नै भन्नुपर्छ, पछिल्लो समय एजेन्डामा मतदान गर्ने परिपाटी कमजोर भइरहेको छ; स्पष्टै देखिन्छ जुन दुःखद् विडम्वनाको सवाल हो ।

(३) सामुदायिक मतदाताः नेपाल बहुजातीय र बहुसांस्कृतिक पृष्ठभूमि भएको मुलुक हो । यसमा विभिन्न जातजातिहरू बसोवास गर्दछन् । यस्तो समाजमा सामुदायिक मनोविज्ञान हाबी हुन्छ । विभिन्न जात जातिहरूबीच भावनात्मक लक्ष्मणरेखाहरू कोरिएको हुन्छ । यसले भावनात्मक सन्निकट्ता र दूरता निर्धारण गर्दछ । सामुदायिक आस्था र विस्वास निर्णायक हुन्छ । यस्तो वस्तुगत धरातलमा सिद्धान्त र एजेन्डागत पार्टी वा उम्मेदवारभन्दा पनि सामुदायिक उम्मेदवारहरूलाई मतदान गरिन्छ । यसलाई सामुदायिक मतदाता भनिन्छ अर्थात् विचार सिद्धान्तलाई थाँति राखेर जनजातिले जनजातिलाई, खसआर्यले खसआर्यलाई, दलितले दलितलाई अनि महिलाले महिलालाई मत जाहेर गर्ने जनता सामुदायिक मतदाता भित्र पर्दछ । यसलाई भावनात्मक मतदाता पनि भनिन्छ । तर, भावनाको पछि लाग्दा कहिलेकाहीँ सिङ्गो राजनीति गलत व्यक्तिको हातमा पुग्ने खतरा रहन्छ । किनकि सिद्धान्त र एजेन्डा प्रधान हुन्छ भने भावना सहायक हुन्छ । सहायक पक्षको प्रधान पक्ष माथि नेतृत्व गर्ने हैसियत हुँदैन ।

(४) परम्परागत मतदाताः यस किसिमका मतदाताले सिद्धान्त, एजेन्डा र सामुदायिक भावनाको कुनै मतलव गर्दैनन् । उनीहरू कुन ठीक; बेठीक भनेर वास्ता गर्दैनन्; गम्भीर पनि हुँदैनन् ।  चिन्तन्, मनन् केही पनि गर्दैनन् । कसैको कुुरा पनि सुन्दैनन् । सुने पनि मतलव राख्दैनन् । उनीहरूको दिलदिमागमा यति हुन्छ कि बाउबाजे, काकाबडाबा र दाजुभाइले कुन चुनाव चिह्नमा मत लाउँदै आएका थिए; त्यही मतदान गर्नुलाई इमान्दारिता र कर्तव्य ठान्दछन् । विगतदेखि पटक–पटक भोट लाउँदै आएका वा चुनाव चिह्न कन्ठै भएका मतदाताहरू यसभित्र पर्दछन्; जसलाई चुनाव चिह्ने मतदाता पनि भनिन्छ । उक्त चुनाव चिह्नधारी पार्टीले गलत बाटो र बेठीक निर्णय गरिरहँदा पनि उनीहरू भने एकोहोरो सोही चिह्नमा मतदान गरिरहन्छन् । परिणामतः यो परिवर्तनशीलता र गतिशीलताको नियम विपरीत हुन पुग्दछ । यस्ता जनतालाई परम्परागत मतदाता भनिन्छ । यसरी बनिबनाउ मतदानको परम्पराले मात्र समाजको परिवर्तित मर्म र भावनालाई सम्बोधन गर्दैन बरु उल्टै गतिशील समाजको नेतृत्व गलत पार्टी वा व्यक्तिको हातमा पु¥याउने वैधानिक माध्यम बन्दछ; जुन यो गम्भीर विषय हो ।

(५) प्रतिशोधी मतदाताः वस्तुतः हाम्रो समाजको मुलभूत चरित्र अन्तरविरोधपूर्ण रहेको छ । यस्तो समाजमा स्वार्थहरू असाध्यै बढी टकराउँदछ । सम्पूर्ण सामाजिक आयामहरूमा अस्वस्थ प्रतिष्पर्धासँगै बदलाभाव तीव्र हुन्छ । यस्तो अर्थराजनीतिक परिवेशमा प्रतिशोधी मतदाताहरू पनि उल्लेख्य सङ्ख्यामा हुन्छन् । एउटा उम्मेदवारलाई प्रतिशोध लिन अर्को उम्मेदवारलाई मतदान गर्छन् । यसलाई प्रतिशोधी मतदाता भनिन्छ । असाध्यै सानातिना कारण वा वाहनामा उनीहरू बदलाभाव राख्न पुग्दछन् । उनीहरूलाई सिद्धान्त, एजेन्डा, ठीक, बेठिक अनि राम्रो नराम्रोसँग कुनै सरोकार हुँदैन । कुनै अमूक उम्मेदवारलाई हराउन अर्को गलत उम्मेदवारलाई भोट हाल्छन् । यस्तो मतदानको प्रक्रियाबाट पनि समाजले अग्रगामी निकास पाइहाल्ने सम्भावना रहँदैन जुन निकै विचारणीय पक्ष हो ।

(६) आश्रित मतदाताः वर्ग समाजमा सानातिनै स्वार्थमा पनि मानिसहरू एकआपसमा आश्रित हुन वाध्य हुन्छन् । आश्रित हुनु रहरको विषय भने पटक्कै होइन । वर्गअन्तरविरोधपूर्ण समाजमा गरिबहरू धनीसँग, अशिक्षितहरू शिक्षितसँग, असभ्यहरू सभ्यसँग, सोझाहरू टाठाबाठासँग आश्रित हुन्छन् अर्थात् समाजका ठालुहरूसँग बहुसङ्ख्यक साधारण जनताहरू आश्रित हुन्छन् । यस अतिरिक्त घरपविार, छिमेकी र नाता सम्बन्धको सदस्यहरूमा पनि आश्रित हुन्छन् । यस्ता आश्रित जनताले आप्mनो कुनै पनि अधिकारहरू स्वतन्त्र किसिमले अभिव्यक्त गर्न सक्दैन । तसर्थ अरूले जहाँ भन्यो; त्यही मतदान गर्ने मतदाताहरूलाई आश्रित मतदाता भनिन्छ । आश्रित मतदाता बढी हुनु जुनसुकै कोणबाट मूल्याङ्कन गर्दा पनि गलत हुन्छ । किनकि यही खाले मतदाताको कारण कहिलेकाहीँ राजनीति गलत पार्टी वा व्यक्तिको हातमा जानसक्छ; जुन संवेदनशील कुरा हो ।

(७) प्रायोजित मतदाताः यो क्याटगोरीको जनतामा पनि सिद्धान्त र एजेन्डा गौण हुन्छ । सही र गलत हिसाब किताब हुँदैन । भ्रष्ट र फटाह उम्मेदवार भए पनि काम गरिदिने स्वार्थमा सफाइ स्वरूप चुनावमा भोट दिएर जिताउछन् । खानेपानी, अस्पताल, विद्यालय, ढल, पुल, सडक, जागीर जस्ता मागहरू पूरा गरेऊ भने भोट दिन्छौं भनेर सर्त राख्छन् । विवादित जग्गा मिलाई दिए; आपराधिक कर्ममा जेल परेको आफन्त छुटाइदिए; लेनदेन सल्टाइदिए भोट हाल्छौंं भनेर वाचा कसम खान्छन् अर्थात् उनीहरूको माग पूरा गर्ने सर्तमा मत प्रायोजन गर्छन् । यस्तो जनतालाई प्रायोजित मतदाता भनिन्छ । पछिल्लो समय यो क्रम बढ्दो छ । वस्तुतः यस्तो मतदानको प्रक्रियाले पनि आदर्श, मूल्य र निष्ठाको राजनैतिक संस्कृति निर्माण गर्दैन । उम्मेदवारहरूलाई जसरी पनि चुनाव जित्ने नाममा आपराधिक वा गैरकानुनी सर्त पनि पूरा गर्न विवश पारिन्छ  । तब समाजमा संस्थागत भ्रष्टाचार, दलाली र अपराधीकरण बढ्दछ जुन असाध्यै गम्भीर कुरा हो ।

(८) बिकाउ मतदाताः समाजमा जति गरिबीसँगै राजनीतिक चेतना न्यून हुन्छ त्यतिनै बिकाउ मतदाता वढी हुन्छ । यो सार्वभौम नियम हो । जसरी पनि चुनाव जित्ने स्वार्थमा उनीहरूलाई विभिन्न प्रलोभनहरूमार्फत् ब्ल्याकमेलिङ गरिन्छ । यस्ता मतदातालाई पार्टी वा उम्मेदवारले वोकेको सिद्धान्त, एजेन्डा र आदर्शसँग कुनै सरोकार हुँदैन । उनीहरूलाई जसले आर्थिक, भौतिक लगायत खाना, दाना र नाना सहयोग गर्छ सोही पार्टी वा उम्मेदवारलाई मतदान गर्दछ । यस्तो जनतालाई बिकाउ मतदाता भनिन्छ । विकृत र खर्चालु चुनावी प्रक्रियासँगै सिद्धान्त र एजेन्डाहरु ओझेल परिरहेको कटु धरातलमा वस्तुतः बिकाउ मतदाताहरू हाबी हुनु स्वभाविकै हुन्छ । विकाउ मतदाता बढ्नु भनेको सैद्धान्तिक मूल्यको राजनीति कमजोर हुनु हो । यसले राजनीतिक समाजलाई झनै अस्थीर र भद्रगोल बनाइदिन्छ; जसलाई चानचुन विषय ठान्नु हुँदैन ।

वस्तुतः नेपाली अर्थराजनीतिमा उम्मेदवारले मत माग्ने तरिका र मतदाताहरूले मत अभिव्यक्त गर्ने गलत शैली मौलाइरहेको छर्लङ्गै छ अर्थात् पार्टी वा उम्मेदवारले मत खसाल्नका लागि साम, दाम, दण्ड र भेद जस्ता सबैखाले अस्त्रहरू प्रयोग गर्नेक्रम बढ्दो छ । सिद्धान्त र एजेन्डाको बहस हुँदैन । यही गलत रवैयाको कारण आज मतदाताहरूमा पनि विचार र राजनीतिभन्दा पनि अन्य प्राविधिक कारण वा स्वार्थमा मतदान गर्ने परम्परा झाँगिरहेको छ ।

सैद्धान्तिक र एजेन्डागतभन्दा पनि परम्परागत, प्रतिशोधी, आश्रित, प्रायोजित र बिकाउ मतदाताहरू निर्णायक बन्दै गइरहेको छ । यही प्रवृित्तले सिङ्गो राजनीतिलाई कमान्ड गर्ने खतरा देखिन्छ; जुन सर्वाधिक दुःखद् र विडम्वनाको कुरा हो । तसर्थ मतदाताहरूको वस्तुवादी ढङ्गले पहिचान गरौं । सिद्धान्त, एजेन्डा र मूल्यमा मतदान गर्न प्रशिक्षित गर्दै प्रोत्साहित गरौं । प्राविधिक र औसत मतदानलाई गलत दर्ज गर्दै निरुत्साहित गरौं । होइन भने विद्यमान विकृत चुनावी मतदानको प्रक्रियाले गलत पार्टीको पोल्टामा राजनैतिक बागडोर जानेछ; जसले निकास होइन; झनै समस्या निम्त्याउने देखिन्छ । समाज अगाडि होइन पुस्तौं पछाडि धकेलिने छ । सबैलाई चेतना होस् ।