सुनसरी । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा सुनसरी हुँदै ४ अर्बभन्दा बढीको विभिन्न सामान आयात भएको छ । तर, यही अवधिमा निर्यात भने शून्य छ ।
सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ सालको फागुन मसान्तसम्मको अवधिमा ४ अर्ब ५४ करोड ८२ लाख १४ हजार बराबरका प्रमुख १५ वटा वस्तुहरू आयात भएको छ । त्यसमध्ये सबैभन्दा धान, चामल प्याज, कागती, भुसको आयात बढी छ ।
सुनसरी हुँदै आर्थिक वर्ष २०७७/०७८ सालमा १८ करोड ८९ लाख ६८ हजार मूल्य बराबरको चामल आयात भएकोमा चालु आर्थिक वर्षको आठ महिनामा मात्रै ३३ करोड १८ लाख ७५ हजार बराबरको चामल आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ६४ दशमलव ६५ प्रतिशत बढी हो ।
यसैगरी अघिल्लो आर्थिक वर्षमा २६ करोड ९ लाख ३४ हजार बराबरको प्याज आयात भएकोमा चालु आर्थिक वर्षको हालसम्म ४७ करोड १७ लाख ६९ हजार बराबरको प्याज आयात भएको सुनसरी भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा प्याजको आयात ७९ दशमलव ७४ प्रतिशतले बढी हो ।
त्यसैगरी आर्थिक वर्ष २०७७÷०७८ सालमा ६८ करोड ६० लाख ७८ हजार बराबरको आलु आयात भएकोमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ८५ करोड १४ लाख १५ हजार बराबरको आलु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४ दशमलव ०५ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा ४२ करोड २९ लाख २२ हजार बराबरको मकै आयात भएकोमा चालु आर्थिक वर्षको हालसम्म ४६ करोड ९१ लाख १७ हजार बराबरको मकै आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० दशमलव ९८ प्रतिशतले बढी हो ।
त्यसैगरी अघिल्लो आर्थिक वर्षमा ३ करोड ३७ लाख ४६ हजार बराबरको भुस आयात भएकोमा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा १३ करोड ८३ लाख ८४ हजार बराबरको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३ सय ५ दशमलव ३४ प्रतिशतले बढी हो ।
यस्तै आर्थिक वर्ष २०७७/०७८ सालमा १ करोड ८५ लाख ९२ हजार बराबरको कागती सुनसरी हुँदै नेपाल भित्रिएकोमा चालु आर्थिक वर्षको आठ महिनामा ७ करोड ५४ लाख १६ हजारको आयात भएको पाइएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३ सय ५ दशमलव ६४ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा आलु, प्याज, चामल, भुस, कागतीको आयात बढे पनि ताजा हरियो तरकारी, काँचो केरा, सुती सारी, लुङ्गी धोतीको आयातमा भने कमी आएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।
६० करोड ४५ लाख राजस्व असुली
सुनसरी भन्सार कार्यालयले आठ महिनाको अवधिमा लक्ष्यभन्दा लगभग ६ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
सो कार्यालयले चालु आर्थिक वर्षमा ५३ करोड ७६ लाख ४३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा आठ महिनाको अवधिमा ६० करोड ४५ लाख ४२ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।
कृषिजन्य उत्पादनमा कमी आउँदा कुनै बेला नेपालबाट भारत निर्यात हुने चामल र गहुँ अहिले भारतबाट करोडौंको चामल र गहुँ आयात हुने गरेको छ । आयात बढे पनि निर्यात भने शून्य रहेकोे तथ्याङ्कले देखाएको छ ।
सुनसरी भन्सार कार्यालयबाट भारततर्फ कुनै पनि निकासी नभएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजका भन्सार अधिकृत पर्शुराम दाहालले जानकारी दिए । उत्पादनमा कमी आउनु, व्यावसायिक उत्पादन नहुनु जस्ता कारणले निर्यातभन्दा आयात बढेको उनको भनाइ छ ।
भारत बिहार राज्यको फार्बिसगञ्जस्थित मिरगञ्ज पुल मर्मत गर्नुपर्ने भएकोले पछिल्लो केही समययता वैकल्पिक बाटोका रूपमा भण्टाबारी भीमनगर नाका प्रयोग गरिएको हुँदा सुनसरी भन्सारको राजस्व सङ्कलन बढेको हो । सुनसरीको भण्टाबारीस्थित तीनकुने नाका हुँदै दैनिक सयौं भारतीय मालवाहक गाडी भित्रिने गरेका छन् ।