धनकुटा । धनकुटा नगरपालिका–३ पात्ले तामाङ टोलका लाखमान घिसिङ उमेरले ५२ वर्ष पुगे । उनको दैनिकी कृषि पेशामा बित्छ । कुनै समय कृषि प्राविधिक भएर देशका विभिन्न ठाउँ पुगेका उनी पछिल्लो समय भने आफ्नै गाउँ फर्किएर कृषि पेशामा सक्रिय छन् । उनको परिवार कृषिमै लागेर अरूका लागि पनि उदाहरण बनेको छ ।
धनकुटा वहुमुखी क्याम्पसमा मानविकी सङ्कायमा डिप्लोमासम्म पढेका उनी त्यसपछि उत्तरपानी प्राविधिक शिक्षालय धनकुटामा १ वर्षे जेटिए पढ्न गए । त्यहाँ १ वर्षे जुनियर टेक्निकल असिष्टेण्टको पढाइ भर्खरै सकेको बेला उनलाई संयुक्त राष्ट्रसङ्घको प्रत्यक्ष्य लगानीमा सञ्चालन भइरहेको परियोजना सप्रोस नेपालले शिक्षालयमै आएर उनीसहित ३ जनालाई सिनियर फिल्ड सुपरभाइजरको लागि छनौट गरेर लग्यो ।
उनीसहित तीन जनालाई छनौट गरेर लगे पनि सप्रोस नेपालले सिनियर फिल्ड सुपरभाइजर पदमा काम गर्नको लागि लाखमान घिसिङलाई मात्र छनौट गर्यो । उनी त्यस संस्थामा आबद्ध भएर नेपालको सुदूर पश्चिम जुम्ला, हुम्ला, मुगु, बाजुरा, बझाङ, चितवन, धादिङलगायत स्थानमा १८ वर्षसम्म कृषि प्राविधिक भएर सेवा गरे ।
त्यसबेला उनले आधुनिक कृषि प्रविधिसम्बन्धी त्यहाँका स्थानीय किसानहरूलाई कृषि ज्ञान दिने, योजना बनाउने, कार्यान्वयन कसरी गर्ने भनेर सीप सिकाउने, योजना अनुगमन तथा मूल्याङ्कन गर्नेलगायतका प्राविधिक काम गरे । वि.सं.२०५६ सालमा कृषि प्राविधिकको रूपमा सप्रोस नेपालले छनौट गरेर सुरुमा ७ हजार ५ सय रुपैयाँ तलब पाएका थिए । ७ हजार ५ सय मासिक तलबबाट सेवामा छिरेका लाखमानले सप्रोस नेपालमा १८ वर्ष जागिर खाएर वि.सं.२०६९ सालमा जागिर छाड्दा उनको मासिक तलब ३२ हजार थियो ।
तर, पनि उनले मासिक रूपमा आउने ३२ हजार तलबको मतलव राखेनन् । लाखमान हुँदा खाँदाको प्रोजेक्टको जागिर छोडेर सुदूर पश्चिम नेपालबाट आफ्नै घर धनकुटा फर्किए । १८ वर्ष लामो प्रोजेक्टको जागिर खाँदा उनले करिब ६० लाखभन्दा बढी कमाइसकेका थिए । अब उनलाई यो पैसा के मा खर्च गर्ने र कसरी सदुपयोग गर्ने भन्ने थियो ।
उनले घर फर्किएपछि वि.सं.२०६९ सालमा क्रिएटिभ एग्रो फर्म नाम गरेको संस्था घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय धनकुटामा दर्ता गरे । संस्था त दर्ता गरे, अब सुरुमा के व्यवसाय गर्ने ? भन्ने प्रश्न उनको मनमा उब्जियो । जागिर छोड्दा उनको उमेर ३५–३६ वर्ष पुगेको थियो । उनलाई सुरुमा गाईपालन गर्ने जोस चल्यो ।
३० लाख रुपैयाँ लगानी गरेर १० वटा उन्नत जातको गाई खरिद गरेर ल्याए । उन्नत जातको १० वटा गाईलाई गोठ बनाएर व्यावसायिक रूपमा गाईपालन व्यवसाय सुरु गरे । केही समय गाईपालन व्यवसाय गरे, तर उनले उचित ढङ्गले गाईपालन व्यवसायलाई व्यवस्थापन गर्न सकेनन् । ३० लाख लगानी गरेर सुरु गरेको गाईपालन व्यवसाय भनेजस्तो नफस्टाएपछि लाखमानलाई झण्डै लगानीको २० लाख रुपैयाँ घाटा लाग्यो । बाँकी १० लाख भने गाई बिक्रीबाट उकासेको उनी बताउँछन् ।
गाईपालन व्यवसायबाट २० लाख रुपैयाँ घाटा लागेपछि आफूसँग भएको ४० रोपनी जग्गामा अलैंची खेती गर्ने सोच उनले बनाए । उन्नत जातको अलैंचीको बिरुवा खरिद गरेर आफ्नो ४० रोपनी बारीमा अलैंची खेती विस्तार गरे । अलैंची व्यवसाय थालेको ५–६ वर्षपछि आफ्नो बारीमा ६० देखि ७० मनसम्म अलैंची फल्न थाल्यो ।
अलैंची खेतीमा ५ देखि ७ लाख रुपैयाँ लगानी गरेर वार्षिक रूपमा १० लाख जति आम्दानी गर्न थाले । अलैंची हुर्कंदै थियो, राम्रोसँग फल पनि दिँदै थियो तर, केही समयपछि अलैंैचीमा रोग लागेर सबै सखाप भएर गयो । रोगबाट बचाउन सकिन्छ कि भनेर पाख्रीबास कृषि अनुसन्धान केन्द्र र खुमल्टारसम्म अलैंचीमा लाग्ने रोग निराकरणको लागि अनुसन्धान गर्दा पनि पत्ता लाग्न सकेन । रोग लागेरै अलैंची सबै मरे । तर, पनि अलैंचीले त्यति धेरै घाटा नलगाएको ५ देखि ७ लाख लगानी गरेर १० लाखसम्म आम्दानी भएको लाखमानले बताए । उनले आफ्नो बारीमा लगाएको अलैंची सबै सुकेर गएपछि उखेलेर फाले ।
गानो कुहिएर अलैंची मर्ने रोगले बारीका अलैंची सबै मासिए । अलैंची व्यवसायले पनि घाटा लगाएपछि आफ्नो ४० रोपनी बारीमा आधुनिक प्रजातिको घाँस लगाए । उनले नेपियर, सुपर नेपियर, सुम्बा, सेटिरिया, बदामे, अम्लिसोलगायत प्रजातिका घाँस लगाएर घाँसको व्यावसायिक खेती गर्न थाले । घाँसको बिरुवा बिक्रीबाट उनले एकै सालमा २८ लाखसम्मको आम्दानी गरेको उनी बताउँछन् ।
उनले उत्पादन गरेका विभिन्न प्रजातिका घाँसको बिउ इलाम, सङ्खुवासभा, भोजपुर, धनकुटाको विभिन्न पहाडी गाउँबस्तीहरू र व्यक्तिगत रूपमा खरिद गरेर लगेको बताए । त्यसका साथै जिल्ला जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले पनि धेरै जिल्लामा घाँसको बिउ खरिद गरेर लगेकाले घाँसको बिउ बिक्रीबाट राम्रै आम्दानी भएको लाखमान बताउँछन् । अहिले उनीसँग २ माउ गाई र २ वटा बाछा–बाछी मात्र छन् । दुईवटा गाईको लागि स्याहार्ने काम उनकी श्रीमती सानुमाया घिसिङ र २ छोराछोरीहरूले गर्ने गरेका छन् ।
आफ्नै परिवारसँग रमाउँछु भनेर १८ वर्ष लामो जागिरे जीवन त्यागेपछि पनि लाखमानको जीवन सङ्घर्षमा निक्कै ठूला चुनौतीहरू आए पनि सामना गर्दै अघि बढी नै रहे । उनलाई जस्तोसुकै आपतविपत परेको बेला साथ दिने उनको जीवन सङ्गीनी सानुमाया घिसिङले साथ दिइन् । आफ्नो श्रीमान् लाखमानलाई आइपर्ने हरेक चुनौतीको सामना गर्न आफूले जहिले पनि साथ दिँदै आएको सानुमाया बताउँछिन् ।
गाईपालन व्यवसाय र अलैंची व्यवसायबाट घाटा लागे पनि हरेश नखाएका लाखमान पछिल्लो समयमा वेमौसमी तरकारी खेतीमा लागेका छन् । शुरुमा १ लाख, ५० हजार आफ्नै लगानीमा स्थानिय श्रोत साधनबाट बाँसको प्रयोग गरेर अग्र्यानिक तरकारी उत्पादनका लागि ९ वटा टनेल निर्माण गरेर तरकारी व्यवसाय थालेका थिए । टनेलमा उनले रायो, गोलभेडा, अकबरे खुर्सानी, क्याप्सिकम (भेडे खुर्सानी) र घुस्सुवा तरकारी बालीहरु धनियाँ, मेथी, चम्सुर, गाँजर आदि लगाउने गरेका छन् ।
अत्याधुनिक टनेलमा उनले सबैभन्दा बढी मात्रामा पहाडे काँक्रा फलाएका छन् । एकै सिजनमा अघिल्लो वर्ष १० टन काँक्रा प्रति केजी कम्तीमा २५ देखी बेमौसममा ४० रुपैयाँसम्ममा विक्री गर्दा ५ लाख कमाई गरेको कृषि उद्यमी लाखमानले बताए । त्यसैगरी रायो साग बेमौसममा ५० रुपैयाँसम्ममा बिक्छ भने सिजनमा १५ देखि २० रुपैयाँसम्ममा प्रतिमुठा बिक्री हुने गरेको छ । उनले अघिल्लो वर्ष ४ हजार मुठा रायो साग बेचेर १ लाख ६० हजारभन्दा बढी कमाएको बताए ।
त्यसैगरी गोलभेडा टनेलभित्रको ५ सय बोटको फल ५ टन प्रतिकेजी ६० रुपैयाँले बिक्री गर्दा ३ लाख, अकबरे खुर्सानी ५ सय केजी प्रतिकेजी ३ सय ५० ले जम्मा १ लाख ७५ हजार, भेडे खुर्सानी ३ सय केजी प्रतिकेजी १ सय रुपैयाँले ३० हजार, घुस्सुवा तरकारीहरू ३ लाख, सिमी÷बोडीको ३२ हजार अन्य स्ट्राबेरी, आलु, काउली, बन्दा, मुला, मटर कोसा आदी गरेर वर्षमा १० लाख भन्दावढी तरकारी खेतीबाट आम्दानी गरिरहेका छन् ।
बारीको काम प्रायः परिवारले नै गर्ने गरेको र औषधी उपचार, मलजल आदीको लागी वार्षिक खर्च २ लाख ५० हजारसम्म खर्च हुने गरेको छ । खर्च कटाएर १० लाखभन्दा बढीको आम्दानी हुने कृषि उद्यमी घिसिङले बताए । आ.व.०७७÷०७८ मा धनकुटा नगरपालिकाको सिफारिसमा कृषि विकास निर्देशनालय १ नम्वर प्रदेश विराटनगरले नमुना कृषि फर्म स्थापना सहयोग कार्यक्रम अन्तर्गत १४ लाख, ७९ हजार, २ सय २५ रुपैयाँ र आफ्नो संस्थागत सहभागिता अन्तर्गत ५ लाख २५ हजार ३ सय ९५ रुपैयाँ गरी जम्मा २० लाख ४ हजार ६ सय २० रुपयाँको लागतमा ५ वटा अत्याधुनिक ग्रिनहाउस निर्माण भए पछि थप सहज भएको छ ।
ग्रिनहाउसभित्र उत्पादन हुने कृषिउपजका तरकारी बालीहरूले अग्र्यानिक र स्वास्थ्यबद्र्धक हुने भएकाले टाढाबाट घरैमा आएर थोक बिक्रेता तथा उपभोक्ताहरूले खरिद गरेर लाने गरेको लाखमानले बताएका छन् । उनको अहिले प्रदेश नं.१ को कृषि विकास निर्देशनालयको सहयोगमा अत्याधुनिक ६ वाई २५ मि.को २ वटा, ६ वाई २८ मि.को २ वटा र २ वाई १६ मि.को १ वटा गरी जम्मा ५ वटा ग्रिनहाउस निर्माण भएको छ ।