धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा कृषि शाखालाई जानकारी नदिई कृषिसम्बन्धी कार्यक्रम गरेको पाइएको छ ।

प्रदेशबाट कफी खेतीका लागि आएको १ करोड र नगरपालिकाबाट ३० लाख गरी कुल १ करोड ३० लाख रुपैयाँ बजेट बराबरको कामबारे कृषि शाखालाई कुनै अत्तोपत्तो नदिई काम गरेको हो । जसले गर्दा अहिले उक्त कामबारे कृषि शाखासँग कुनै पनि प्रतिवेदन तथा कार्यक्रमको रिपोर्ट छैन ।

यता प्रदेश १ सरकारले भने कृषि शाखालाई बजेटको कामबारे प्रतिवेदन पठाउनका लागि भनेको छ । नगरमा आर्थिक वर्ष २०७६/०७७ देखि चालु आर्थिक वर्षको यो अवधिसम्म कफी खेतीका लागि बजेट विनियोजन भएको थियो । बजेट विनियोजन भए पनि उक्त काम आर्थिक विकास शाखामार्फत् गरिएको थियो । जसका कारण आफूहरूसँग कुनै पनि प्रतिवेदन र रिपोर्ट नभएको कृषि प्राविधिक अमर राईले बताए ।

कफी खेती प्रवद्र्धन गर्न बजेट विनियोजन र सम्पन्न भएपश्चात् अहिले कृषि तथा कफी शाखा भनेर बोर्ड राखेपछि कृषि शाखामा कार्यरत कर्मचारीहरू जवाफ दिँदा दिँदा हैरान भएका छन् । कृषकहरूले त्यस विषयमा आफूलाई सूचना चाहियो भन्दै दैनिक आउने गरेका कारण आफूहरू हैरान हुने गरेको प्राविधिक राईले बताए ।

बोर्ड राखिएपछि भने किसानहरू दैनिक आएर कफीको बारेमा सोधपुछ गर्न थालेका छन् । पाख्रीबास नगरपालिका ४ नम्बर वडाका कृषि तथा पशु फर्मका सञ्चालक दुर्गा निरौलले आफूहरूले कफी खेतीको बारेमा बुझ्न जाँदा केही  पनि सूचना नपाएको बताए । ‘बोर्ड टाँगिएको छ, तर केही जानकारी दिएका होइनन्’ उनले भने, ‘त्यहाँ कार्यरत कर्मचारीले नै कफी खेतीबारे जानकारी छैन भनेपछि हामीकहाँ जानकारी लिन जाने भन्ने अन्यौलता छाएको छ ।’

कृषि तथा कफी शाखामा पाँचौं तहकी इन्द्रमाया तामाङ, चन्द्र आले मगर र अमर राई कार्यरत छन् । कफी विकास कार्यक्रमबारेमा नगर कार्यपालिकाले कृषि÷कफी विकास शाखामा कार्यरत कर्मचारीलाई लिखित रूपमा कुनै पनि जानकारी नदिएको उनीहरूले बताए । कृषि तथा कफी शाखामा कार्यरत कृषि प्राविधिक अमर राईले आफूलाई कफी विस्तार परियोजनाको सम्पर्क व्यक्ति भनिए पनि जिम्मेवारीको हिसाबले लिखित रूपमा केही जानकारी कार्यपालिकाबाट नपाएको बताए ।

उनले नगरपालिकाले आ.व. ०७८/७९ मा नमुना कफी विस्तार कार्यक्रमको लागि विनियोजन गरेको २० लाखमध्येबाट १० लाखको ५ हजार कफीको बिरुवा रोप्ने कार्यमा भने आफू स्रोतव्यक्तिको हैसियतले सहभागी भएको बताए । उनले नगरपालिकाले ७ वर्षको लागि कफीको बिरुवा रोप्न ६० रोपनी जग्गा लिजमा लिएर ५ हजार कफीको बिरुवा रोप्ने कार्य सम्पन्न गरेको बताए ।

उनले अघिल्लो वर्ष आ.व.०७७/७८ मा १० लाख रुपैयाँ खर्चेर नगरपालिकाले १ लाख ५० हजारभन्दा बढी कफीको बिरुवाको लागि नर्सरी बनाएको छ । कृषि शाखामा कार्यरत प्राविधिक इन्द्रमाया तामाङले नगरकार्यपालिकाले आ.व.०७७/७८ मा १० लाख, आ.व.०७८/७९ मा १ करोड २० लाख गरी जम्मा १ करोड ३० लाखको कफी विस्तार आयोजना सञ्चालन गरी रहँदा कृषि शाखालाई लिखित जानकारी नदिएको आरोप लगाइन् ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १ करोड र नगरपालिकाले २० लाखको कफी विस्तार कार्यक्रम सञ्चालन गर्दा कृषि शाखासँग समन्वय नगरी गैह्रसरकारी संस्थालाई कार्यक्रम दिएको आरोप तामाङले लगाइन् । उनले आफूसँग रहेको कृषि प्राविधिक र साधन स्रोतलाई उपयोग नगरी बाहिरको एनजिओलाई काम दिएर राज्यले गरेको लगानीको समेत नगरपालिकाले दुरुपयोग गरेको आरोप लगाइन् ।  

पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिकबहादुर राईले नगर क्षेत्रका किसानहरूको लागि जनप्रतिनिधिहरूले कार्यक्रम बनाउनु पर्ने बताउँदै भने, ‘त्यही भएर होला कफी विस्तार परियोजनाको बारेमा कृषि शाखाका कर्मचारीहरूलाई सबैकुरा थाहा भएन ।’ निजी संस्था तेखिमे कृषि फर्म धनकुटा–१ हिलेका सञ्चालक एवम् कृषि अभियन्ता जीवनकुमार राईलाई कामको जिम्मेवारी दिएको प्रशासकीय अधिकृत राईले बताए ।

उनले निजी फर्ममार्फत् पाख्रीबास नगरपालिकाको १० वटै वडाबाट ४ जनाको दरले बोलाएर ४० जना कृषकलाई कफी खेतीको बारेमा जानकारी दिएको बताए । उनले पाख्रीबास नगरपालिकामा कफी विकास कार्यक्रमको लागि हालसम्म प्रदेश सरकारको सशर्त अनुदान रहेको १ करोड र नगरपालिकाको आन्तरिक स्रोतबाट ३० लाखको कार्यक्रम सञ्चालन भइरहेको बताए ।

जसमध्ये नमुना कफी खेतीको लागि ३० लाख र १ करोडको ठेक्कामार्फत् काम अघि बढाइएको छ । ठेक्कामार्फत् कफी प्रशोधन केन्द्र र स्थायी प्रकृतिको हाईटेक नर्सरी निर्माणको काम अघि बढिरहेको प्रशासकीय अधिकृत राईले बताए ।  पाख्रीबास नगरपालिकाका नगर प्रमुख विर्षबहादुर राईले आ.व.०७६/७७ देखि कृषिको कार्यक्रममा कफीलाई पाख्रीबास पकेट क्षेत्र घोषणा गरिएको बताए । राईले सोही कार्यक्रम अन्तर्गत हालसम्म ६० रोपनी जग्गामा कफी रोपी सकिएको बताए ।

१ लाख ५० हजार कफीका बिरुवा रहेको बताउँदै उनले भने, ‘कफीको बिरुवा खरिद गर्न कसैले चाहन्छन् भने ५ सयदेखि १ हजारसम्म बिरुवा लानेलाई प्रतिबिरुवा ८ रुपैयाँको दरले दिने गरिएको छ । ५ सयभन्दा कम बिरुवा लानेलाई प्रतिबोट २० रुपैयाँमा बिक्री गर्ने गरिएको छ ।’