धनकुटा । अघिल्ला वर्षहरूमा १० लाखको सुन्तला बेचेका सहिदभूमि गाउँपालिका वडा नं.४ खोकु बाहुनटोलका कृषक छत्रमान राई यतिबेला चिन्तित छन् । लगातार ३–४ वर्षयता रोगले सुन्तला बगान मासिएपछि चिन्तित देखिएका उनले यो वर्ष सुन्तला बिक्रीबाट ५ लाख मात्र कमाएको बताए । 

अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन कम भएपछि राईले मात्र होइन, बाहुनटोलका अधिकांश सुन्तला कृषकले राम्रोसँग आम्दामी लिन सकेनन् । अघिल्लो वर्ष १२ लाख बराबरको सुन्तला बेचेका अर्का कृषक शङ्करमान राईले यस पटक भने ७ लाख रुपैयाँको सुन्तला बेचे । त्यस्तै अर्का कृषक केहरमा राईले पनि यो वर्ष सुन्तला अघिल्लो वर्षको तुलनामा आधा घटी अर्थात् करिब ५ लाख रुपैयाँको मात्र बिक्री गरेको बताए । 

करिब २ सय वर्षअघिबाट सुन्तला खेती भित्रिएको अनुमान गरिएको सहिदभूमि गा.पा. वडा नं.४ बाहुनटोलका १८ घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । यहाँका प्रत्येक घरपरिवारले कम्तीमा १ लाख ५० हजार रुपैयाँदेखि १५ लाखसम्म आम्दानी गर्ने सोही गाउँका अगुवा कृषक छत्रमान राईले बताए । ‘गाउँमा सुन्तला बिक्रीबाट मात्रै १ करोड रुपैयाँ भित्रिन्छ’ उनले भने, ‘यहाँका प्रत्येक घरपरिवारले १ सय ५० देखि ४ सय बोटसम्म सुन्तला लगाएका छन् ।’

सो गाउँमा सबैभन्दा बढी सुन्तला फलाउने कृषक मनकुमार राई हुन् । उनले पनि जिजुबाजेको पालादेखि नै सुन्तला खेती गर्दै आएका छन् । हाल राईले १० रोपनी क्षेत्रफलमा सुन्तला लगाएका छन् । त्यस्तै अर्का कृषक छत्रमान राईले ८ रोपनी जग्गामा २ सय ५० बोट सुन्तला लगाएका छन् । मकै, कोदो फल्ने यहाँका खेतबारीमा अहिले लटरम्म सुन्तला त फलेका छन्, सुन्तलाको जरा कुहिने, रुख सुक्ने र सालैपिच्छे सुन्तलाको दाना सानो हुँदै जाने रोगले सताउँदा बाहुनटोलका सबै किसान चिन्तित भएका हुन् । 

सुन्तला खेती दिन प्रतिदिन फस्टाउँदै जानु पर्नेमा रोग लागेर उत्पादन घट्दै गएकाले कृषकहरूका लागि सुन्तला खेती राम्रो आयस्रोतको माध्यम भए पनि चिन्ताको विषय बनेको छ । लामो समयदेखि सुन्तला खेती गर्दै आएका शङ्करमानको अहिले ८ रोपनी क्षेत्रफल बारीमा करिब २ सय बोट सुन्तला रहेको छ । तर, हरेक वर्ष रुख मर्दै जाने र सुन्तलाको दाना किटिँदै जाने गरेकाले आम्दामी ह्वात्तै घट्दै गएको उनको गुनासो छ । उनी भन्छन्, ‘अबको १० वर्षपछि सुन्तला भन्ने फल खोकुमा पाइन्थ्यो रे भन्ने दन्त्यकथा हुनेछ ।’  

सुन्तलाबाट आएको आम्दानीले वर्षदिनको खर्च धान्ने गरेको अर्का सुन्तला कृषक केहरमान राईले बताए । उनले पनि ६ रोपनी क्षेत्रफल बारीमा सुन्तला लगाएका छन् । त्यस्तै अर्का कृषक शङ्करमान राईले पोहोर सालको तुलनामा कम सुन्तला फलेकाले झण्डै आधामात्र आम्दानी गरेको बताए । हाल धनकुटामा सुन्तला प्रतिकेजी १ सय ३० रुपैयाँले किनबेच हुँदै आएको छ । कृषकहरूले उत्पादन गरेको सुन्तला स्थानीय बजारसँगै धरानको कृषिबजारमा लगेर बिक्री गर्छन् ।  यहाँ सुन्तला खेती व्यावसायिक रूपमा भए पनि सुन्तला भण्डारका लागि चिस्यान केन्द्रको व्यवस्था नहुँदा कृषकहरूले बर्सेनि घाटा व्यहोर्ने गरेका छन् । चिस्यान केन्द्रको सुविधा भए बेमौसमी सिजनमा पनि सुन्तला बजारमा निकाल्न सकिने कृषकहरू बताउँछन् ।

रोग, किरा र बिचौलियाले समस्या

सुन्तला टिपेर बिक्री गर्नमा व्यस्त रहेका किसानलाई बजार, बिचौलिया, रोग किराले बर्सेनि समस्यामा पार्ने गरेका छन् । कहिले उपयुक्त मूल्य नपाउनु, कहिले बजार नपाउनु त कहिले रोग किराले बगान नै सखाप बनाइदिँदा कृषक समस्यामा पर्ने गरेका हुन् । रोग किराको समस्या समाधानको लागि सम्बन्धित निकायले चासो नै नदिने गरेको धनकुटा नगरपालिका–३ का कृषक रेशकुमार राईले गुनासो गरे । सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो ९० रुपैयाँदेखि १ सय २० रुपैयाँसम्म छ । कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कअनुसार जिल्लामा करिब ६ सय हेक्टर क्षेत्रफलबाट वार्षिक ५ हजार मेट्रिक टनभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । 

तर, धनकुटामा सुन्तलाको उत्पादन भने बर्सेनि घट्दै छ । बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । ‘पाँच–छ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहंँेलो हुने, भित्रभित्रै किरा पर्ने र बोट सुक्ने समस्या छ । यसको उपचार गर्नै सकिएन’–सहिदभूमि गाउँपालिका–५ का किसान अनन्त राईले भने । प्राविधिकले समेत समस्या पहिचान गर्न नसकेको उनले बताए । 

गतवर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका राईले आफ्नो बगैँचाबाट यस वर्ष १ लाख ५० हजार पनि आम्दानी नहुने बताए । जरामा रातो कमिला लागेपछि बोट नै मर्ने गरेको उनको भनाइ छ । सुन्तलाको बगान नै मासिन लागेपछि राईले नयाँ बगान नलगाउने बताए । सुन्तलाकै नामले परिचित सहिदभूमिको खोकुमा सुन्तला बगान मासिन थालेको छ । बर्सेनि एक करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी हुने खोकुमा यो वर्ष सुन्तलाको बोटै नरहने अवस्था आएको किसानहरू बताउँछन् । बोट नै सर्लङ्ग सुक्ने रोगले किसानलाई चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले यो वर्षको सुन्तलाको उत्पादनसम्बन्धी तथ्याङ्क सङ्कलन भई नसकेको जनाएको छ । केन्द्रकी प्रमुख पूर्णमाया गुरुङले फल झर्ने, बोट सुक्ने जस्ता रोगले सुन्तलाको उत्पादन बर्सेनि घट्दो रहेको बताइन् ।