यासोक । पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँका अगुवा किसान राजु खतिवडा पहिला ७ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्थे । सुन्तला बेचेर मनग्य आम्दानी पनि गर्दै आएका थिए । तर, अहिले ४ रोपनी क्षेत्रफलमा उनको सुन्तला बगान खुम्चिएको छ ।

क्रमशः पात रातो हुने, फल बोटबाटै झर्ने र बोट सुकेर मर्ने समस्याका कारण उनी निराश भएका छन । ‘सुन्तला खेती गरेको सुरु–सुरुमा ३ लाख ५० हजारसम्म आम्दानी हुन्थ्यो’ उनले भने, ‘ठूलो बगानमा लटरम्म सुन्तला पनि धेरै फल्थे तर, अहिले बगान सुक्दै जान थालेको छ ।’ आम्दानी पनि वार्षिक २ लाख मात्रै हुन थालेको उनले सुनाए ।

सोही वडाका अर्का सुन्तला कृषक भीमविक्रम सम्बाहाम्फेको पनि पीडा कम छैन । उनले सुख्खा मौसममा विभिन्न रोग र किराको प्रकोपका कारण बगान मासिँदै जान थालेपछि बगान जोगाउन अनेकौं उपाय अपनाउँदै आएका छन् । बगानभित्र प्लाष्टिक पोखरी निर्माण गरी सुन्तलामा सिंचाइ पनि गर्दै आएका छन् ।

‘बगानभित्र आलु र सागसब्जी खेती गर्न प्लाष्टिक पोखरीमा पानी जम्मा गरेको छु’ उनी भन्छन्, ‘जमिन ओसिलो भएको ठाउँमा राम्रो उत्पादन भएको छ । सुख्खा ठाउँमा बोट सुकेर मर्न थालेको छ ।’ यस्तो अवस्थामा कसैले केही सहयोग नगरेको उनको गुनासो छ ।

बगान बचाउन वैकल्पिक उपायको खोजी गर्दै आएका अगुवा किसान वीरेन्द्र सम्बाहाम्फे बगान बचाउन नसकेको गुनासो गर्छन् । उनको बगानमा पनि पात झर्ने र मर्ने समस्या छ । तमोर लिफ्ट खानेपानी योजनाको पानीले सिंचाइ गर्दै आएको उनको भनाइ छ ।

जिल्लाको सबैभन्दा बढी मिक्लाजुङ गाउँपालिका र कुम्मायक गाउँपालिकामा सुन्तला उत्पादन राम्रो हुने गरेको छ । त्यस्तै याङ्वरक गाउँपालिकाको नागी, थर्पु, फिदिम नगरपालिकाको नाङ्गिन, याङ्नामलगायत क्षेत्रमा सुन्तला बढी उत्पादन हुने गरेको छ ।

तर, सुन्तला उत्पादनको क्षेत्र विस्तार भए पनि उत्पादनमा वृद्धि हुन नसकेको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार गतवर्ष ७ हजार ६ सय ७५ टन सुन्तला उत्पादन भएको थियो । किसानले ६ सय ६९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेकोमा हाल बढाएर ६ सय ९१ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।

बर्सेनि किसानले सुन्तला उत्पादनको क्षेत्र बढाए पनि रोग, किराको प्रकोपका कारण उत्पादन घटेको भन्दै ज्ञान केन्द्रले विषादी वितरण गर्दै आएको विष्टले बताए ।