सुनसरी । सुनसरी भन्सार कार्यालय सेतुबन्धले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
सुनसरी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ५३ करोड ७६ लाख ४३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको पुस २८ गतेसम्म ३२ करोड २४ लाख ४१ हजार राजस्व सङ्कलन गरेको हो ।

जुन वार्षिक लक्ष्यको ५९ दशमलव ९७ प्रतिशत हो । सुनसरीको नाकाहुँदै भारतीय बजारबाट आलु, कोइला, प्याज, चामल, धान, भुस, गहुँ, कागती मकैलगायतका वस्तु बढी मात्रामा आयात भएको देखिन्छ ।

सुनसरी भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी आलु, कोइला, प्याज, चामल, धान र गहुँको आयात बढेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार साउनदेखि मङ्सिर महिनासम्म राजस्वको आधारमा आयात भएका प्रमुख १० वस्तुहरूमध्ये भारतबाट १२ करोड ८१ लाख ९४ हजार बराबरको आलु आयात भएको छ ।

जसबाट १ करोड ७९ लाख ४७ हजार राजस्व सङ्कलन गरिएको देखिन्छ भने ५ करोड ४९ लाख ६५ हजार मूल्य बराबरको धान आयात भएकोमा जसबाट २७ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले जानकारी गराएको छ ।

यस्तै चार करोड ६५ लाख ६७ हजार मूल्य बराबरको भुस आयात भएकोमा त्यसबाट २३ लाख ८९ हजार राजस्व सङ्कलन गरिएको छ भने दुई करोड ४५ लाख १८ हजार मूल्य बराबरको कोइला आयात भएकोमा त्यसबाट ४५ लाख ७३ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको देखिन्छ ।

त्यस्तै दुई करोड ६२ लाख ९१ हजार बराबरको प्याज आयात भएकोमा त्यसबाट ३६ लाख ८१ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको देखिन्छ भने दुई करोड ३६ लाख ७२ हजार मूल्य बराबरको चामल आयात भएकोमा त्यसबाट २८ लाख ९४ हजार राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी चार करोड ६५ लाख ६७ हजार बराबरको गहुँ आयात भएकोमा जसबाट २३ लाख ४२ हजार राजस्व सङ्कलन भएको छ । त्यस्तै एक करोड ६ लाख १४ हजार बराबरको कागती आयात भएकोमा जसबाट १४ लाख ८६ हजार राजस्व सङ्कलन गरिएको छ भने १ करोड ९४ लाख ६२ हजार बराबरको मकै आयात भएकोमा त्यसबाट नौ लाख ८२ हजार राजस्व सङ्कलन गरेको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा आलु, प्याज, चामल र मकैको आयात बढे पनि जिउँदो माछा, चामलको भुस्सा र फलफूलको आयातमा कमी आएको जनाइएको छ । कृषिजन्य उत्पादनमा कमी आउँदा कुनै बेला नेपालबाट भारत निर्यात हुने चामल र गहुँ अहिले भारतबाट करोडौंको आयात हुने गरेको पाइएको छ ।

सुनसरी भन्सार कार्यालयबाट आयात बढे पनि निर्यात भने शून्य रहेकोे तथ्याङ्कले देखाएको छ । सुनसरी भन्सार कार्यालयबाट भारततर्फ कुनै पनि निकासी नभएको सुनसरी भन्सार कार्यालय सेतुबन्धका प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपाने बताउँछन् ।

उत्पादनमा कमी आउनु, व्यावसायिक उत्पादन नहुनुजस्ता कारणले निर्यातभन्दा आयात बढेको बताउँदै उनले समयभन्दा पहिले राजस्व सङ्कलन गर्न आफूहरू कटिबद्ध भएर लागेको दाबी गरे ।

मिरगञ्जको पुल भास्सिएपछि उक्त बाटो हुँदै भारतबाट मालवाहक ठूला सवारीसाधन आउन नसक्ने भएकाले विराटनगर भन्सार कार्यालयसँग समन्वय गरेर सुनसरी भन्सार कार्यालयले भण्टाबारी नाकाबाट सहज रूपमा सवारीसाधन आवत–जावत गर्न सहजीकरण गरेको प्रमुख भन्सार अधिकृत न्यौपानेले जानकारी दिए ।