धनकुटा । धनकुटा–८ सान्ताङका अमर याक्खाको दैनिकी ड्रागन फल (सिउँडी फल) सँग जोडिएको चार वर्ष भएको छ । चौध वर्षअघि वैदेशिक रोजगारीअन्तर्गत साउदी अरबमा रहँदा त्यस फलबारे जान्ने अवसर पाएका थिए ।

त्यहाँको खेती देखेर मोहित बनेका अमरले नेपाल आएर सम्भावना खोजे । तर, सुरुवाती दिनमा यस फलको बिरुवा प्राप्त गर्न सकेनन् । चार वर्ष भयो । अहिले यही फलका कारण उनको चिनारी बदलिँदै छ । ड्रागन फलको व्यावसायिक खेतीबाट उनले परिचय बनाएका छन् । उनले यस खेतीबाट आम्दानी मात्रै लिएका छैनन्, मासिक २० हजार रुपैयाँ दिएर दुई जना कामदार पनि राख्न सफल छन् । उनले साढे तीन रोपनी जग्गामा चार सयवटा बिरुवा लगाएका थिए । अहिले उनले १२ रोपनी क्षेत्रफलमा खेती विस्तार गरेका छन् । ‘खेती गर्ने योजना पहिलेदेखिकै थियो, तर सुरुमा बिरुवा पाउन सकिनँ’–अमरले भने ।

कृषि अभियन्ता जीवन राईले ड्रागन फलको कार्यक्रम ल्याएपछि उनको सपना पूरा भएको हो । याक्खाले अभियन्ता राईमार्फत् काभ्रे जिल्लाबाट ड्रागनको ३ सयवटा बिरुवा लिएर आए । त्यसपश्चात् पहेँलो जातको भारतको मद्रास र रातो जातको माल्टाबाट मगाएर नर्सरी लगाए । अन्यत्रबाट बिरुवा ल्याई खेती गरेका उनी अहिले भने बिरुवा बेच्ने बनेका छन् । उनले प्रतिगोटा २ सय रुपैयाँमा बिरुवा बिक्री गर्ने गरेको सुनाए । हाल उनीसँग चार जातको ड्रागन छ । उनका अनुसार ड्रागनका २० प्रजाति हुन्छन् । उनी थप ९ रोपनीमा बिरुवा लगाउने तयारीमा छन् । सुरुमा लगाएको तीन रोपनी जग्गाबाट दुई वर्षदेखि फल दिन थालेको छ ।

अघिल्लो वर्ष २ क्वीन्टल ७५ केजी र यो वर्ष ५ क्वीन्टल ५५ केजी ड्रागन फल उत्पादन भएको उनी सुनाउँछन् । अघिल्लो वर्ष प्रतिकेजी १ हजारले बिक्री गरेका थिए भने यस वर्ष प्रतिकेजी ८ सय रुपैयाँले बिक्री गरे । उत्पादन भए पनि मागअनुसार धान्न नसकेको उनले बताए । बगानमै धरान, विराटनगर र धनकुटा जिल्लाबाट ग्राहक आउने बताए । आगामी वर्ष १० क्वीन्टलभन्दा बढी फल्ने अनुमान गरेका छन् ।

ddd11

सुख्खा जमिनमै खेती गर्न सकिने
हुनाले कम खर्च र कम मेहनतमै ड्रागन फलको खेती गर्न सकिने उनले बताए । फुलेको फूल ग्रीन टी बनाएर खान मिल्छ भने कोपिलाको तरकारी खान हुने जिल्लाकै अगुवा कृषक याक्खाको भनाइ छ । फूल फुलेको करिब ४० दिनमा फल पाकेर खानयोग्य हुन्छ । ड्रागन फल खेती सम्भाव्यताबारे पुस्तकसमेत लेखिसकेका धनकुटाका कृषि अभियन्ता जीवनकुमार राईका अनुसार यो फल मेक्सिकोको रैथाने फल हो । क्याक्टस प्रजातिको यो फल रुखोपाखो बारीमा समेत राम्रोसँगले खेती गर्न सकिन्छ ।

यसमा १४ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छन् । यसमा क्यान्सर प्रतिरोधात्मक धेरै गुण भएको हुँदा यसको नियमित सेवनले मानिसमा क्यान्सर लाग्न दिँदैन । पछिल्लो समय यो फलको महŒव ज्यादै बढेर गएको छ । यसको खेती बारीमा तथा गमला दुवैमा उत्तिकै गर्न सकिने कृषि अभियन्ता राईले बताए । ड्रागन फलको बिरुवा रोपेको ३ वर्षदेखि फल दिन थाल्छ भने एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिने अभियन्ता राईको भनाइ छ । यो फल नेपालमा झण्डै १५ वर्षअघि भित्रिएको हो । नेपालमा सर्वप्रथम डा. जगन्नाथ राईले ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा यसलाई भित्र्याएका थिए ।

d1d1d1

धनकुटामा ड्रागन फलको सम्भावना
दिदी कान्तीमाया राईको नाममा उनले यस वर्ष याक्खा कृषि फर्म प्रा.लि. दर्ता गरेका छन् । उनी १८ लाखभन्दा बढी लगानी गरिसकेको सुनाउँछन् । पाँच वर्षभित्रमा लिजमा थप जग्गा लिएरै भए पनि पाँच हजार बिरुवा रोप्ने लक्ष्य रहेको उनले सुनाए । पाँच हजार बिरुवाबाट बर्सेनि १ लाख केजी फल फलाउने अनुमान गरेका छन् ।

४ वर्षअघि धनकुटा नगरपालिका–८ अन्तर्गत साङ्ताङ, चुलीवन, टेकुनाला, याक्तेलगायत क्षेत्रमा मेयर कृषि पर्यटन कार्यक्रममार्फत् समूह गठन गरेर ड्रागन खेती थालेका थिए । यस क्षेत्रलाई ड्रागन फलको स्रोत केन्द्रको रूपमा विकास गर्ने लक्ष्यको साथ यो कार्यक्रम अघि बढाएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । नगर क्षेत्रका २ सयभन्दा बढी परिवार ड्रागन खेतीमा संलग्न रहेको प्रमुख तामाङले बताए ।

हालसम्म नगरपालिकाले सुरुमा ड्रागन खेतीको लागि समूह गठन, बिरुवा खरिद, नर्सरी व्यवस्थापन, वितरण र प्राविधिक ज्ञान, सीपको लागि किसानहरूलाई तालिम दिएको छ । जसका लागि धनकुटा नगरपालिकाले ६ लाखभन्दा बढी लगानी गरिसकेको आर्थिक विकास शाखाका प्रमुख विकास अधिकारीले बताए ।

धनकुटा नगरपालिका क्षेत्रको टेकुनाला, चुलीवन, साङ्ताङ, याक्तेलगायतका क्षेत्रमा ६ वटा कृषक समूह निर्माण गरिएको छ । कुसेटारका देवीबहादुर नेम्वाङले पनि २ वर्ष अघिदेखि व्यावसायिक रूपमा आफ्नै बारीमा ड्रागन खेती सुरु गरेका छन् । त्यस्तै धनकुटाकै साँगुरीगढी गाउँपालिका वडा नं. १ सिम्लेटोलका रामप्रसाद लिम्बूले पनि गोलभेडा खेती छाडेर ०७५ सालदेखि ड्रागन फलको खेती सुरु गरेका छन् ।

dd