धरान । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले वित्तीय शिक्षा एवम् व्यवसायिक ज्ञान प्रशिक्षक प्रशिक्षण दिइरहेको छ ।
समृद्धिले आफ्ना कार्यक्षेत्रअन्तर्गत प्रदेश १ को ८ जिल्लाका ५२ जना कक्षा १२ उत्तीर्ण गरेका समूहका सदस्यलाई प्रशिक्षण दिइरहेको हो । धरानको ड्रिमल्यान्ड होटल र होटल डोभमा मङ्गलबार र बुधबारदेखि पाँच दिने प्रशिक्षण दिइँदै छ । प्रशिक्षणमा सहभागीहरूलाई वित्तीय शिक्षा एवम् व्यवसायिक ज्ञानबारे प्रशिक्षित गराइँदै छ ।
समृद्धिले माछा, जडिबुटी, बाख्रापालन, तरकारी खेती र दूधजन्य उत्पादनमा २५ जनाको समूह बनाएर मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, उदयपुर, खोटाङ र ओखलढुङ्गामा काम गरिरहेको समृद्धिका कृषि उद्यम केन्द्रका व्यवस्थापक एमिल प्रधानले जानकारी दिए । उनका अनुसार ८ जिल्लामा १८५ वटा समूह छन् । ती समूहमध्ये हरेक समूहबाट एक–एकजनालाई सहभागी गराएर प्रशिक्षक प्रशिक्षण दिइरहेको हो ।
प्रशिक्षितहरूले आफ्नो समूहमा गएर हरेक साताको एक दिन वित्तीय कक्षा र व्यवसायिक ज्ञानबारे समूहका सदस्यलाई जानकारी गराउनेछन् । उक्त कार्यक्रम ३५ हप्तासम्म चल्नेछ । समृद्धिले अपनाएको पाँचवटा आपूर्ति शृङ्खला समूहका सदस्यहरूलाई निर्वाह खेती भनेको के हो, व्यवसायिक खेती भनेको के हो ? भन्ने विषयमा आधारभूत ज्ञान प्रदान गरिने व्यवस्थापक प्रधानले जानकारी दिए । उनीहरूले त्यसबाट कमाएको रकमलाई कसरी बचत गर्ने, व्यवसायिक योजना कसरी बनाउने, बैङ्किङ प्रणालीमा कसरी जाने जस्ता विषयबारे ज्ञान दिइन्छ ।
समृद्धिले त्यसका लागि पाठ्यक्रम नै तयार पारेको छ । सोही पाठ्यक्रमअनुसार नै प्रशिक्षित भएकाहरूले पनि आफ्ना समूहका सदस्यलाई प्रशिक्षण दिने समृद्धिका कोशी सगरमाथा संयोजक लोकेन्द्र रावलले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा ५ दिनसम्म ९ जनाले विभिन्न विषयमा जानकारी गराउँदै छन् ।