बिर्तामोड । १० वर्षको जनयुद्धमा सक्रिय सहभागी भएका झापाको अर्जुनधाराका भूपेन्द्र न्यौपानेले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी विभाजन हुँदा एमालेमा रहने निर्णय गरे ।

केपी ओलीले संसद् विघटन गर्दा त्यो कदम गलत भन्दै आएका न्यौपानेले त्यसको केही समयपछि भएको पार्टी विभाजनमा एमाले रोजेपछि झापाको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भयो ।

जनयुद्धमा जनसेनाको भूमिकामा रहेका माओवादी सेनाका लडाकु न्यौपानेको नेपाली सेनामा समायोजन हुँदा क्याप्टेन हुने मौका थियो । उनले राजनीति गर्ने चाहना राख्दै स्वेच्छिक अवकास लिए र नेकपा माओवादी पार्टीको जिल्ला सचिवालय सदस्य हुँदै स्थानीय राजनीतिमा सक्रिय भए ।

न्यौपानेकै भाषामा उनले लडेको जनयुद्धको जगमा गणतन्त्र स्थापना भयो । गणतन्त्र स्थापना गर्नु त्यसबेलाको प्रमुख एजेण्डा थियो । २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचन भयो । त्यो निर्वाचनमा उनको पार्टी सबैभन्दा ठूलो दल बन्यो । उनी झन् उत्साहित भए । अब कार्यकर्ता र नेताबीच दूरी रहनु हुँदैन भन्ने उनलाई लाग्यो । उनी स्थानीय जनताका समस्या समाधानको लागि दिलोज्यानले खटे ।

२०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । उनी अर्जुनधारा नगरपालिकामा मेयरको उम्मेदवार बने । तर, त्यो निर्वाचनमा २ हजार ५ सय ६ मत मात्र ल्याउन सफल भए । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकुमार रानाले १३ हजार ८ सय ७९ मत ल्याउँदै विजयी बने भने दोस्रो स्थानमा नेपाली काङ्ग्रेसका हेमप्रसाद खरेलले ९ हजार ६ सय ४१ मत ल्याएका थिए । त्यसपछि एमाले र माओवादीको एकता भयो । न्यौपाने झन् उत्साहित भए ।

उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गरे । जनयुद्धले राजनीतिक परिवर्तन भइसकेको छ । अब शान्ति, समृद्धि र विकास निर्माणमा लाग्नुपर्छ भन्ने न्यौपानेलाई लाग्यो । उनले टोलमा हुने विकास निर्माणका गतिविधिमा बलियो उपस्थिति देखाउन थाले ।

५ वर्षको लागि जनताबाट अनुमोदन नेपाल कम्युनिष्ट पार्टीको केपी ओलीको नेतृत्वको सरकारले संसद् भङ्ग गर्ने निर्णय ग¥यो । उनले त्यसको खुलेर प्रतिवाद गरे । त्यो बेला ओलीको कदम गलत भएको टिप्पणी न्यौपानेको थियो । सर्वाेच्च अदालतको फैसलाबाट नेकपा फुटेर एमाले र माओवादी भएपछि उनले एमाले रोजे ।

न्यौपाने अहिले एमालेको प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छन् । अबको राजनीतिक दलको गन्तव्य ‘शान्ति, समृद्धि र विकास’ नै हुनुपर्ने न्यौपानेको तर्क छ । उनी जनमत विनाको पार्टीले देशमा नेतृत्व गर्न नसक्ने भएको हुनाले एमाले रोजेको बताउँछन् । ‘आफूले नेतृत्व नगरे ती काम पूरा हुन नसक्ने देखेको हुनाले एमाले रोज्नुपर्यो, न्यौपानेले भने, ‘जनतासँग पार्टी नेता जोडिएको पाएपछि एमाले रोजेको हो ।’ सङ्गठनका हिसाबले सबैभन्दा प्रभावशाली पार्टी एमाले भएको उनको भनाइ छ ।

माओवादीमा चरम गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र आफ्ना मान्छेलाई मात्र मौका दिने प्रवृत्ति हावी भएको उनको आरोप छ । अझ माओवादीको झापा नेतृत्व झन् अराजनीतिक गतिविधिको साक्षी भएको उनले बताए । झापाका नेताहरूले आत्मकेन्द्रित निर्णयमा पार्टीको लोगो प्रयोग गर्ने गरेको उनको भनाइ छ । झापामा जस्तै नेतृत्व भएका कारण २०६४ सालको निर्वाचनको परिणामलाई माओवादीले जोगाउन नसकेको आरोप न्यौपानेको छ । ‘त्यसपछि क्रमशः पार्टीमा क्षयीकरण छ । फुट्ने क्रम मात्र छ । एकीकरण छैन । भएको एउटा एकीकरण पनि जोगाउन सकिएन । अनि कति समय यसरी बस्नु ?’–न्यौपानेले भने ।

न्यौपानेजस्तै माओवादी जिल्ला कमिटी सदस्य दीपेन्द्र लम्साल पनि एमालेमै रहे । २०६० सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका उनी ‘राजनीतिक कार्यभार पूरा’ भएको भन्दै एमालेमै बस्ने निर्णय गरेको बताउँछन् । ‘अहिले दुईवटा पार्टी होइन, एमाले र माओवादी नामका दुई गुट छन्’ लम्साल भन्छन्, ‘दुईवटा गुट भएपछि जता बसे पनि भइजान्छ नि भनेर एमालेमा राजनीति गर्ने निर्णय गरेको हुँ ।’

हाल एमालेको जिल्ला कमिटी सदस्य रहेका लम्सालले नेताहरूको व्यक्तिगत महŒवाकाङ्क्षाका कारण नेकपा विभाजन भएको धारणा राखे । तत्कालीन नेकपाको निरन्तरता नेकपा (एमाले) नै भएकाले लम्साल समूहले एमाले रोजेको बताउँछन् । न्यौपाने र लम्सालजस्तै माओवादीका २ हजार ३ सय ५९ जनाले विभाजनपछि एमाले रोजेको नेकपा (एमाले) जिल्ला कार्यालयको रेकर्डमा छ ।

‘त्यसबेला एमालेमा बसेका र विभाजनपछि पार्टी प्रवेश गरेका साथीहरूबीचको सूची निकालेको छैन’ एमाले जिल्ला कार्यालय सचिव शिव ढुङ्गेलले भने, ‘तर, जुन सङ्ख्यामा साथीहरूले एमालेमा निरन्तरता दिनुभयो, त्यसले पार्टीमा थप उत्साह ल्याएको छ ।’

नेकपा (एमाले) को अहिले झापा जिल्लामा २९ हजार ४ सय ४१ सदस्य छन् । नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक विजय साम्पाङले यस पटकको सदस्यता वितरणबाट उत्साहित भएको प्रतिक्रिया दिए । उनले विभाजनका समयमा ८ हजार ८ सय ८६ सदस्यबाट १३ हजार ६९ पुर्याउँदा पार्टीमा नयाँ उत्साह उत्पन्न भएको बताए ।

‘अहिलेसम्म लगभग १४ हजार सदस्य पुग्नुभयो होला’ संयोजक साम्पाङले भने, ‘सदस्यता विस्तारको क्रमलाई निरन्तरता दिएर २२ हजार पु¥याउने लक्ष्य पार्टीको छ ।’ विगतका निर्वाचनमा जनयुद्धका एजेण्डा कार्यान्वयन नभएका कारण मतदाताले अर्काे चुनाव चिन्ह रोजेको पाइएको उनले बताए ।

आगामी दिनमा क्रान्तिकारी पार्टी निर्माण गर्न सुरुवात गरेका कारण माओवादीप्रति आकर्षण बढेको उनको भनाइ थियो । उनले पार्टी विभाजनपछि ठूलो सङ्ख्यामा सदस्य एमालेमै बसेको कुरा गलत भएको प्रतिक्रिया दिए । माओवादी छोडेर एमालेमा जाने नेता कार्यकर्ताको समूह ठूलो रहेको भए पनि एमाले छोडेर माओवादीमा जाने नेता कार्यकर्ता भने नगण्य रूपमा भएको पाइएको छ । शिवसताक्षीमा एकजना युवाबाहेक अरू एमालेका स्थानीय कार्यकर्ता नेकपा माओवादीमा नआएको संयोजक साम्पाङ बताउँछन् ।