सुनसरी । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्य समितिको लागि सुनसरीबाट सात जनाले दाबी गरेका छन् ।

सुनसरी जिल्लाको विभिन्न सङ्घीय निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनिएका सात जनाले महामन्त्रीदेखि विभिन्न कोटाबाट कार्य समिति सदस्यका लागि दाबी गरिरहेका हुन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सङ्घीय सांसद् तथा शेरबहादुर देउवा सरकारमा सूचना सञ्चार तथा प्रविधि मन्त्रीसँगै सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले यसपटक महामन्त्री पदका लागि दाबी प्रस्तुत गरेका छन् ।

नेविसङ्घको केन्द्रीय सभापतिसँगै पटक–पटक केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका उनले १४ औं महाधिवेशनमा आफू पार्टीको महामन्त्रीको स्वभाविक उम्मेदवार भएको बताउँदै आएका छन् । शेरबहादुर देउवाको विश्वासपात्र मानिने कार्की १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।

कार्कीको राजनीतिक यात्रा
२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपाका रमेश श्रेष्ठलाई पराजित गर्दै सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका व्यक्ति हुन् कार्की । २०१३ सालमा भोजपुरको साविक देउराली गाविस–४ गैरीगाउँ हाल षडानन्द नगरपालिका–११ मा उनको जन्म भएको हो । कृष्णमोहन कार्कीका पाँच भाइ छोरामध्ये ज्ञानेन्द्र जेठा छोरा हुन् ।

प्रारम्भिक शिक्षा गाउँबाटै लिएका कार्कीले भोजपुर क्याम्पसबाट प्रमाण–पत्र तह अध्ययन गरेका थिए । उनले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । आरआर क्याम्पसलगायतमा शिक्षणसमेत गरेका कार्की समानुपातिक तर्फबाट सांसद् हुँदै अर्थमन्त्रीसमेत भइसकेका छन् ।

विद्यार्थी राजनीतिबाट उदाएका उनी २६ वर्षकै उमेरमा २०३९ सालमा नेविसङ्घको केन्द्रीय सभापति भएका थिए । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईका विश्वासपात्र भएकाले यसपटक महामन्त्रीमा आफ्नो उम्मेदवारी स्वभाविक भएको कार्कीको तर्क छ ।

२०६३ सालमा जलस्रोत राज्यमन्त्री हुँदै जलस्रोत र अर्थमन्त्री बनेका कार्की वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा कानून, न्याय र संसदीय मामिला मन्त्री हुँदै सूचना सञ्चार एवम् प्रविधि मन्त्रीको जिम्मेवारी पाएका छन् ।

२०५६ सालको संसदीय चुनाव र २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भोजपुरबाट चुनाव लडेका कार्की दुवैपटक पराजित भएका थिए । अर्थमन्त्री हुँदा भोजपुरबाट चुनाव लड्न सुनसरी झरेका कार्की नेकपाका रमेश श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतले हराउँदै चुनाव जितेका हुन् ।

निर्वाचित भएदेखि नियमितरूपमा जनतासमक्ष आउने र पार्टीप्रति कटिबद्ध रहेका कार्की १४ औं महाधिवेशनमा महामन्त्री पदको लागि उनको उम्मेदवारी स्वभाविक भएको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुब अन्सारी बताउँछन् । संस्थापन पक्षबाट महामन्त्री पदको लागि प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाणलगायतले दाबी गरे पनि यसपटक कार्कीले पाउने सम्भावना प्रबल देखिएको उनको दाबी छ ।

यसैगरी सुनसरी क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चुनिएका क्रमशः राजीव कोइराला, सीताराम मेहता र राजीव ढुङ्गाना केन्द्रीय सदस्यका आकाङ्क्षी देखिएका छन् । त्यसैगरी सुनसरी क्षेत्र नम्बर ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका डाक्टर अबुल हुसेन, अनु गुरुङ र ममता योञ्जनले समेत केन्द्रीय सदस्यका लागि दाबी गरेका छन् ।

दाबी गर्नेहरूमध्ये केन्द्रीय सदस्य पदमा संस्थापन इतर पक्षबाट राजीव कोइराला र संस्थापन पक्षबाट राजीव ढुङ्गाना र अनु गुरुङले टिकट पाउने सम्भावना बलियो देखिएको स्रोतले बतायो ।

नेपाली काङ्ग्रेस प्रदेश नम्बर १ का संसदीय दलका नेतासमेत रहेका सुनसरी सदरमुकाम इनरुवाका राजीव कोइरालाले प्रदेश सभापतिको लागि दाबी गरे पनि संस्थापन इतर पक्षले केन्द्रीय सदस्यको आश्वासन दिएर गुरु घिमिरेलाई टिकट दिएकाले उनी केन्द्रीय सदस्यको उम्मेदवार बन्ने पक्कापक्की जस्तै देखिएको छ ।

यसैगरी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सभापतिसमेत रहेका सुनसरीका राजीव ढुङ्गाना संस्थापन पक्षको खस आर्य कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने सम्भावना बलियो देखिएको छ । त्यस्तै संस्थापन पक्ष र कृष्ण सिटौला समूहको संयुक्त प्यानल बनेको अवस्थामा सुनसरी वराहक्षेत्रकी अनु गुरुङ जनजाति कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने सम्भावना रहेको बताइएको छ ।

त्यसैगरी मुस्लिम कोटाबाट केन्द्रीय सदस्यमा दाबी गरेका डाक्टर अबुल हुसेन र जनजाति महिला कोटाबाट केन्द्रीय सदस्यमा दाबी गरेकी वराहक्षेत्रकी ममता योञ्जन संस्थापन पक्षबाट उम्मेदवार बन्ने सम्भावना कम देखिएको स्रोतको दाबी छ ।

त्यस्तै मधेसी कोटाबाट केन्द्रीय सदस्य दाबी गरेका सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित सङ्घीय सांसद्समेत रहेका सीताराम मेहताले संस्थापन पक्षबाट टिकट पाउने सम्भावना देखिएको छ ।

जम्मा चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीबाट क्षेत्रीय सभापतिसहित १ सय ४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सुनसरी क्षेत्र नम्बर १ बाट जम्मा निर्वाचित २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये २३ जना संस्थापन इतर पक्षका देखिएका छन् भने ३ जना संस्थापन पक्षका रहेका छन् ।

क्षेत्रीय सभापति स्वतः  केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने प्रावधान रहेको छ । यसैगरी सुनसरी क्षेत्र नम्बर २ बाट सभापतिसहित निर्वाचित २६ जनामध्ये १८ जना संस्थापन इतर पक्षका र ८ जना संस्थापन पक्षका रहेका छन् ।

त्यसैगरी सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सभापतिसहित २६ जनामध्ये १४ जना संस्थापन पक्षका र १२ जना संस्थापन इतर पक्षका रहेका छन् भने सुनसरी क्षेत्र नम्बर ४ बाट क्षेत्रीय सभापतिसहित निर्वाचित सबै २६ जना संस्थापन पक्षका रहेका छन् । यसरी हेर्दा सुनसरीमा संस्थापन पक्षका केन्द्रीय महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढी देखिन्छ ।