विजयपुर । बङ्गुरको दानाको मूल्य पछिल्लो ८ महिनामा चार पटक बढेको बङ्गुरपालक कृषकले बताएका छन् । पछिल्लो पटक ५ रुपैयाँले दानाको मूल्य बढेपछि कृषक समस्यामा परेका हुन् ।
नियामक निकायले नियमनमा ध्यान नदिएको कृषकको गुनासो छ । प्रत्येक दुई महिनामा एक पटक दानाको मूल्य बढिरहेको उनीहरूले बताए । शनिबार एकैचोटी प्रतिकिलो ५ रुपैयाँले मूल्य बढेको हो । यसअघि प्रत्येक पटक २ रुपैयाँ प्रतिकेजीले बढेको थियो । बङ्गुर व्यवसायी सङ्घ १ नं. प्रदेश अध्यक्ष सञ्जीवकुमार राईले भने, ‘कुखुराको प्लेट दानामा साढे ६ रुपैयाँले वृद्धि भयो भने बङ्गुरको दानामा ५ रुपैयाँले वृद्धि भयो ।’
पछिल्लो पटक विगतमा हुँदै आएको मूल्य वृद्धिको तुलनामा साढे २ गुणाले वृद्धि भएको छ । अध्यक्ष राईले भने, ‘विगतमा दुई–तीन रुपैयाँ वृद्धि हुन्थ्यो । व्यवसायीले जसोतसो धान्दै आएका थियौँ । हाल त एकै चोटी ५ रुपैयाँ वृद्धि भयो, अब धान्न नसक्ने भयौं ।’
उनले कच्चापदार्थको मूल्य ८५ रुपैयाँबाट वृद्धि भएर १ सय ८ हुँदा दानाको मूल्य वृद्धि भएर २४ सय २५ पुगेको बताए । तर, कच्चापदार्थको मूल्य घटेर पुनः ९० हुँदा पनि दानाको मूल्य भने नघटेको उनको भनाइ छ ।
हाल ५ रुपैयाँले वृद्धि हुँदा प्रतिबोरा (५० केजी) २९ सय २० रुपैयाँ पुगेको सङ्घका सचिव भेषराज दङ्गालले बताए । उनले बङ्गुरको आहारा बनाउने उत्पादक कम्पनीको एकाधिकारका कारणले कृषकहरूले समस्या भोग्नुपरेको बताए । उनले भने, ‘कच्चापदार्थको मूल्य वृद्धि हुँदा दानाको मूल्य वृद्धि गर्छन् तर, कच्चापदार्थको मूल्य घट्दा दानाको मूल्य घटाउँदैनन् । नियामक निकाय मुकदर्शक बनेको छ ।’
उनले सरकारको कृषिलाई प्रवद्र्धन गर्ने नीति भए पनि जोखिमलाई सम्बोधन गर्ने निकायले ध्यान नदिँदा कृषकको भविष्य अन्यौल भएको बताए । बङ्गुर व्यवसायी सङ्घ १ नं. प्रदेश सदस्य तथा रामधुनीका फेमिली कृषि फर्मका सञ्चालक चक्रबहादुर राईले मूल्य तिर्दा पनि गुणस्तरीय दाना नपाउने बताए ।
यस विषयमा दाना उत्पादक कम्पनी विजय दाना प्रा.लि.का सञ्चालक भरत कार्की भने कच्चापदार्थसहित उत्पादन खर्च बढ्दा मूल्य वृद्धि हुने र कच्चापदार्थको मूल्य घटेको बेला घट्ने बताए । उनले भने, ‘कच्चापदार्थको मूल्य घट्दा दानाको पनि मूल्य घटेका धेरै उदाहरण छन् ।’ तर, पनि आफूले मूल्य निर्धारण नगरी बङ्गुर दाना सङ्घले निर्धारण गरेको मूल्यमा बिक्री गर्ने बताए । तर, कृषकहरूले भने कच्चापदार्थको मूल्य वृद्धि हुँदा दानाको मूल्य बढाउने तर घट्दा भने दानाको मूल्य नघटाउने गरेको गुनासो गरेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले एकै पटक प्रतिकिलो ५ रुपैयाँ मूल्य वृद्धि नहुनुपर्ने बताए । यदि त्यसो भएको हो भने के कारणले वृद्धि भएको हो ? विश्लेषण गर्ने बताए । उनले भने, ‘किन मूल्य वृद्धि भएको हो । कारण पुष्टि गर्नुपर्दछ । मूल्य वृद्धिबारे पुष्टि गर्ने आधिकारिक बिल भर्पाइ पेश नगरेमा कालोबजारी हुन्छ । कारबाही गर्छौं । त्यो हाम्रो दायित्व हो ।’
बङ्गुर व्यवसायी सङ्घ १ नं. प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा १ नं. प्रदेशमा जम्मा ७ सय बङ्गुर व्यवसायी रहेको र त्यसमा ३५ प्रतिशतले गुणस्तरीय बङ्गुर तथा बङ्गुरको मासु उत्पादन गर्दै आएको बङ्गुर व्यवसायी सङ्घ १ नं. प्रदेशले जनाएको छ ।
बङ्गुरको दानामा ‘केमिकल’ को मापन नहुने
बजारमा बिक्री हुने बङ्गुरको दानामा केमिकलको मात्रा ल्यावमा मापन नहुने कृषकहरूले बताएका छन् । उनीहरूले बजारमा आउने दानामा रसायनहरूको अनुपात नमिल्नाले बङ्गुर पनि नफस्टाउने र मासुले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने बताए ।