धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागका एक चिकित्सकले विदेशी दातृसंस्थाले निःशुल्क दिएका सामग्रीसमेत बिरामीलाई बेच्ने गरेको पाइएको छ ।

प्रतिष्ठानका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन तथा एसोसिएट प्रोफेसर डा.रोशन कलवारले हाडजोर्नीसम्बन्धी अप्रेसनमा प्रयोग हुने सामान बिरामीलाई आफ्नो पसलबाट किन्न बाध्य पार्ने गरेको पीडित बिरामीहरूले बताएका छन् । अमेरिकास्थित साइन नामक संस्थाले विपन्न देशका बिरामीलाई खुट्टाको लामो हड्डी जोड्ने रड (नेल) निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।

प्रतिष्ठानमा पनि साइन कम्पनीको त्यही नेल बिरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था छ । तर, डा.कलवारले आफ्नो सर्जिकलबाट उक्त सामान बिरामीलाई किनाउँदै आएका छन् । उनले चिकित्सकीय आचार–संहिता विपरीत सर्जिलक सामान उत्पादन तथा बिक्री वितरणसमेत गर्ने गरेको पाइएको छ । उनले आफू र आफ्नो परिवार संलग्न कम्पनीबाट ‘इनप्लान्ट’ का सामानसमेत बिरामीलाई बेच्ने गरेको पीडितहरूले बताएका छन् ।

उनको मिलेमतोमा भएको यस्तो बदमासीको उजुरी प्रतिष्ठानदेखि प्रहरी कार्यालयसम्म पुगेका छन् । उनका एजेन्टहरूलाई प्रहरीले पक्राउसमेत गरेका घटना छन् । पीडित बिरामीका आफन्तहरूका भनाइअनुसार उनले अप्रेसन गर्ने समयमा हाडजोर्नी विभागमा उनका तीन–चार जना एजेन्टहरू घुम्छन्, त्यसपछि उनीहरू बिरामीसँग ती सामान किन्न दबाव दिन्छन् र कतिलाई धम्कीसमेत दिने गरेको पीडितहरूको गुनासो छ ।

डा.कलवारबाट पीडित हुनेमध्ये एक हुन्, सिरहाको नरहा गाउँपालिका–५ का घुरन महतो । उनका छोरा अर्बिन दुर्घटनामा परेर घाइते भएपछि उपचारका लागि मङ्सिर ४ मा प्रतिष्ठान ल्याएका थिए । खुट्टाको हड्डी जोड्नका लागि रड आवश्यक पर्ने भयो । महतो आफूले चिनेजानेका मेडिकलतिर जान लागेका थिए तर, अस्पतालभित्रै एक जना युवा आइपुगे । उनी डा.कलवारका एजेन्ट अर्थात् उनको पसलका कर्मचारी कमल भुजेल रहेछन् ।

‘कमलले आएर डा.कलवारले गरेका अप्रेसनको सामान मैले नै दिने हो, पैसा मलाई बुझाउनु पर्छ भन्न थाले’ महतोले सुनाए, ‘मैले अहिले मसँग पैसा छैन, चिनेको मेडिकलबाट ल्याउँछु भन्दा डाक्टरले भनेको मान्ने कि मेडिकलले भनेको मान्ने भनेर हप्काए । त्यसपछि सामान उनैले ल्याइदिए ।’

महतोका अनुसार सामान ल्याएको बेलुकादेखि उनले तुरन्तै पैसा दिन दबाव दिन थाले । भुजेलले १९ हजार ४ सयको बिल थमाए । यो बिल डा.कलवार आफै संलग्न ‘कोसी सर्जिमेट’ नामको पसलको थियो । महतो भन्छन्, ‘मलाई त के थाहा डक्टरले भनेको नमान्दा केही गड्बड होला कि भन्ने डरले पनि १८ हजार खोजेर बुझाएँ ।’

उनका छोराको डिस्चार्ज गर्ने बेलामा हिसाब मिलाउन भनियो । उनले त्यही पैसा तिरेको बिल देखाए । त्यसपछि पो थाहा भयो त्यो त निःशुल्क पाउने सामान पो रहेछ । उनी भन्छन्, ‘एक त त्यो निःशुल्क पाइने सामान रहेछ अर्को कुरा, मेरो छोराको उपचारमा त्यो प्रयोगै भएको रहेनछ । बेकारमा मेरो पैसा खाएका रहेछन् ।’

आफ्नो पैसा बेकारमा लिएको थाहा पाएपछि उनले पैसा लिने भुजेललाई फोन गरे तर, उनले फिर्ता दिन नमिल्ने बताए । उनले लगातार फोन गर्न थालेपछि फोनै अफ गरे । चिकित्सक र मेडिकलको बदमासी चाल पाएपछि उनी सोधखोज गर्दै प्रतिष्ठानका विभिन्न निकायमा पुगे । उनी आफू ठगिएको भन्दै प्रहरीमा उजुरी गर्न पुगे ।

‘मैले पुलिसमा उजुरी गरेपछि चैं उतैबाट फोन गरेर पैसा फिर्ता लिइदिनुस् भन्न थाले । मैले पनि तत्काल लिइनँ । पछि १७ हजार फिर्ता पाएँ’ उनी भन्छन्, ‘मैले डिस्चार्ज गर्नेबेलामा बिल देखाउँदा पो ठगिएको थाहा पाएँ, अरू कति ठगिएका होलान् भनेर चुप लागेर बसिनँ ।’

महतोको जस्तै समस्या इलामका सुजन अधिकारीलाई पनि आइपर्यो । आफ्ना भाइ माधवको खुट्टा भाँचिएपछि उनी पनि उपचारका लागि प्रतिष्ठान आइपुगेका थिए । ‘भाइको फिलाको हड्डी भाँचिएपछि बीपीमा लगेको थिएँ ।’ उनले फोन सम्पर्कमा भने, ‘चिकित्सकले निःशुल्क पाइने सामान पनि किनाएछन् । पछि माफी मागेर पैसा फिर्ता दिए ।’ उनको घटना एकसाता अघिको हो । उनका भाइको अपे्रसन गर्ने बेलामा डा.कलवारले राम्रो सामान मगाइदिने भन्दै उनै एजेन्ट कमल भुजेललाई अस्पतालमै बोलाए ।

डा. कलवारले अमेरिकाबाट आफन्तका लागि आफ्नै खर्चमा ल्याएको राम्रो सामान मगाइदिन्छु भनेर गफ लगाएको अधिकारीले बताए । त्यसपछि कमलले १७ हजार ६ सय रुपैयाँको बिल थमाए । उनले दिएका बिल कोसी सर्जिमेट र रोश्नी फार्मेसीका थिए । ‘उनले प्यान बिल मात्र दिएपछि मैले भ्याट बिल मागेँ, त्यसपछि उनले तीनवटा बिल बनाएर दिए । त्यतिबेलासम्म म ठगिँदै छु भन्ने थाहा थिएन’ अधिकारी भन्छन्, ‘मैले पछि पो थाहा पाएँ कि मेरो भाइको अप्रेसनमा प्रयोग भएको सामान दातृ संस्थाले निःशुल्क दिएको रहेछ । त्यसपछि डा.कलवारसँगै एक घण्टा कुरा गरेँ । उनले दुई हात जोडेर माफी मागेपछि आइन्दा यस्तो नहोस् भनेर छाडिदिएको हुँ ।’ त्यसपछि उनले १५ हजार रुपैयाँ फिर्ता पाए ।

यी दुई उदाहरण मात्र हुन् । डा.कलवारले यसरी नै निःशुल्क दिनुपर्ने सामानको एजेन्टमार्फत् पैसा लिने र आफू संलग्न पसलबाट सामान किनाउने गरेका अन्य पनि धेरै बिरामीका आफन्त भेटिए तर, धेरैले डाक्टरसँग रिसइबी साधेर पछि आप्ठ्यारो पार्ने डर रहेछ । एक जना बिरामीका आफन्तले भने, ‘केही दिनमै फलोअपमा जानु पर्नेछ, गड्बड गरिदिन्छन् कि भन्ने डर लाग्छ ।’ तर, हाडजोर्नी विभागमा उनी मात्र चिकित्सक होइनन् । अन्य पनि छन् । बिरामीले फलोअपमा उनैलाई देखाउनु पर्छ भन्ने बाध्यता पनि हुँदैन ।

डा.कलवार प्रतिष्ठानबाहिर रहेको कोसी सर्जिमेटसँग मात्र होइन, टाटा डाइग्नोसिससँग समेत आबद्ध छन् । उनले अमेरिकी संस्थाबाट निःशुल्क रूपमा आएको सामान यिनै पसलबाट बिक्री गर्ने गरेका छन् भने अप्रेसनमा चाहिने धागो र अन्य सामग्रीसमेत यिनैबाट खरिद गराउने गरेका छन् । आचार–संहिताले नै चिकित्सकले निश्चित पसल नतोक्नु र औषधिको नामसमेत नलेख्नु भनेको छ । विज्ञहरूका अनुसार चिकित्सकले औषधिको कम्पोजिसन मात्र लेख्न मिल्छ ।

तर, डा. कलवार आफै संलग्न पसलमा पठाउने मात्र होइन, एजेन्टलाई नै अस्पतालभित्र बोलाएर व्यापार गरिरहेका छन् । डा.कलवारलाई सम्पर्क गर्दा उनले आफूले पैसा लिएको र फिर्तासमेत गरेको स्वीकार गरे । ‘अमेरिकाबाट आउने सामान निःशुल्क हो तर, काठमाडौंदेखि धरानसम्म ल्याउने खर्च, यहाँका सिष्टरहरूलाई तालिम दिने खर्च मैले गर्नुपर्छ । त्यसैले नसक्नेलाई निःशुल्क लगाए पनि सक्नेबाट पैसा लिएको हुँ ।’ उनको तर्क छ, ‘मेरो नियत गलत होइन, लजिष्टिक कष्ट र इम्प्लान्ट रिप्लेसका रूपमा लिने गरिएको हो ।’

उनले यस्तो जवाफ दिए पनि प्रतिष्ठानको नियमअनुसार दातृ निकायबाट आएको सहयोगको ढुवानी खर्च विभाग र प्रतिष्ठानमा छलफल गरे प्रतिष्ठानले तिर्नुपर्ने दायित्व हुन्छ । तर, डा.कलवारले यस्तो कुनै छलफलसमेत गरेको पाइएन । उनले बिरामीबाट शुल्क लिने विषयमा पनि प्रतिष्ठानसँग कुनै अनुमति लिएका छैनन् । उनी भने यस्तो कुरामा प्रतिष्ठानलाई चासो भएको बताउँछन् ।

उनकै भनाइमा दातृसंस्थाले दिएका सामानको कुनै मूल्य तोकिएको हुँदैन तर, उनले भारतमा यस्तै सामानको १५–२० हजार पर्ने भएकाले त्यही अनुपातमा पैसा लिएको दाबी गरे । हाल काठमाडौं पुगेका उनले भने, ‘हामीलाई साइनले त पैसा लिनू भन्दैन तर, लोकल लेवलमा व्यवस्थापन गर्न छुट छ ।’

उनले आचार–संहिता विपरीत पसलमा संलग्न भएको बारे जिज्ञासा राख्दा उनले कोसी सर्जिमेट आफ्नो दाजुको भएको र टाटा डाइग्नोसिस चाहिँ चिनजानको मान्छेको भएको बताए । तर, प्रतिष्ठान स्रोतले तिनमा उनी आफै संलग्न रहेको बताएको छ । उनी भने उल्टै यस्तो दाबी गर्छन्, ‘मैले निःशुल्क सामान ल्याएपछि बाहिर पसलबाट कमिसन खान नपाएका मेरै साथीहरूले यस्तो कुरा उठाएका हुन् ।’