विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रगतको नमुना सङ्कलन स्थान (ल्याव) मा ज्येष्ठ नागरिकहरूलाई विशेष व्यवस्था नहुँदा सास्ती पाउँदै आएका छन् ।

ज्येष्ठ नागरिकमात्रै होइन, अन्य बिरामीहरूको पनि नमुना सङ्कलन गर्ने स्थानको अवस्था उस्तै छ । ‘स्याम्पल’ लिने स्थानमा न महिलाको छुट्टै काउण्टर छ, न त पुरुषको, न त विशेष अवस्थाका बिरामीका लागि नै छट्टै काउण्टर छ । सबै उमेर समूहका बिरामीले २ वटा लाइनमा बसेर रगतको नमुना दिनुपर्ने अवस्था छ ।

१ नं. प्रदेशको मात्रै नभएर २ नं. प्रदेशका साथै भारतबाट पनि उपचारका लागि बिरामी आउने प्रतिष्ठानमा छुट्टै व्यवस्था नहुँदा सबैभन्दा धेरै ज्येष्ठ नागरिक समस्या पर्दै आएका छन् । राज्यले नै ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था गरेको छ । यातायातका साधनदेखि हरेक स्थानमा ज्येष्ठ नागरिकलाई विशेष व्यवस्था हुन्छ ।

तर, प्रतिष्ठानको रगतको नमुना सङ्कलन गर्ने स्थानमा ज्येष्ठ नागरिकलाई विशेष अथवा छुट्टै व्यवस्था नहुँदा उनीहरू समस्यामा पर्दै आएका छन् ।

धरान–५ की ज्येष्ठ नागरिक बिन्दा लामिछानेले रगतको परीक्षणका लागि ‘स्याम्पल’ दिनका लागि लामो समय लाइनमा बस्नुपर्दा समस्या भएको बताइन् । उनले ज्येष्ठ नागरिकलाई विभिन्न स्थानमा राज्यले नै विशेष व्यवस्था मिलाएको भए पनि प्रतिष्ठानमा भने त्यस्तो केही व्यवस्था नहुँदा लामो समय लाइनमा बस्नु पर्ने बाध्यता रहेको बताइन् । उनले ज्येष्ठ नागरिकहरूका लागि विशेष व्यवस्था हुनुपर्ने बताइन् ।

६४ वर्षीय चङ्खबहादुर विश्वकर्माले पनि प्रतिष्ठानको ब्लड बैङ्कमा ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था नहुँदा सास्ती पाएको बताए । उनले आफू पनि लामो समय लाइनमा बस्नुपर्दा समस्यामा परेको बताए । उनले प्रतिष्ठानमा ज्येष्ठ  नागरिकलाई रगतको स्याम्पल दिने विशेष व्यवस्था हुनुपर्ने माग गरे ।

प्रतिष्ठानका सह–प्रवक्ता डा.चूडामणि पोखरेलले प्रतिष्ठानमा बाहिरपट्टि बनाएको ४ वटा काउण्टरमा ज्येष्ठ नागरिकलाई छुट्टै काउण्टर रहेको दाबी गरे । ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर वार्डमा लगेर पनि नमुना लिने गरेको उनले दाबी गरे । उनले ज्येष्ठ नागरिक, बालबालिका, अशक्तहरूका लागि नमुना सङ्कलन गर्ने स्थान छुट्टै रहेको दाबी गरे ।

उनले भने, ‘छुट्टै काउण्टरको व्यवस्था छ । बोर्ड नभएकाले झुक्किएका हुन् । बोर्डको व्यवस्था चाँडै गर्छौं ।’ तर, ब्लाष्टकर्मीले नमुना सङ्कलन गर्ने पछाडिपट्टिकोे कोठा नं. २२ का कर्मचारी बुझ्दा ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था नभएको प्रतिक्रिया दिए । प्रतिष्ठानमा रगतको ‘स्याम्पल’ दिने ४ वटा काउण्टर भए पनि २ वटा काउण्टरबाट मात्रै रगतको नमुना सङ्कलन गरिँदै आएको छ ।