धरान । कात्तिक पहिलो साताको बेमौसमी वर्षाको प्रत्यक्ष प्रभाव हरियो तरकारीको मूल्यमा देखिन थालेको छ । हरियो तरकारीको सिजनमा पनि उपभोक्ताले विगतभन्दा झण्डै दोब्बर मूल्य खर्चेर तरकारी किन्नु परेको अवस्था छ ।

अविरल वर्षाका कारण लगाइएका तरकारीको बिरुवा र फलमा हानि पुर्याउँदा उत्पादनमा ह्रास आएको छ । धनकुटा नगरपालिका–१० पात्लेखोलाका किसान अमर दाहालका अनुसार पानीका कारण बिरुवा, दाना, फूल सबै नष्ट गरिदिएका कारण विगतको तुलनामा उत्पादन स्वात्तै घटेको छ ।

उनी भन्छन्, ‘बिरुवा सक्यो, दाना सक्यो, फूल सक्यो, किसानलाई एक प्रकारले उत्पादनमा १० प्रतिशतभन्दा तल ल्याएर सीमित गरिदियो ।’ पात्लेखोला क्षेत्रबाट मात्रै दैनिक १ सय मेट्रिक टन बराबर तरकारीको कारोबार हुने गरेकोमा अहिले कारोबार खुम्चिएको किसान दाहाल बताउँछन् ।

‘१० क्वीन्टल आउने ठाउँमा ४०–५० केजीमाथि निकाल्न सकेको अवस्था छैन’ उनी भन्छन्, ‘धेरैले यसपटक भाउ पाएर किसान उक्सिए भन्ने बुझाइ छ, उत्पादन सीमित गरिदिएपछि कसरी किसान उक्सिन्छन् । उल्टो घाटा छ ।’ पात्लेखोला क्षेत्रबाट मात्रै दैनिक १० टन हाराहारीमा टमाटर धरानलगायतका तराईका जिल्लामा पुग्थ्यो । अहिले दैनिक १ टन पनि टमाटर बिक्री गर्न नसकेको अवस्था रहेको त्यहाँका किसान बताउँछन् । उत्पादनमात्रै घटेको छैन, बेमौसमी वर्षाले विभिन्न खालका रोगहरू भिœयाइदिएको उनको भनाइ छ ।

‘वर्षाले चौतर्फी घाटा गरिदियो, नयाँ नयाँ रोग भित्रिएको छ । छिर्का छिर्का देखिने, खैरो कलरको रोग लागेको छ, कुनै पनि दबाइले नियन्त्रण गरिराखेको छैन’–उनले भने । उत्पादन घट्दा उपभोक्ताको भान्सा महँगिएको छ । यस वर्ष टमाटरगत वर्षको तुलनामा दोब्बर मूल्यमा बिक्री भइरहेको छ ।

sabji

धरान–९ सब्जीलाइनमा खाजा घर चलाउँदै आएका सुशील राईका अनुसार गत वर्ष ४०–५० रुपैयाँ केजी पाएको टमाटर यस वर्ष १ सय १० रुपैयाँमा किन्नु परिरहेको छ । सागसब्जीको मूल्य आकासिँदा व्यापार चलाउन एकदमै सकस भइरहेको उनको भनाइ छ । ‘क्वालिटीमा कम्प्रमाइज गर्नुभएन, फेरि सेवाग्राही रुष्ट हुन्छन्’ उनी भन्छन्, ‘बजारमा टमाटर, बन्दाकोपी, प्याजको मूल्य छोइनसक्नु छ ।’

उनका अनुसार विगत वर्षहरूमा बन्दाकोपीको मूल्य १० रुपैयाँ केजीमा फालाफाल पाइने भए पनि यस वर्ष ४० रुपैयाँसम्म हाल्नुपरेको छ । ‘सब्जीको मूल्य बढ्यो भनेर ग्राहकलाई खाजाको मूल्य बढाउने कुरा भएन’ उनी भन्छन्, ‘व्यापार गर्न गाह्रो छ ।’

पालिका तरकारी बजारमा खुद्रा तरकारी बिक्री गर्दै आएका मनोज श्रेष्ठ भन्छन्, ‘अरू बेला यो समयमा प्रतिकेजी ५० देखि ६० रुपैयाँमा पाउने टमाटरको मूल्य यस वर्ष १ सयदेखि १ सय १० रुपैयाँ छ ।’ उनका अनुसार सबैभन्दा महँगो मूल्यमा धनियाँ बिक्री भइरहेको छ । १ सय ग्राम बराबरको हरियो मुठाको धनियाँ गत वर्षभन्दा चार गुणाले वृद्धि भएको उनी बताउँछन् ।

‘२०–२५ रुपैयाँमा आउने मुठा यो साल १ सय रुपैयाँ पर्छ’–उनी भन्छन् । हरियो तरकारीको मूल्य आकासिनुमा बेमौसमी वर्षाको प्रभाव रहेको खुद्रा व्यवसायीको बुझाइ छ । ‘अस्ति कात्तिकमा तीन–चार दिन पानी आयो नि, मूल्य बढ्नुमा मेन कारण चाहिँ त्यही नै हो’–अर्का खुद्रा व्यवसायी विन्देश्वर चौधरीले भने ।

हरेक हरियो सब्जीको मूल्य गत वर्षको यसै सिजनमा हुने मूल्यभन्दा दोब्बरले बढेको छ । हरेक वर्ष हरियो सब्जी पाउने सिजनमा मूल्य एकनासले नै हुने गरेको खुद्रा व्यवसायीहरूको भनाइ छ । ‘हरेक साल मूल्यमा त्यति धेरै फरक आउँदैन’ चौधरीले भने, ‘पाँच–दश रुपैयाँ तलमाथि हुनु भनेकोलाई मूल्य बढेको भनिँदैन । तर, यसपटक त सबै कुरा बढेको छ । आलुसम्म त घटेको छैन ।’

खुद्रा व्यवसायीहरूले दिएको मूल्य सूचीअनुसार फूलकोपी यस वर्ष ७० देखि ८० रुपैयाँ प्रतिकेजीले बिक्री भइरहेको छ । जब कि गतवर्ष यो सिजनमा ३०–४० रुपैयाँमा बिक्री भएको खुद्रा व्यवसायी नै बताउँछन् । मटरकोसामा पनि प्रतिकेजीमा गत वर्षभन्दा ३० रुपैयाँले वृद्धि भएको छ ।

धरानको कृषिउपज बजार स्थलका अनुसार हरियो सागसब्जीको थोक मूल्य नै गत वर्षभन्दा ४० रुपैयाँले बढी छ । गत मङ्सिरमा टमाटरको मूल्य थोकमा प्रतिकेजी ६० रुपैयाँले बिक्री भइरहेको थियो भने यस वर्ष ९५ रुपैयाँले थोकमै बिक्री भइरहेको छ ।

त्यस्तै गतवर्ष काउली ३५ रुपैयाँले बिक्री भएकोमा यस वर्ष प्रतिकेजी ६० रुपैयाँले थोकमै बिक्री भइरहेको कृषिउपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । उनका अनुसार हरियो सब्जीको मूल्य गत वर्षको तुलनामा आकासिएको छ भने सुख्खाजन्य सब्जीहरूको मूल्यमा खासै फरक छैन ।

उनले पनि बेमौसमी वर्षाले गर्दा तराईमा सब्जी लगाइएका क्षेत्रहरू डुबानमा परेको र पहाडी क्षेत्रमा पहिरो तथा बाढीले नाश गरिदिएकाले पनि मूल्य बढेको हो । यस वर्ष मूल्य घट्ने सम्भावना न्यून छ । कृषिउपज बजार स्थलमा दैनिक २ सय मेट्रिक टन हरियो सागसब्जी तराई र पहाडबाट आउने गरेको छ । व्यवस्थापक भट्टराईले यतिबेला ६० प्रतिशत तराईबाट सब्जी आउनु पर्ने भए पनि वर्षाका कारण उत्पादन हुन नसकेकाले ४० प्रतिशतमात्रै आइरहेको बताए ।