धरान । धरान–१६ मा सिलाइका काम गर्दै आएका गोपाल परियारले धरान–९ गौतमपथको भविष्य बचत तथा ऋण सहकारी संस्थामा खाई नखाई दैनिक एक सय रुपैयाँ बचत गर्थे ।

त्यो बचत रकमबाट केही काम गर्ने सोच राखेका थिए तर, असोजदेखि एकाएक सहकारीकी सङ्कलनकर्ता आउन छाडेपछि उनको मनमा चिसो पस्यो । आएर बुझ्दा दिनेदिने भन्दै अनेकौं पटक टारेको उनले बताए । ‘एक वर्षको खाता खोलेको थिएँ, दिनको एक सय रुपैयाँ जम्मा गर्थें, २२ हजार २ सय रुपैयाँ भएको थियो’ उनले पासबुक देखाउँदै भने, ‘तर, असोजदेखि कलेक्टर आउँदै आइनन्, बुझ्दा सञ्चालक नै गायब भएको रहेछ, त्यै पनि धेरै पटक आशा देखाइरह्यो ।’

उनीजस्तै धरान–१६ कै लोकबहादुर तामाङले पनि त्यहीँ बचत गर्दै आएका थिए । उनले भने ६–६ महिनाको खाता खोलेका थिए । पहिलो ६ महिनाको पैसा लिएका थिए तर, पछिल्लो ६ महिनाको पैसा आउने बेलामा सञ्चालक नै फरार भएपछि दुःख पाएको उनले बताए । ‘६ महिना बिताए त्यसको पैसा पनि थापेँ’ उनले भने, ‘असोजदेखि पैसा उठाउने बहिनी नै आउन छाडिन् ।’ उनको बचत खातामा ४ हजार ५ सय ५० रुपैयाँ लिनुपर्ने देखिन्छ ।

यस्ता रकम लिनुपर्ने झण्डै २ सयभन्दा बढी भएको पीडितहरूको भनाइ छ । ब्लाष्टले यस विषयमा असोज २० गते नै ‘भविष्य सहकारी आर्थिक सङ्कटमा’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । तत्कालीन समयमा सहकारीका अध्यक्ष तथा सञ्चालक इन्द्र लिम्बूले बचतकर्ताको रकम दिने भन्दै पटक–पटक बचतकर्तालाई बोलाउँदै आएका थिए । तर, बचतकर्ता कार्यालयमा पुगे पनि उनीहरू भेटिँदैनथे ।

ब्लाष्टकर्मीले समेत अध्यक्ष इन्द्र लिम्बूलाई फोन गरेर बुझ्दा चाँडै नै हिसाबकिताब मिलान गर्ने बताउँदै आएका थिए । उनले बजारमा लगानी पनि भएकाले आफू नभाग्ने दाबी गर्दै आएका थिए । तत्कालीन समयमा उनी काठमाडौंमा रहेका थिए । यता धरान उपमहानगरपालिकाको आर्थिक विकास महाशाखाले पनि अध्यक्ष लिम्बूलाई पटक–पटक पत्राचार गर्दै आइरहेको थियो । महाशाखाले जारी गरेको एक सूचनामा भविष्य बचत तथा ऋण सहकारी संस्था जोखिममा रहेको जनाएको थियो ।

नगरमा भविष्य बचतको विषयमा धरान–९ का रामप्रसाद लिम्बू र धरान–१२ की रश्मी प्रधानलगायतले उजुरी दिएपश्चात् गत भदौ ६ गते दिनेश श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले अध्यक्षलगायतलाई सम्पर्क गर्दा कार्यालयमा नभेटिने र कागजात पनि उपलब्ध नगराएपछि आजित भएर समितिले आर्थिक विकास महाशाखालाई सोहीअनुरूपको प्रतिवेदन बुझाएको थियो ।

धरान उपमहानगरका नगर प्रमुख तिलक राईले भदौ १३ गते नगरवासीलाई अपिल गर्दै लेखेका थिए, ‘सहकारी संस्थाहरूले सहकारीका सिद्धान्तहरू, मूल्यमान्यताहरूअन्तर्गत नरही कार्य गरेको पाइएकाले सहकारी शेयर सदस्य रहँदा र सम्बन्धित सहकारीमा शेयर सदस्यले बचत गर्दा सम्बन्धित सहकारीको गतिविधि तथा प्रतिष्ठानका बारेमा सुसूचित भएर मात्र सदस्यता लिन र बचत गर्न सम्पूर्ण नगरवासीहरूमा जानकारी गराउँदछु ।’

अहिले पीडित बचतकर्ताहरू दैनिक धरान उपमहानगरपालिकाको आर्थिक विकास महाशाखामा धाउँदै आएका छन् । आफ्नो रकम फिर्ता पाउने आशामा नगरपालिका धाइरहे पनि पाउने सम्भावना न्यून रहेको छ । नगरपालिका परिसरमा भेटिएका धरान–१७ का बचतकर्ता सरोज राईले दैनिक ३ सय रुपैयाँ बचत गर्दै आएको बताए । हालसम्म कुल ७१ हजार १ सय रुपैयाँ बचत भइसकेको र कात्तिक २८ गतेसम्ममा दिने भनेको भए पनि त्यसपछि सम्पर्कविहीन बनेको बताए ।

‘हामीले ताकेता गर्न थालेको त दशैंभन्दा अगाडिदेखि नै हो । तिहारपछि दिने भनेको थियो, अब त सम्पर्कविहीन भयो’–उनले भने । धेरै बचतकर्तालाई विभिन्न मितिमा दिने भन्दै ढाँट्दै आइरहेको उनले बताए । बचतकर्तालाई मात्रै हैन, धरान उपमहानगरको आर्थिक विकास महाशाखाले पनि पत्राचार गर्दा विभिन्न मितिमा आउने भन्दै ढाँट्दै आइरहेको थियो । पटक–पटकको पत्रलाई बेवास्ता गरेपछि महाशाखाले कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा पत्राचार गरिसकेको महाशाखाका वरिष्ठ आर्थिक विकास अधिकृत भक्तिराज शर्माले बताए ।

उनले भने, ‘हामीले पटक–पटक आउनका लागि पत्राचार गर्यौं, सचेतना पत्र पनि पठायौं, केही नलागेपछि कारबाहीको प्रोसेसमा जानुपर्यो ।’ महाशाखाले सहकारी ऐन २०७५ को परिच्छेद १९ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाइदिन सिफारिससहित अनुरोध गरिएको उनले बताए ।

इलाका प्रहरी कार्यालय धरानलाई सहकारीका अध्यक्ष इन्द्र लिम्बू, व्यवस्थापक राकेश राई र कर्मचारी मोनिका खड्का जिम्मेवार व्यक्ति रहेको जानकारी गराएको छ । सहकारीले करिब १ करोडको हाराहारीमा रकम फिर्ता गर्नुपर्ने अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले धरान उपमहानगरबाट कारबाहीका लागि पत्र आइपुगेको बताए । उनले यस्ता मुद्दामा सहकारी ऐन आकर्षित हुने भएकाले सञ्चालकहरूलाई पक्राउ गरी ल्याउने र पीडितहरूले उजुरी दिएको खण्डमा उजुरीका आधारमा कारबाही अगाडि बढ्ने बताए ।