भारतीय शेयर बजारका एक सफल लगानीकर्तामध्येका डा. विजय किसनलाल केडियाका शेयरबजारबारे चार सूत्र ।

राम्रो व्यवस्थापनलाई हेर्नुहोस्  
हरेक लगानीकर्ताले राम्रो र पारदर्शी व्यवस्थापन भएको कम्पनीमा लगानी गनुपर्नेमा विजय केडियाले जोड दिएका छन् । एउटा कम्पनी बन्नका लागि विभिन्न पक्षहरू जोडिएका हुन्छन् । लगानी गर्नुपूर्व ती सबै पक्षहरूमा विचार पु¥याउनुपर्ने केडियाको धारणा छ । कम्पनीको गुणात्मक पक्षहरूलाई जोड दिन आवश्यक छ । शेयरको मूल्यलाई मात्र नभएर कम्पनीको व्यवस्थापकीय पक्षलाई ध्यान दिन केडियाले सुझाव दिएका छन् । व्यवस्थापन शेयरधनीप्रति इमान्दार हुनुपर्छ । व्यवस्थापनले कस्तो प्रोडक्टलाई विस्तार गर्दैछ, प्रतिस्पर्धीभन्दा राम्रो प्रदर्शन गर्छ कि गर्दैन भन्ने विषयमा पनि लगानीकर्ताले ध्यान दिनुपर्छ । राम्रो, पारदर्शी र इमान्दार व्यवस्थापन भएको कम्पनी छ भने त्यस्तो कम्पनीमा १०–१५ वर्षसम्म लगानी लगाउन उचित हुने केडिया बताउँछन् ।

दीर्घकालका लागि लगानी गर्ने
दीर्घकालीन लगानीमा केडियाको दृढविश्वास रहने गरेको छ । कम्पनीहरूलाई हुर्कन र परिपक्क हुन समय लाग्ने केडिया बताउँछन् । उतारचढाव बजारको स्वाभाविक गुण भएकाले दीर्घकालीन लगानी गर्नु नै फाइदाकारी हुने उनको भनाइ छ । मूल्यमा हुने तलमाथिलाई ध्यान दिन सकिएन भने नोक्सानी पनि भोग्नुपर्ने हुन्छ । यद्यपि अल्पकालमा यस्तो उतारचढाव धेरै नै हुने भए पनि दीर्घकालीन लगानीमा भने बजारको उतारचढावले खासै ठूलो फरक पार्दैन । शेयर बजारबाट अधिक मात्रामा लाभ लिनका लागि दीर्घकालीन लगानी आवश्यक रहेको केडियाको बुझाइ रहेको छ । शेयर बजारमा न्यूनतम् पनि ५ वर्ष अवधिलाई योजना बनाएर लगानी गर्नु उचित हुने उनी बताउँछन् ।

सन्तुलित दृष्टिकोण राख्ने
बजारको उतारचढाव तथा बुल र बियर ट्रेण्डमा पनि लगानीकर्ताले सन्तुलित दृष्टिकोण राख्नुपर्नेमा केडियाले जोड दिएका छन् । बजार बढेका बेला अत्यधिक आशावादी हुनु र घटेका बेला अत्यधिक निराशावादी हुनु दुवै घातक हुन सक्छ । आफ्नो लगानीलाई लिएर तनावपूर्ण अवस्था उत्पन्न गराउन आवश्यक छैन । बजारमा घटबढ भइरहन्छ । यसर्थ, आत्मविश्वासी भएर लगानी गर्नुपर्ने उनको भनाइ छ । यस्तै दीर्घकालीन योजनासहित सन्तुलित पोर्टफोलियो बनाउन सकेमा अधिक फाइदा हुने उनको अनुभव रहेको छ । सेयर बजारमा भोलि ठ्याक्कै यस्तो हुन्छ भनेर कसैले अनुमान गर्न सक्दैन । शेयर बजार लगानी गरेर पैसा कमाउने क्षेत्र भएकाले लगानीकर्ताको दृष्टिकोणले पनि ठूलो भूमिका खेल्छ । तसर्थ, सन्तुलित दृष्टिकोण राख्न लगानीकर्ताहरूलाई केडियाले सुझाव छ ।

दैनिक जीविकोपार्जनका लागि शेयर बजारलाई आधार नबनाउने
आफ्नो दैनिक जीविकोपार्जनका लागि शेयर बजारमा भर पर्न नहुने केडियाको भनाइ छ । विशेषगरी आम्दानीको वैकल्पिक स्रोत भएकाले शेयर बजारमा लगानी गर्नु उपयुक्त हुने उनी बताउँछन् । अन्य आम्दानीको स्रोत भएमा शेयर बजारमा आउने उतारचढावलाई पनि झेल्न सकिन्छ भने सक्रिय कारोबारीका रूपमा काम गर्न पनि सहज हुन्छ । कतिपय लगानीकर्ताले नियमित आम्दानीको स्रोतबिनै ठूलो रकम बजारमा खन्याएका हुन्छन् । जसका कारण धेरैले सम्पत्ति गुमाउनु परेको छ । साथै, यस्तो अवस्थामा ऋणको भारी पनि थपिने सम्भावना रहन्छ । तसर्थ, नियमित आम्दानीको अन्य स्रोतहरू हुनुपर्छ । शेयर बजारलाई पनि कमाइ गर्ने वैकल्पिक माध्यम बनाउनुपर्छ ।
–नेपालीपैसा