विजयपुर (ब्लाष्ट) चितवन भरतपुरत–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्मालाई दलित भएकै कारण कुटपिट गरी हत्या गरिएको निष्कर्ष निकालिएको छ । 

दलित अधिकारकर्मी दलमर्दन कामी ‘मोसा’ ले गरेको एकल अध्ययनका क्रममा मन्दिर पूजा गर्न पाउनु पर्छ भनी आवाज उठाउँदा हत्या भएको निष्कर्ष निकालिएको हो । मोसाका अनुसार १५ वर्ष पहिले २ छोरा र पत्नीको श्रमदानबाट मन्दिर निर्माण गरेका थिए । जब मन्दिर सम्पन्न भई पूजापाठ गर्न थालियो । त्यसपछि दलित भनिएका समुदायलाई मन्दिर प्रवेश गरी पूजा गर्न बञ्चित गरिएको उनले बताए । आफूले निर्माण गरेको मन्दिरमा पूजा गर्न नपाएपछि भीमबहादुर सङ्घर्ष गर्दै आइरहेको देखिन्छ । असोज–२८ गते दुर्गा पूजा गर्न जाँदा उनलाई स्थानीय युवाले आक्रमण गरी हत्या गरेको कामीले आरोप छ । 

उनका अनुसार स्थानीय युवा सीताराम बस्नेत र फार्मेसी व्यवसायी दिलीप श्रेष्ठले पाइप र इँटाले प्रहार गरी हत्या गरिएको स्थलगत अध्ययनमा पाइएको छ । २८ गते भीम पूजा गर्न गएका थिए । पूजा गर्न नदिई बस्नेतले पाइप प्रहारबाट घाइते भई प्राथमिक उपचार गर्नका लागि श्रेष्ठले सञ्चालन गरेको फार्मेसीमा गए । फार्मेसीमा पुगेपछि औषधि गर्नु त होइन उल्टै इँटा प्रहारी गरी बीभत्स हत्या गरिएको उनको आरोप छ ।

मन्दिरमा गैर दलितहरू माथिल्लो तलामा पूजा गर्दथे भने दलितहरू तल्लो तलामा पूजा गर्दथे । सुकुम्वासी क्षेत्रमा बसोवास गर्ने निम्न वर्गीय दलितहरूको चेतनास्तर कम भएको र आर्थिक अवस्थामा कमजोर भए पनि भीमको चेतनास्तर रहेछ । त्यसैले आफैले निर्माण गरेको मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनी सङ्घर्ष गर्दा हत्या गरिएको उनले बताए । 

अहिले बस्नेत र श्रेष्ठ प्रहरीको हिरासतमा छन् । सोही घटना तथा अन्य जातीय विभेदजन्य घटनामा सङ्घर्ष गर्नका लागि धरानमा संयुक्त सङ्घर्ष समिति गठन गरिएको छ । दलित अभियन्ता रमेश गजमेर संयोजक र लम्जेल सङ्घर्षशील सदस्य सचिव भएको समिति गठन गरिएको छ ।

समितिले दीर्घकालीन रूपमा जातीय भेदभावविरुद्ध अभियान सञ्चालन गर्ने जनाएको छ । सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै विभिन्न किसिमका अभियान सञ्चालन गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै अधिकारकर्मी त्रिलोचन लोहारले जातीय भेदभाव खस आर्यले गर्ने र उनीहरूलाई राज्यले संरक्षण गरेकाले दलितमाथि बारम्बार आक्रमण भइरहेको बताए ।

‘राज्यले नै संरक्षण गरिरहेकाले एकमुष्ट आवाज उठाउन लागिपरेका हाँै’ उनले भने, ‘दलित मुक्तिका लागि अबको आन्दोलन समन्वयकारी मात्रै नभई हस्तक्षेपकारी हुनुपर्दछ ।’ उनले कुनै पनि अभियान आन्दोलन सुरुमा थारैबाट सुरु हुने र सफल हुँदै आएपछि अन्यको पनि सहयोग रहने बताए । सङ्घर्ष सफल हुनका लागि दृष्टिकोण आवश्यक पर्ने बताए ।