विजयपुर । फूलमा परनिर्भरता बढ्दै गएको छ । बाह्रमासे फूलको उत्पादन विगतभन्दा केही वृद्धि भए पनि मौसमी फूलको परनिर्भरता बढ्दै गएको हो । स्थानीय उत्पादनले उचित मूल्य नपाउँदा परनिर्भरता बढ्दै गएको छ । बजारमा भारतीय फूल छ्यापछ्याप्ती पाइने गरेको छ । जसका कारण पनि नेपाली बजारमा स्थानीय फूलको उत्पादन प्रत्येक वर्ष घट्दो क्रममा रहेको छ ।

सुनसरीमा स्थानीय फूल उत्पादन नहुँदा परनिर्भरता बढ्दै गएको छ । विगतका वर्षहरूमा पुष्प व्यवसायी कृषकहरूले तिहार विशेष माला बनाउने फूल उत्पादन गर्दैै आएका थिए तर, स्थानीय स्तरमा उत्पादित फूलबाट निर्मित मालाले अपेक्षाकृत बजार नपाउँदा उत्पादन कम गर्न थालेपछि परनिर्भरता बढ्दै पुष्प व्यवसायी कृषकहरू बताउँछन् । भारतबाट आयात भएको माला कम मूल्यमा बिक्री गर्दा स्थानीय उत्पादनले अपेक्षाकृत बजार नपाएको कृषकहरूको भनाइ छ ।

धरान–२० विष्णुपादुकास्थित एभरेष्ट नर्सरी कृषि फार्मका सञ्चालक युमिन राई विगतका वर्षमा तिहार विशेष फूल उत्पादन गरे पनि अहिले उत्पादन नगरेको बताउँछन् । उनले भने, ‘गतवर्ष पनि उत्पादन ग¥यौं, अन्तिममा भारतको माला आयात गरी कम मूल्यमा बिक्री हुँदा स्थानीय कृषक समस्यामा प¥यौं ।’

धरान–७ स्थित क्यामेलिया नर्सरीका सञ्चालक राजेश राई धरानमा मौसमी फूलको उत्पादन शून्य नै भएको बताउँछन् । ‘तिहार विशेष फूल उत्पादन गर्नका लागि धरानमा पर्याप्त जग्गा छैन । उपमहानगरले कृषकलाई पानीसमेत दिँदैन, कसरी उत्पादन गर्ने ?’ उनले भने, ‘पुष्प व्यवसायीलाई स्थानीय सरकारले प्रोत्साहन पनि गरेन, त्यसैले परनिर्भरता बढ्दै गयो ।’

फ्लोरीकल्चर एसोसिएसन नेपाल सुनसरीका अध्यक्ष खगेन्द्र पोखरेल सुनसरीको हकमा तिहार विशेष मालाका फूल पूर्णरूपमा परनिर्भर रहेको बताउँछन् । उत्पादन गर्दा पनि भारतीय मालाका कारण स्थानीय उत्पादनले उपयुक्त मूल्य नपाएको उनले बताए । उनले भने, ‘विगतका वर्षमा स्थानीय उत्पादनले १० देखि १५ प्रतिशत धान्दै थियो । अहिले त्यो पनि भएन ।’ उनले स्थानीय स्तरमा उत्पादित फूल गुणस्तरीय भए पनि माला निर्र्माण राम्रो नहुने बताए ।

उनका अनुसार सुनसरीमा ४० वटा नर्सरीहरू भए पनि तिहार विशेष मालाका लागि फूल उत्पादन गर्ने नर्सरी छैनन् । ‘माला तिहार गएपछि बिक्री हुँदैन, गतवर्ष तिहारपछि बाँकी माला काठमाडौँ पठायौँ, काठमाडौँका व्यवसायीले पनि भारतको उत्पादनलाई प्राथमिकता दिएपछि निरुत्साहित भयौँ’ उनले भने, ‘नेपाली बजारमा स्थानीय उत्पादनलाई प्राथमिकता नदिँदा समस्या भएको तीतो सत्य हो ।’

पुष्प व्यवसायी प्रेम पराजुलीका अनुसार स्थानीय उत्पादन हुँदै नभएको भने होइन, केही मात्रामा स्थानीय उत्पादन पनि छ । उनले भने, ‘पुष्प व्यवसायीले कृत्रिम अभाव गरी बढी माला बिक्री गर्नका लागि उत्पादन नभएको भनेको हुनसक्छ ।’ धरानमा फूलको अभाव नहुने उनको भनाइ छ ।

कृषिउपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार कृषिउपज बजारमा भारतबाट १ लाख माला आयात गरिएको छ । उनका अनुसार तिहार अवधिभरमा मात्रै कृषिउपज बजारमा कम्तीमा १ करोड ५० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने गरेको छ । अध्यक्ष पोखरेलले सोही अनुपातमा अन्य स्थानीय तहमा पनि आयात हुने गरेको छ ।