हिले । मादल बनाउने पेशा अँगालेका धनकुटा–१ गैरीटोलका छोटे विशङ्खेको परिवारलाई आजकाल बोल्ने पनि फुर्सद छैन । तिहार नजिकिँदै जाँदा उनको परिवार नै मादल बनाउनमा व्यस्त छ ।

११ वर्षको उमेरदेखि छोटेले बुबा धनबहादुरको पुख्र्यौली पेशालाई धानिरहेका छन् । त्यही पेशाबाट बाँच्दै आएका ५९ वर्षीय छोटेले कमाइ सन्तोषजनक नै रहेको बताए । ‘धेरै पैसा त हुँदैन, बाउबाजेको पुख्र्यौली पेशालाई निरन्तरता दिइरहेको छु’ उनले भने, ‘तिहार आउन आँट्दा चाहिँ व्यस्त भइन्छ ।’

मादल बनाउने पेशा उनको परिवारका लागि जीविकोपार्जनको माध्यम बनेको छ । बाल्यकालमा बुबाले मादल बनाएको छेउमा जाँदा नै हप्काउने गरेको अहिले पनि सम्झना छ । उनी भन्छन्, ‘मादल बनाएको ठाउँमा गए लाठो लगाइहाल्थे ।’ त्यही लाठो नै उनका लागि मादल बनाउने प्रेरणा बनेको बताए ।

अन्य बेला मादलको खासै माग नभए पनि तिहार नजिकिँदा चाहिँ मादल बनाउने, खरी हाल्नेको घुइँचो लाग्ने उनी बताउँछन् । यतिबेला मादल बनाउन ७–८ जना कर्मचारी थपेका छन् । दैनिक ७–८ जना खटिँदा पनि ग्राहकको मागअनुसार पुर्याउन हम्मे हम्मे पर्ने गरेको उनी बताउँछन् । उनका अनुसार अहिले १ सय ५० भन्दा बढी नयाँ मादलको माग छ । चार छोरा र ५ छोरीका बुबा छोटेले यही कमाइबाट परिवार पाल्दै आएका छन् ।

उनले मादल, खैजडी, सारङ्गी, मुढा, डम्फू र जुत्ताबाट मासिक ४० देखि ५० हजार कमाउने गरेका छन् । त्यतिले पनि लालनपालन र शिक्षादीक्षामा हम्मे पर्ने गरेको उनी सुनाउँछन् । वार्षिक सबै खर्च कटाएर १ लाख ५० हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनी बताउँछन् । मादलको सिजन हराएसँगै खेतीपातीमा व्यस्त बन्छन् ।

अघिल्लो वर्ष बन्दाबन्दीले मादलको माग नभए पनि यसपालि भने बेलैमा माग आएको उनका छोरा निरबहादुर बताउँछन् । मादलका लागि चाहिने आधारभूत सामग्रीको अभाव हुने गरेको उनी सुनाउँछन् । ‘बाख्राको छाला, देब्रे तालमा गोरुको छाला, ढुङ्ग्रोका लागि चाहिने लाम्पातेको काठको अभाव छ’–उनले भने । उनले बाख्राको छाला विराटनगर र गोरुको छाला भारतको दार्जिलिङबाट ल्याउने गरेको बताए । 

उनका अनुसार एउटा मादलको मूल्य २ हजार ५ सयदेखि ९ हजार ५ सयसम्म रुपैयाँ पर्छ । डम्फू ४ हजार ५ सय, खैजडी २ हजार, ५ सय, सारङ्गी ८ हजार, छालाको मूढा ३ सय ५० मा बिक्री हुने गरेको छ । उनले भने, ‘राम्रो मादल बनाउँदा ढुङ्ग्रो बनाउन २५ सय, छाला २ हजार, खरी लगाउन ३ हजार लगानी हुन्छ ।’

मादल बिक्रीका लागि हिले बजारको मुख्य चोकमा शोरुम नै खोलेका छन् । मादलको माग आउँदा घरका अन्य सदस्यले पनि सघाउने गरेका छन् ।