जहदा, मोरङ । लगातारको बेमौसमी वर्षा र खोलाको बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको छ । खेतमा काटेर राखिएको धान डुबानमा पर्दा अहिले धानको दानामा टुसा आइसकेको छ, तै पनि केही धान जोगिन्छ कि भन्ने आशमा किसानहरू धान निकाल्ने प्रयासमा छन् ।

घाम लागेपछि खेतमा पुगेका कृषक धानको पाँजो फर्काउँदा बालीमै टुसा पलाएर सेताम्य भएको थियो भने काटेर लडाएको धान बाढीले बगाएपछि कसरी परिवारको गुजारा चलाउने भन्दै मोरङ जहदाका कृषक चिन्तित देखिन्थे । शुक्रबार किसानको खेतबारीमा पुग्दा मोरङ जहदा गाउँपालिका–४ शान्तिटोलका बलराम सिंहले खेतमा काटेर राखिएको धान बाढीले बगाएको र बचेको धान पनि डुबानमा पर्दा किसानलाई धेरै नोक्सानी भएको सुनाए । उनले एक बिघामा धान र साढे २ बिघा क्षेत्रफलमा तरकारी खेती लगाएका थिए ।

कृषक सिंहले साढे दुई बिघामध्ये १० कठ्ठामा बन्दा, १० कठ्ठामा काउली, १० कठ्ठामा फूलकोपी, १० कठ्ठामा खोर्सानी र १० कठ्ठामा गोलभेडा लगाएका हुन् । जहदा ४ नंं. वडा धान र तरकारी खेतीको पकेट क्षेत्र हो । यहाँका कृषकको आम्दानीको मुख्य स्रोत धानखेती र तरकारी हो । कृषक सिंहले एक बिघामा लगाएको धान र साढे दुई बिघामा लगाएको तरकारी लोहन्द्रा खोलामा आएको बाढीले सखाप पारिदिएको सुनाए ।

कृषक सिंहले एक बिघामा कान्छी मन्सुली धान लगाएका थिए । पाकेर भित्र्याउन लागेको धानबाली र एक महिनाअगाडि लगाएको तरकारी खेती लोहन्द्रा खोलामा आएको बाढीको कारण भिœयाउन नमिल्ने गरी नष्ट गरेको उनले बताए । ‘गतवर्षको तुलनामा यस वर्ष उत्पादन बढ्ने अनुमान थियो’ उनले भने, ‘तर, लगातारको वर्षासँगै आएको बाढीले सालभरि खाने खेती सखाप बनायो ।’ यहाँका कृषककोे मुख्य आम्दानीको स्रोत धानखेती र तरकारी नै हो ।

एकै रातमा आएको बाढीले पाकेको धान र भर्खर लगाएको तरकारी बाली स्वाहा हुँदा मन पोल्ने गरेको उनले बताए । ‘पाकिसकेको धान भित्र्याउन मात्र बाँकी थियो’ उनले भने, ‘मेहनत र श्रम खेर गयो, एकातिर परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो, अर्कोतिर राहत पाउने आशा पनि छैन ।’ अहिलेसम्म सरकारी निकायको टोली कृषकको क्षतिको विवरण सङ्कलन गर्न पनि नआएको उनको भनाइ छ ।

लगातारको वर्षा र बाढीले बालीमा क्षति पुर्याउँदा उत्पादन घट्ने मात्र नभई, घरपरिवार चलाउन गाह्रो हुने कृषक सिंहको गुनासो छ । उनको ६ जनाको परिवार रहेको छ । ‘छोराछोरीलाई शिक्षादीक्षा पनि यही धान र तरकारी खेतीबाट आएको आम्दानीले गर्दै आएको थिएँ’ उनले गुनासो सुनाउँदै भने, ‘यस वर्ष परिवार पाल्ने चिन्ताले सताएको छ ।’ धान र तरकारीबाट आउने मुनाफा २० लाखभन्दा बढी बेमौसमी वर्षा र बाढीले बगाएर लगेको उनले बताए ।

sag

बलराजजस्तै जहदा गाउँपालिकाका अन्य किसानहरूको अवस्था पनि उस्तै छ । जहदा–४ का ६३ वर्षीय लालबहादुर सिंहले पनि डेढ बिघामा कान्छी मन्सुली धान लगाएका थिए । डेढ बिघामध्ये ७ कठ्ठामा लगाएको करिब ४२ मन उत्पादन हुने धान लोहन्द्रा खोलामा आएको बाढीले बगाएर लगेको उनले सुनाए ।

‘दशैंअगाडि धान पाकेपछि जन लगाएर खेतबारीमा धान लडाएका थियौं । त्यसपछि चाडपर्व लाग्यो’ उनले भने, ‘दशैं सकिएपछि खेतबारीदेखि धान उठाउने तयारी गर्दै गर्दा बेमैसमी वर्षासँगै आएको बाढीले  भित्र्याउने तयारी गरिएको धान बगाएर लगेको छ ।’

एक महिनाअगाडि एक बिघामा लगाएको तरकारी खेतीमा बाढी पस्दा १५ लाखभन्दा बढीको तरकारी नष्ट गरिदिएको उनले बताए । ‘एक बिघा क्षेत्रफलमा गोलभेंडा, काउली, पर्वल लगाएको थिएँ’ उनले भने, ‘बेमौसमी वर्षासँगैको बाढी तरकारी खेतीमा पसेर अहिले पूरै लेदोले तरकारीको बिरुवाहरू  पुरिदिएको छ ।’ काम नलाग्ने गरी तरकारी बाली पनि नष्ट गरिदिएको उनले बताए । ‘पानी मात्र पसेको भए त तरकारी बारीमा त्यति धेरै असर गर्ने थिएन’ उनले भने, ‘लोहन्द्रा खोलाको बाढी लेदोसहित तरकारी खेतीमा पसेको छ । त्यही भएर सबै बिरुवा नष्ट हुन पुगेको छ ।’

यहाँका किसानले अहिलेसम्म धान भिœयाउन सकेका छैनन् । खेतको धान घरमा भित्र्याउन नपाउँदै बाढीले बगाएको र बाँचेको धान पनि भिजेर उम्रन थालेपछि खाद्यान्न सङ्कट हुने भन्दै चिन्ता लागेको जहदा–२ का कृषक दिनेश्वर साहले बताए । उनले लगाएको ६ बिघा धानखेतीमा पनि सिङ्घिया खोलाको बाढीले पाकेको धानमा क्षति पुर्याएको बताए । उनले घरमा यस वर्ष एक दाना पनि अन्न नभित्र्याउँदै बाढीले धान बगाएको र बाँकी रहेको धान पनि खेतमै उम्रन थालेको बताए । ‘यस वर्ष अन्न सङ्कट मात्र होइन, हामी भोकमरीले मर्ने देखिएको छ’ उनले भने, ‘खेती गरेर जीविका चलाउने हामी अब के खाएर बाँच्ने होला, अनि घर खर्च कसरी चलाउने होला ?’

जहदा गाउँपालिकाभित्र ६ हजार बिघामा धान खेती हुने गरेको छ । करिब ४ हजार बिघामा किसानले लगाएको धानबालीमा नोक्सानी भएको जहदा गाउँपालिकाले जनाएको छ । किसानको वास्तविक लगत लिने कार्य भइरहेको गाउँपालिकाको कृषि प्राविधिक सौरभ राजपुतले जानकारी दिए ।

dhan-sa