वन विनाश, चुरे र नदीनाला दोहन साथै जलवायु परिवर्तनका कारण नेपालका शिवालिक क्षेत्रभन्दा दक्षिणतिरका बस्तीवासी काकाकुल बन्ने स्थिति आउँदै छ ।


धरान । शिवालिक क्षेत्रबाट देखिने समथर फाँट हेरेर नअघाउने झापा शिवसताक्षी नगरपालिका–९ का गोपीकृष्ण भट्टराई त्यही क्षेत्रमा बर्सेनि पानीको स्रोत सुकिरहेको देख्दा ‘डरलाग्दो हाहाकार’ भोग्नुपर्ने पो हो कि भनेर चिन्तित देखिन थालेका छन् । उनमा यस खालको चिन्ता थपिन थालेको ७–८ वर्ष मात्रै हुँदै छ ।
gopikrishna_sibasataxxi
पोहोर मात्रै सारेको कलमा पानी पेल्दै गोपीकृष्ण ।

‘म यहाँ आइकन पाँच खेप कल (ट्युवेल) सारिसकेँ, पानी सुकेर पोहोर मात्रै उ... (हातले देखाउँदै) त्यो कल सारेको’ चिन्तित मुद्रामा उनले भने, ‘फागुन, चैतदेखि असारसम्म पूरै बन्द हुन्छ ।’ शिवालिक क्षेत्रबाट करिब पाँच किलोमिटर दक्षिण पूर्व–पश्चिम लोकमार्गसँगै टाँसिएको उनको गाउँ मिलनचोकलाई अहिले धेरैले ‘काकाकुल गाउँ’ भनी चिन्न थालेका छन् । नजिकको बजार दूधेबाट करिब २ किलोमिटर पूर्वमा पर्ने उनको गाउँमा २५ घरपरिवारले पानी नआएकै कारण चार–पाँच वर्षको बीचमा ट्युवेल तलमाथि, वरपर सार्दै आएका छन् । ‘बर्खाको बेलामा डरमर्दो गरेर आउँछ, हिउँदमा ठप्पै हुन्छ’–७६ वर्षीय भट्टराई भन्छन् । पानी नआएपछि त्यहाँका बासिन्दालाई नुहाउन, गाईवस्तुलाई खोलेफाँडो गर्न, लुगाफाटो धुन छिमेकी गाउँ या दुई किलोमिटर दक्षिण कन्काई सिंचाइ आयोजना पुग्नुपर्छ । त्यहीँका ४० वर्षीय नारायण गौली भन्छन्, ‘फागुन लाग्यो है भनेपछि ट्युवेल सुक्न थाल्छ । धेरै लुगाफाटो धुनु पर्नेछ भने चाहिँ कन्काई सिंचाइ आयोजना नै दगुर्नु पर्छ ।’ त्यसो त भट्टराईले १७ हजार रुपैयाँ तिरेर धारा पनि जडान गरेका छन् । ‘धारा जडान गरिएको छ नि, पानी थोपै आउँदैन’–उनी भन्छन् ।

ट्युवेलको पानी सुक्ने समस्या शिवसताक्षी नगरको साझा समस्या हो । त्यसमध्ये पनि चुरेसँगै जोडिएका वडाहरूमा पानी सुक्ने समस्या विकराल बनिरहेको छ । अर्का स्थानीय धनबहादुर थेबेका अनुसार पछिल्लो सात वर्षयता ट्युवेलमा पानी सुक्ने समस्या सुरु भएको छ । शिवालिक क्षेत्रसँग टाँसिएको ९, १० र ११ नम्बर वडावासी पानी सुक्ने समस्याबाट आजित छन् । ५८ वर्षीय थेबे भन्छन्, ‘तीन वर्षअगि काठमाडौंको एक कन्सल्टेन्सीले गरेको भूमिगत स्रोतको अवस्थाबारेको अध्ययनमा ४ सय ६० फिटभित्र पुगेपछि मात्रै पानीको लेयर भेटिन्छ भनेर प्रतिवेदन दिएको थियो ।’ पानी सुक्ने कारणले जनजीविकामा नराम्ररी असर पु¥याउँदै गएको छ । उनी थप्छन्, ‘कृषिजन्य उत्पादन बर्सेनि घटेको घटेकै छ । चार मन धान फल्ने ठाउँमा दुई मन, अढाई मनसम्म हुन्छ । सामाजिक कार्यहरू गर्दा ट्याङ्कीको पानी मगाएर स्टक गर्नुपर्छ ।’ २०७५ सालमा नगरले जारी गरेको वस्तुस्थिति विवरणअनुसार ९ नम्बर वडामा १२ सय ६६ घरधुरी छन् । १० नम्बरमा १३ सय २७ र ११ नम्बरमा १८ सय १४ घरधुरी छन् । ११ वटा वडा रहेको शिवसताक्षीमा ९४ प्रतिशतले ट्युवेल प्रयोग गर्छन् ।  

विगत १५ वर्षदेखि ट्युवेल तथा डीप बोरिङको काम गर्दै आएका शिवसताक्षी नगरपालिका–११ का टेकबहादुर मगर भन्छन्, ‘हिजो ठाउँ हेरी १० देखि १५ फिटसम्ममा पानी आउँथ्यो । अहिले न्यूनतम् १८ फिट जानुपर्छ । पानीको सतह नै तल सरेको छ ।’ 

विगत १५ वर्षदेखि ट्युवेल तथा डीप बोरिङको काम गर्दै आएका शिवसताक्षी नगरपालिका–११ का टेकबहादुर मगर भन्छन्, ‘हिजो ठाउँ हेरी १० देखि १५ फिटसम्ममा पानी आउँथ्यो । अहिले न्यूनतम् १८ फिट जानुपर्छ । पानीको सतह नै तल सरेको छ ।’ उनका अनुसार गोपीकृष्ण भट्टराईको गाउँतिर ६५ देखि ७० फिटमा मात्रै पानीको लेयर भेटिन्छ । पुराना ट्युवेलमा पानी आउन छाडेपछि गत चैतदेखि जेठसम्म तीन महिनाको अवधिमा २८ वटा ट्युवेल गाडेको उनी बताउँछन् । ‘एउटै व्यक्तिको सातादिनको फरकमा ४ ठाउँ गाडेँ, ३५ फिट हानियो अनिमात्रै पानी आइरहेको छ’–५० वर्षीय मगर भन्छन् । उनी वार्षिक सरदर डीप बोरिङ र ट्युवेल गरी ४० वटासम्म गाड्ने गरेका छन् । डीप बोरिङको अवस्था पनि ट्युवेलभन्दा फरक छैन । अहिले शिवसताक्षीमा झण्डै ३२ वटा ओभरहेड ट्याङ्की निर्माणाधीन अवस्थामा छन् तर, पानी वितरणको सम्भावना न्यून देख्छन्; सताक्षी साप्ताहिक पत्रिकाका सम्पादक सेलिङ केसी । ११ नम्बर वडावासीसमेत रहेका उनी भन्छन्, ‘यहाँ निर्माण भइरहेका डीप बोरिङ कुनै पनि सक्सेस छैनन् । ४ सय ३० फिटसम्म खनिएको छ तर, पानीको स्रोत नै सुकिहाल्ने समस्या छ, पहिला बनाएका डीप बोरिङहरूमा पुनः बोरिङ गर्नुपर्ने अवस्था रहेको छ ।’

समस्या झापाको शिवसताक्षीमा मात्रै छैन, शिवालिक क्षेत्रभन्दा दक्षिणपट्टिका सबैजसो जिल्लाका बस्तीवासीमा यस खालको समस्या छ । चारकोसे घना जङ्गलसँगै जोडिएको वराहक्षेत्र–३ को नडाहावासी पनि शिवसताक्षीजस्तै पीडाबाट गुज्रिएको दशक नाघिसकेको छ । नडाहावासी छविलाल लिम्बूका अनुसार नडाहामा हत्तपत्त पानीको लेयर भेटिँदैन । ‘ट्युवेल गाड्दा ३०–३५ फिटसम्म आयो भने आयो, त्यहाँदेखि उँधो गयो भने आउँदैन’–७१ वर्षीय लिम्बू भन्छन् । त्यही कारण वराहक्षेत्रका धेरैजसो वडामा ओभरहेड ट्याङ्कीमार्फत् धारा जडान गरेर पानी पिइरहेका छन् । २०३१ सालदेखि नडाहामा बस्दै आएका लिम्बू मात्रै हैन, यही हुर्किएका प्रकाश मगरको कथाव्यथा पनि लिम्बूको जस्तै छ । अहिले पनि ट्युवेलकै पानी पिइरहेका ४० वर्षीय मगर हिउँदका बेला आंशिक सुक्ने गरेको सुनाउँछन् । ‘छ्याप्पै सुक्ने चाहिँ होइन, हिउँदमा पानी लगाएर तान्नुपर्छ’ नडाहावासी मगर भन्छन्, ‘अहिले धेरैतिर धारा गइसकेको छ । कलको पानी चाहिँ अन्य प्रयोजनका लागि प्रयोग गर्ने गरिएको छ ।’ उनको घरमा ६० फिटमुनीबाट पानी तानिएको छ ।

जनजीविकामा प्रत्यक्ष असर

पानी सुक्न थालेयता प्रत्यक्ष मारमा पुरुषभन्दा बढी महिला परेका छन् । लुगाफाटा धुन, गाईवस्तुलाई पानी, खोले, खाना पकाउनका लागि महिलाहरू नै सक्रिय हुन्छन् । शिवसताक्षी–११ बिहानी टोलकी ७२ वर्षीया विष्णुमाया तामाङले २८ वर्षको बीचमा चार ठाउँमा ट्युवेल सारिसकिन् । पछिल्लोचोटि पोहोर पुसमा मात्रै ट्युवेल सारेकी उनी भन्छिन्, ‘पानी सुकेर चार ठाउँमा कल सारिसकेँ, पहिला १५ फिटमा आको थियो, पोर गाड्दा ३५ फिट खनियो, त्यै पनि रातो पानी आउँछ, फिल्टर नगरी खान, लुगा धुन र नुहाउन सकिँदैन ।’ पानीकै कारण त्यो गाउँमा धेरैको हातखुट्टा कालो हुने, छालाका रोगहरू लाग्ने गरेको छ । ‘पानीको खराबीले एलर्जी निस्किन्छ, हातखुट्टा कालो हुन्छ’–उनी भन्छिन् । पानीकै कारण औषधि उपचारका लागि गएको त उनलाई थाहा छैन तर, पाउडर घस्नुपर्ने बाध्यता चाहिँ छ । ३५ वर्षीया उर्मिला मगरले पानीका कारण कपडा बिग्रिने र छालाको समस्या गाउँभरि नै रहेको बताइन् ।

हिउँदमा ट्युवेलको पानी सुक्दा सबैभन्दा बढी वस्तुभाउलाई खोलेफाँडो र लुगाफाटो धुनमा समस्या हुने उनी बताउँछिन् । चैत, वैशाख र जेठ महिना शिवसताक्षी–११ का बासिन्दालाई पानीको निकै पिरलो हुने गर्छ । ११ नम्बरका वडाध्यक्ष भैरवकुमार श्रेष्ठ भन्छन्, ‘पानी नहुँदा यहाँ बालीनाली, सागसब्जी उत्पादन हुँदैन । कल सार्दा सार्दा पैसा पनि निक्कै खर्च हुन्छ ।’ मिस्त्री मगरका अनुसार ट्युवेल गाड्नका लागि न्यूनतम् ३ हजार रुपैयाँमाथि पर्छ । ‘नचाहिँदो खर्च बढ्छ, पानीको लेयर भेटिएन भने थप तल जानुपर्छ, त्यो बेला यति पाइप लाग्छ भनेर गरेको स्टिमेट नै फेल खान्छ । त्यतै खर्च बढ्छ’ मगर भन्छन्, ‘तीन हजारले पुग्ने ठाउँमा ४–५ हजार लाग्छ ।’

चुरे दोहनको परिणाम

जलवायु परिवर्तन, वन विनाश, नदीनाला दोहनको परिणाम पानीको स्रोत सुकेको मान्छन् विज्ञहरू । भूमिगत जलस्रोतविज्ञ प्रतापसिंह तातेडका अनुसार वन विनाश, नदीनालामा ढुङ्गागिट्टी उत्खनन्का कारण भूमिगत पानीको स्रोत सुक्दै गइरहेको छ । यसलाई नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान नदिने हो भने कालान्तरमा चुरे क्षेत्रभन्दा मुनीका गाउँहरू मरुभूमीकरण हुने उनको भनाइ छ । ‘एकैचोटी असर परेको देखिँदैन, अलिअलि गर्दै विस्तारै समस्या सुरु हुन्छ’–उनले फोन सम्पर्कमा भने ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको भूमिगत जलस्रोत विकास समितिले सुनसरीको दक्षिणी क्षेत्र भोक्राहामा गरेको ‘जमिन मुनीको पानीको सतह मापन’ सम्बन्धी अध्ययनमा पछिल्लो २० वर्षमा पानीको सतह बर्खाका बेला ०.९९ मिटर सतह तल गइरहेको देखाएको छ । त्यस्तै हिउँदमा १.१६ मिटरले सतह तल गइरहेको देखाएको छ । सन् २००१ मा बर्खाको बेला जमिनको सतहबाट पानीको सतह १.९५ मिटरमै भेटिएको देखिन्छ भने २०२१ मा २.९४ मा मात्रै पानीको सतह भेटिएको छ । त्यस्तै हिउँदको बेला सन् २००१ मा २.६४ मिटरमा पानीको सतह भेटिँदा सन् २०२१ मा ३.८ मिटरमा मात्रै  पानीको सतह भेटिएको छ ।
barahachhetra_nadaha (2)
ड्रोनको मद्दतमा खिचिएको वराहक्षेत्र–३ स्थित नडाहा क्षेत्र ।

त्यस्तै झापाको ग्वालडुब्बा क्षेत्रमा गरिएको अध्ययनमा सन् २००१ मा बर्खाको समयमा २.९५ मिटरमा पानीको सतह भेटिँदा सन् २०२१ मा सोही अङ्कमै पानीको सतह भेटिएको छ । तर, हिउँदको अवस्था भने फरक पाइएको छ । हिउँदमा सन् २००१ मा २.९ मिटरमा पानीको सतह भेटिँदा सन् २०२१ मा ३.९ मिटरमा मात्रै पानीको सतह भेटिएको छ । अर्थात् हिउँदमा एक मिटर पानीको सतह तल गएको देखाउँछ । समितिका सूचना अधिकारी तथा सिनियर डिभिजन हाइड्रोलोजिस्ट सुरेन्द्रमान शाक्यका अनुसार २० वर्षको तथ्य केलाउँदा खासै डरलाग्दो तथ्य छैन । ‘ओभरअलमा घटेको छैन, सानो ठाउँलाई आधार बनाएर गर्दा घटेको देखिन सक्छ’ –उनले फोन सम्पर्कमा भने ।

विज्ञहरू मात्रै हैन, स्थानीय बोरिङका काम गर्दै आएका मिस्त्रीहरू पनि वन विनाश र खोला दोहनका कारण भूमिगत स्रोत सुक्दै गएको मान्छन् । ३५ वर्षदेखि बोरिङ तथा ट्युवेल गाड्दै आएका वराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीका हीरा साह भन्छन्, ‘नदीहरू खन्ने भयो, गहिरियो नदी, पानी पनि डाउन भयो । पहिला नदी माथि बग्थ्यो, पानीको लेभल पनि माथि थियो ।’ ५३ वर्षीय साहका अनुसार वनजङ्गल कटान भएकाले पानीको स्रोत सुक्न थालेको छ । उनी भन्छन्, ‘पहिला चक्रघट्टीमा ७ मिटरमा पानी आउँथ्यो, अहिले ९ मिटर खन्नुपर्छ । त्यही पनि पानीको लेयर भेटिँदैन ।’ शिवसताक्षी–११ का ट्युवेल मिस्त्री टेकबहादुरमगर ‘वनजङ्गल विनाश, भूक्षय, खोला, नदीको दोहन’ कै कारण पानी सुक्दै गएको बताउँछन् ।

खोल्सा, कुवा सुक्दै

चालीस वर्षअगाडि शिवसताक्षी नगरपालिकाको स्थिति नै फरक रहेको गाउँलेको अनुभव छ । खोलाखोल्सीमा विभिन्न प्रकारका माछाहरू पाइन्थे । २०१८ सालमा बस्ती बसाउने नाममा झोडा फाँडिन सुरु भयो । मानव बस्ती घना बन्दै गएपछि चारकोसे जङ्गल पातलिँदै गयो । यहाँका खोलाखोल्सी पनि विस्तारै सुक्दै गए । महेन्द्र राजमार्गको सङ्गमचोकबाट करिब २ किलोमिटर दक्षिणमा पर्ने पर्यटकीय केन्द्र चिल्लागढ पोखरी २०६५–६६ सालदेखि सुक्न थालेको शिवसताक्षी–९ का वडाध्यक्ष छविलाल पाठक बताउँछन् । २०५१ सालसम्म शिवसताक्षीवासीले इनारको पानी प्रयोग गर्थे । झापाको शिवगञ्जबाट २०५१ सालमा शिवसताक्षी बसाइँ सरेर आएकी विष्णुमाया तामाङले पनि इनारको पानी खान भ्याइन् । ‘२०५१ सालसम्म इनार थियो, हामी इनारकै पानी थापेर खान्थ्यौं । त्यो बेलामा सरकारले ८–१० घरधुरीलाई सार्वजनिक ट्युवेल दिने चलन सुरु ग¥यो, अनिमात्रै ट्युवेल चलाउन थालियो’–उनी विगत स्मरण गर्छिन् ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले भदौ १६ गते सार्वजनिक गरेको ‘जलवायु सङ्कटासन्नता तथा जोखिम विश्लेषण र अनुकूलन उपायहरूको पहिचान’ नामक प्रतिवेदनले जलस्रोतको हकमा तापक्रम र वर्षाको शैलीमा परिवर्तन देखिँदा पानीको उपलब्धतामा अनिश्चितता थप्ने उल्लेख गरेको छ ।

शिवसताक्षी–९ का स्थानीय धनबहादुर थेबेका अनुसार ७ वर्षअगिसम्म पोखरी, तलाउ, इनारमा पानी अडिन्थ्यो । खोलाखोल्सीमा पनि पानी हुन्थ्यो तर, १०–१५ वर्षयता स्थिति फरक छ । कन्काई नदीले परिचित पूर्वको ठूलो नदी १५ वर्षअगिसम्म १५–२० फिटमाथिबाट बग्थ्यो । ढुङ्गागिट्टी, बालुवा उत्खनन्का कारण अहिले त्यो नदी गहिरिएको छ । ‘खोलाहरूको दोहन भयो, अहिले खोलाहरू गहिरिएका कारणले पानीको सतह पनि मुनी मुनी पुग्दै छ’–उनले भने । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले भदौ १६ गते सार्वजनिक गरेको ‘जलवायु सङ्कटासन्नता तथा जोखिम विश्लेषण र अनुकूलन उपायहरूको पहिचान’ नामक प्रतिवेदनले जलस्रोतको हकमा तापक्रम र वर्षाको शैलीमा परिवर्तन देखिँदा पानीको उपलब्धतामा अनिश्चितता थप्ने उल्लेख गरेको छ । उक्त प्रतिवेदन प्रस्तुत गर्दै जलवायु अनुसन्धानकर्ता रेगन सापकोटाले पानीको उपलब्धता घट्दै जाँदा दलित, आदिवासी, जनजाति, महिला, मधेशी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, बालबालिका र बूढाबूढीमा प्रत्यक्ष असर पुग्ने बताए ।

जलवायु परिवर्तनका कारण नेपालमा प्रत्येक वर्ष तापक्रम पनि बढ्दै गइरहेको छ । जल तथा मौसम विज्ञान विभागले सन् १९७१ देखि २०१४ सम्मलाई आधार मानेर सन् २०१७ मा प्रकाशित प्रतिवेदनमा अधिकतम् ०.०५६ डिग्री सेन्टिग्रेडले तापक्रम वृद्धि हुँदा न्यूनतम् ०.००२ डिग्री सेन्टिग्रेडले वृद्धि भइरहेको उल्लेख छ । पछिल्लो समय अतिवृष्टि, अनावृष्टि, भूक्षय, बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट नागरिक आहत बनिरहेका छन् । २०७७ साल पुस १७ गतेदेखि २०७८ साल भदौ २८ गतेसम्म नेपालभरि १८ सय ३७ दशमलव १ मिलिमिटर पानी परेको छ । यो वार्षिक सरदर पानी पर्नेभन्दा ३७ दशमलव १ मिलिमिटर बढी हो । नेपालमा औसतमा १८ सय मिलिमिटर पानी पर्ने विभागले जनाएको छ ।

जल तथा मौसम विभाग धरानस्थित कार्यालयले दिएको जानकारीमा शिवसताक्षी नगरपालिकामा सन् २०११ मा २६ सय २२ दशमलव ४ मिलिमिटर पानी पर्दा सन् २०२० मा ३१ सय ५४ दशमलव ७० मिलिमिटर पानी परेको थियो । अर्थात् पछिल्लो १० वर्षमा ५ सय ३२ दशमलव ३ मिलिमिटर बढी पानी परेको देखिन्छ । प्रिमनसुन अर्थात् मार्चदेखि जुन ९ सम्मको तथ्याङ्क केलाउँदा सन् २०११ मा ५६९.८ मिलिमिटर पानी पर्दा सन् २०२१ मा १७९.२९ मिलिमिटर पानी कम परेको देखिन्छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०२१ को प्रिमनसुनमा ३९०.५१ मिलिमिटर मात्रै पानी परेको छ । यता पछिल्लो दुई दशकमा अधिकतम् तापक्रम केही घटेको देखाए पनि न्यूनतम् तापक्रम शून्य दशमलव १५५ डिग्री सेन्टिग्रेडले बढिरहेको विभागका धरानस्थित कार्यालयका प्रमुख सुनिल पोखरेल बताउँछन् ।

त्यस्तै सुनसरीको वराहक्षेत्रमा सन् २००१ मा १८ सय ९५ दशमलव ५ मिलिमिटर पानी पर्दा सन् २०२० मा ३ हजार ३६ दशमलव ४१ मिलिमिटर पानी परेको छ । अर्थात् ११ सय ४० दशमलव ९१ मिलिमिटर बढी पानी परेको देखाउँछ । प्रिमनसुनको हकमा पनि शिवसताक्षीकै अवस्था रहेको छ ।

सन् २०११ मा प्रिमनसुनको तीन महिनामा ४७१.७ मिलिमिटर पानी पर्दा सन् २०२१ को त्यही अवधिमा ३५२.३३ मिलिमिटर पानी परेको तथ्याङ्क छ । प्रिमनसुनको तथ्याङ्क केलाउँदा जलवायु परिवर्तनको असर देखिँदै गएको छ । जसका कारण पनि भूमिगत स्रोत पुनर्भरण हुन सकेको छैन । भूमिगत जलस्रोत विकास समितिका सूचना अधिकारी सुरेन्द्रमान शाक्यले २५ प्रतिशत पानीमात्रै जमिन मुनीको सतहमा पुनर्भरण हुने गरेको छ भने अन्य पानी खोला, खोल्सीमार्फत् नदी हुँदै समुद्रमा पुगिरहेको छ ।

सन् २००१ देखि २०२० सम्म वराहक्षेत्रको अधिकतम् तथा न्यूनतम् तापक्रम अध्ययन गर्दा अधिकतम्मा शून्य दशमलव ०४३ डिग्री सेन्टिग्रेडले वृद्धि हुँदा न्यूनतम्मा शून्य दशमलव ००१ डिग्री सेन्टिग्रडटले वृद्धि भइरहेको छ । 

सन् २००१ देखि २०२० सम्म वराहक्षेत्रको अधिकतम् तथा न्यूनतम् तापक्रम अध्ययन गर्दा अधिकतम्मा शून्य दशमलव ०४३ डिग्री सेन्टिग्रेडले वृद्धि हुँदा न्यूनतम्मा शून्य दशमलव ००१ डिग्री सेन्टिग्रडटले वृद्धि भइरहेको छ । मौसम विभागका धरानस्थित कार्यालयका प्रमुख पोखरेल जलवायु परिवर्तनका कारण तापक्रममा ठूलै हेरफेर आइरहेको बताउँछन् । उनले एकैचोटी धेरै पानी पर्नु र प्रिमनसुनमै धेरै पानी पर्नु त्यसकै कारणले भएको बताए ।