सुनसरी । सुनसरी भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ८० करोडभन्दा बढीको विभिन्न सामान आयात भएको छ । 

सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि भदौ मसान्तसम्म ८२ करोड ५० लाखभन्दा बढीको विभिन्न सामान आयात भएको हो । 

सुनसरी भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी आलु, प्याज, चामल, मकै, भुस, धान आयात भएको छ । सुनसरी हुँदै साउन महिनामा भारतबाट १० करोड ९३ लाख ६३ हजार बराबरको आलु आयात भएको छ भने प्याज ६ करोड ३५ लाख ९२ हजार बराबरको आयात भएको देखिन्छ । यसैगरी भारतबाट ८ करोड ३७ लाख ४० हजार बराबरको धान नेपाल भित्रिएको छ भने ५ करोड २३ लाख ४७ हजार बराबरको गहुँ आयात भएको छ ।

त्यसैगरी साउन महिनामै ४ करोड ८७ लाख ६० हजारको मकै आयात भएको छ भने ७० लाख ११ हजार बराबरको कागती आयात भएको सुनसरी भन्सार कार्यालयले जनाएको छ । त्यस्तै सुनसरी हुँदै चामल ६८ लाख ६६ हजारको आयात भएको देखिन्छ भने खाद्यान्न अवशेष अर्थात् भुस १ करोड ५१ लाख १३ हजारको आयात भएको छ ।

त्यस्तै साउन महिनामै सुनसरीका विभिन्न नाका हुँदै १३ लाख ४८ हजार बराबरको पानीपुरी, कुरमुरे, लेज आदि आयात भएका छन् भने ११ लाख ५५ हजार बराबरको ग्रेनाइट स्ल्याव समेत आयात भएको भन्सार कार्यालयको तथ्याङ्क छ । यसरी हेर्दा प्रमुख १० वस्तुहरूसहित सुनसरी भन्सारबाट साउन महिनामा ३९ करोड २२ लाखबढीको कारोबार भएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले जनाएको छ ।

भदौ महिनामा सुनसरी हुँदै भारतबाट १४ करोड ४३ लाख २९ हजार बराबरको आलु आयात भएको छ भने प्याज ६ करोड ९६ लाख ७३ हजार बराबरको आयात भएको देखिन्छ । यसैगरी भारतबाट ६ करोड ३० लाख ४३ हजार बराबरको धान नेपाल ल्याइएको छ भने ६ करोड ९८ लाख ९८  हजार बराबरको गहुँ आयात भएको छ । त्यसैगरी ४ करोड ४६  लाख नौ हजारको मकै आयात भएको छ भने ६३ लाख २४ हजार बराबरको कागती आयात भएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै सुनसरी हुँदै चामल ९९ लाख ८० हजारको आयात भएको देखिन्छ भने खाद्यान्न अवशेष अर्थात् भुस १ करोड १२ लाख ५२ हजारको आयात भएको छ । त्यस्तै भदौ महिनामा सुनसरीका नाका हुँदै १३ लाख १६ हजार बराबरको पानीपुरी, कुरमुरे, लेज आदि आयात भएका छन् भने ५५ लाख ८६ हजार बराबरको सुती सारी, लुङ्गी, धोतीसमेत आयात भएको भन्सार कार्यालयको तथ्याङ्क छ । भदौमा प्रमुख १० वस्तुहरूसहित सुनसरी भन्सारबाट ४२ करोड २६ लाखबढीको कारोबार भएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले जनाएको छ ।

साउन महिनाको तुलनामा आलुको आयात भदौमा ३१ दशमलव ९७ प्रतिशत कारोबार बढेको देखिन्छ भने गहुँ आयात २४ दशमलव ८४ प्रतिशत ,चामल ५२ दशमलव ९४ प्रतिशत, कपडाका प्रकारमा ३६ दशमलव ५७ प्रतिशत र प्याज आयात ९ दशमलव ५६ प्रतिशतले बढेको छ भने भुस आयात २५ दशमलव ५४ प्रतिशत, धान १७ दशमलव ६७ प्रतिशत, कागती ९ दशमलव ८० प्रतिशत, मकै ९ दशमलव ११ प्रतिशत र पानीपुरी, कुरमुरे, लेज आदि २ दशमलव ३६ प्रतिशतले घटेको सुनसरी भन्सार कार्यालयको तथ्याङ्कले देखाउँछ ।

९ करोड करोड ५० लाख राजस्व असुली

सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले चालु आर्थिक वर्षमा ४९ करोड १३ लाख ८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकोमा दुई महिनाको अवधिमा ९ करोड ५० लाख ९९ हजार राजस्व असुली गरेको छ । चालु आर्थिक वर्षको साउन महिनामा सुनसरी भन्सार कार्यालयले दुई करोड ७८ लाख ८४ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकोमा चार करोड ३३ लाख ७८ हजार राजस्व असुली गरेको जनाएको छ ।

यसैगरी भदौ महिनामा चार करोड ७५ लाख सात हजार राजस्व असुली गर्ने लक्ष्य लिएकोमा पाँच करोड १७ लाख २१ हजार राजस्व असुल गरेको भन्सार कार्यालयले जनाएको छ । कृषिजन्य उत्पादनमा कमी आउँदा कुनै बेला नेपालबाट भारत निर्यात हुने चामल र गहुँ अहिले भारतबाट करोडौंको चामल र गहुँ आयात हुने गरेको छ । सुनसरी भन्सार कार्यालयले राखेको वार्षिक लक्ष्यको १९ दशमलव ४० प्रतिशत राजस्व दुई महिनाको अवधिमा उठेको प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले जानकारी दिए ।

सुनसरी भन्सार कार्यालयबाट आयात बढे पनि निर्यात भने शून्य रहेकोे तथ्याङ्कले देखाएको छ । सुनसरी भन्सार कार्यालयबाट भारततर्फ कुनै पनि निकासी नभएको न्यौपानेले जानकारी दिए । उत्पादनमा कमी आउनु, व्यावसायिक उत्पादन नहुनुजस्ता कारणले निर्यातभन्दा आयात बढेको उनको भनाइ छ ।

सुनसरी भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षमा ४९ करोड ६२ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४९ करोड ६६ लाख १२ हजार अर्थात् लक्ष्यको १ सय दशमलव ०८ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । गतवर्ष भन्सार कार्यालयले ६ सय ३० वटा मुद्दाका पुराना सवारी साधनहरूको लिलामबाट दुई करोड ८९ लाख ८५ हजार रकम सङ्कलन गरेको थियो भने धरौटी सदरस्याहाबाट पाँच करोड १६ लाख ३१ हजार रकम सङ्कलन गरेको जनाएको छ ।

राजस्व सङ्कलनसँगै मुद्दा फछ्र्यौटमा सुनसरी भन्सार कार्यालय अब्बल देखिएको बताउँदै भन्सार अधिकृत न्यौपानेले भन्सार कार्यालयले कार्यात्मक लक्ष्य अन्तर्गत अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ४४ वटा मुद्दासहित २०७७÷०७८ मा जम्मा ६ सय ३८ वटा मुद्दा दर्ता भएकोमा ६ सय ५५ वटा मुद्दा अर्थात् दर्ता भएकामध्ये ९६ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको बताए ।