धरान  / नर्स बन्नका लागि रातोदिन हाड घोट्नेहरूको कमी छैन, नेपालमा तर केही यस्ता पात्र पनि छन्, जो नर्सिङ छाडेर कृषिमा क्रान्ति गर्न लागिपरेकी छन् । 

पाँच वर्षयता नर्सिङ छाडेर धरान–१५ की अञ्जना राई कफी क्रान्तिमा होमिएकी हुन् । उनी भन्छिन्, ‘म नर्स ब्याकग्राउण्डको मान्छे, दुई वर्ष जब पनि गरेँ, तर कृषिलाई केही फरक ढङ्गले गरौं न त भन्ने लाग्यो । थोरै लगानी र थोरै ठाउँमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने लागेर नर्सिङ पेशा छाडेर यता आएको छु ।’

उनले धरान कफी तथा कृषि उद्यम केन्द्र नामक संस्था दर्ता गरी अहिले कफीको बिरुवा उत्पादन गरी किसानसम्म पु¥याइरहेकी छन् । करिब तीन वर्ष कफीका लागि हावापानी, भूगोल र माटोको अवस्था जाँच गरिन् । पछिल्लो दुई वर्षदेखि धरान–१५ सूर्यज्योति पथमा कफीको बिरुवा (नर्सरी) उत्पादन थालेकी छन् । पहिलो चरण गतवर्ष ५० हजार बिरुवा उत्पादन गरेको कम्पनीले यो वर्ष ८० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको छ ।

केन्द्रकी निर्देशकसमेत रहेकी उनी भन्छिन्, ‘कफीका लागि कस्तो भूगोल, हावापानी र माटो उपयुक्त हुन्छ भनेर तीन वर्ष अनुसन्धान गरियो ।’ उक्त अध्ययनले २५ डिग्री सेण्टिग्रेडदेखि ३५ डिग्री सेण्टिग्रेडसम्मको तापक्रम कफीका लागि उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।

सोही निष्कर्षपश्चात् सङ्खुवासभा, उदयपुर र धरानमा व्यावसायिक कफी खेती सुरु भएको छ । धरानको १२ नम्बर वडामा बगैंचा खेतीका रूपमा कफी खेती थालिएको छ । ‘साग रोप्ने ठाउँमा कफी लगाउन सकियो भने आम्दानी पनि राम्रो हुने, सुन्दरता पनि थपिन्छ, त्यही भएर त्यहाँ अहिले खेती गरिरहेका छौं’–उनी भन्छिन् ।

सङ्खुवासभाको पाँचखपन, धर्मदेवी र श्रीचोङका साथै उदयपुरको बेलका नगरपालिकामा व्यावसायिक खेती भइरहेको छ । विशेषगरी अहिले खेती भइरहेको क्षेत्रमा स्थानीय सरकारले नै बजेट लगानी गरिदिएको छ भने किसानले खेती गरिरहेका छन् र कम्पनीले प्राविधिक ज्ञान तथा तालिम प्रदान गरिरहेको छ । त्यतिमात्रै नभएर कम्पनीले बजारीकरण पनि गरिदिने काम गरेको छ । ‘किसानले उत्पादन गरेको कफी हामी खरिद गरिदिन्छौं’–उनले भनिन् ।

एउटा कफीको बोटमा राम्ररी फल लाग्नका लागि करिब अढाई वर्ष लाग्ने कम्पनीको अध्ययनले देखाएको छ । जसअनुरूप एउटा कफीको बोटबाट १० देखि २५ केजीसम्म उत्पादन हुन्छ । करिब ६ महिनादेखि नै फल लाग्न थाले पनि गुणस्तरीय भने दुई वर्षमाथिदेखि मात्रै हुने गरेको छ ।

नेपालमा बढीजसो खेती अरबिका जातको कफी हुने गरेको छ । ‘हामीले पनि यही जातकै बिरुवा लगाएका छौं, विश्वमा सबैभन्दा बढी माग हुने र बिक्री हुने जात पनि यही हो’ उनले भनिन्, ‘उत्पादनका हिसाबले पनि यो निकै राम्रो छ ।’ नेपालका लागि अरबिका जात हावापानी, माटो र भूगोल सुहाउँदो छ । नेपालको पश्चिमी जिल्लाहरूमा सबैभन्दा बढी यही प्रजातिको कफी खेती गर्ने गरिएको छ । 

खपतका हिसाबले पनि नेपालमा अरबिका जातको कफीको खपत ज्यादा छ । नेपालमा बर्सेनि करिब ६ अर्ब रुपैयाँ बराबरको कफी भित्रिने गरेको छ । कम्पनीले बजारीकरणका लागि काँचो कफी प्रतिकेजी ५० रुपैयाँले खरिद गरिरहेको उनले बताइन् । यता कम्पनीले खानयोग्य बनाएर प्रतिकेजी २ सय ५० रुपैयाँले बिक्री गर्ने गरेको सुनाइन् । अहिले कफी खेतीका बारेमा स्थानीय सरकारलाई बुझाउने काम भइरहेको उनले बताइन् । नेपालमा पनि कफी संस्कृतिको विकास उम्दो अवस्थामा छ ।

त्यसकारण पनि कफी खेतीको सम्भावना र बजार निकै राम्रो रहेको उनको निष्कर्ष छ । ‘सकभर विदेशबाट आयात हुने कफीलाई रोक्ने हाम्रो उद्देश्य हो’ उनले भनिन्, ‘वार्षिक ६ अर्बको कफी मात्रै भित्रिँदो रहेछ, यसलाई न्यूनीकरण गर्दै लान सक्यौं भने हामी आफै कफीमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने हो ।’ तर, त्यसका लागि सरकार, किसान र कम्पनीबीच सहकार्य हुनसके मात्रै सम्भावनालाई मूर्तता दिन सकिने कम्पनीको दाबी छ । 

सरकारले लगानी गरिदिने, किसानले तालिम लिएर खेती गर्ने र कम्पनीले बजारीकरण गर्ने हो भने कफीमात्रै हैन, कृषिजन्य उत्पादनलाई बढाउन सकिने सम्भावना छ । ‘सरकार, किसान र कम्पनीबीच सहकार्य जरुरी हुँदोरहेछ किनकि सरकारसँग लगानी गर्न सक्ने क्षमता छ, किसानसँग टेक्नोलोजी हुँदैन, ज्ञान हुँदैन, कम्पनीसँग प्रविधि हुन्छ, प्रशोधन गर्ने क्षमता र प्लान हुन्छ’ उनले भनिन्, ‘यी तीनवटै संयन्त्र मिल्ने हो भने कफी मात्रै हैन, सबै खेतीमा सम्भावनै सम्भावना छ ।’

उनको कम्पनीले प्रदेश १ भरि नै अभियान चलाउने तयारी गरिरहेको छ । अब उत्पादित कफीलाई प्रशोधन गर्नेतिर र बजारीकरण गर्नेतर्फ योजना बनिरहेको उनले बताइन् । कम्पनीमा चारजनाले लगानी गरेका छन् । गुणस्तरीय उत्पादनका लागि अझै दुई वर्ष कुर्नुपर्ने कम्पनीका प्रतिनिधि बताउँछन् ।