सुनसरी । कोसी गाउँपालिका वडानम्बर ६ श्रीपुरका अमृत यादव (परिवर्तित नाम) अहिले फुर्सदमा छन् । स्थानीय कोसी माविमा कक्षा ८ मा अध्ययनरत १७ वर्षका उनी कोरोना महामारी त्रासका बीच विद्यालय बन्द हुँदा विगत दुईवर्षदेखि विद्यालय जान पाएका छैनन् । पढ्ने उमेरमा विद्यालय बन्द हुँदा आजभोलि उनी भारतीय बजारबाट सामान ओसार्ने (क्यारिङ) काम गर्छन् । अर्थात् जीवनको भाग्यरेखा कोर्ने उमेरमै ‘क्यारिङ’ मार्फत् पैसा कमाउन थालेका छन् अमृतले ।

‘लकडाउनका कारण अझै विद्यालय खुलेको छैन’ उनी भन्छन्, ‘दुईवर्षदेखि घरमा बसिरहेको छु । घरायसी कामकाजबाहेक फुर्सदको बेला भारतीय बजारबाट साइकलमा खाद्यान्न सामग्री ल्याउने गर्छु ।’  क्यारिङबाट दिनको आठसयदेखि हजार रुपैयाँसम्म कमाउने गरेको बताउँदै अमृतले भने, ‘त्यसबाट आएको आम्दानीले घरखर्च चलाउन सहयोग पुगेको छ ।’ पहिला पहिला बुबाले कमाएको आम्दानीबाट घरखर्च चल्थ्यो तर, आजभोलि बुबा बेरोजगार भएर घरमै बसेपछि आफूले क्यारिङको काम सुरु गरेको उनी बताउँछन् । 

कोसी गाउँपालिका–८ का १५ वर्षीय राजीव मलहा कोसी ब्यारेज क्षेत्रमा माछा मार्ने काम गर्छन् । स्थानीय आधारभूत विद्यालयमा कक्षा पाँचमा अध्ययनरत उनी विद्यालय बन्द हुँदा साथीहरूसँगै जाल बोकेर माछा मार्न जान्छन् । घरनजिकै रहेको विद्यालय कोरोना त्रासका कारण बन्द रहेकाले राजीव जस्ता यहाँका दर्जनौं बालबालिकाको दिनचर्या यस्तै छ ।

कोसी गाउँपालिका–८ भण्टाबारीका समिम आलम ग्यारेजमा काम गर्छन् । कोसी गाउँपालिका–७ स्थित हरिपुरमा रहेकोे कोसी माविमा कक्षा ७ मा अध्ययनरत उनको दिनचर्या त्यहीँको ग्यारेजमा बित्ने गर्दछ । उमेरले भर्खरै १५ टेकेका समिम रहरले होइन, बाध्यताले पढ्ने उमेरमा ग्यारेजमा काम थालेको बताउँछन् । लकडाउनका बेला विद्यालय बन्द हुँदा खाली समयमा काम थालेकाले आर्थिक अवस्था कमजोर रहेकोे उनको परिवार चलाउन सहयोग पुगेको छ ।

अमृत, राजीव र समिम केही प्रतिनिधिपात्र मात्र हुन् । पहिला पहिला चेतना अभाव, गरिबी, आर्थिक अभावजस्ता कारणले बीचमै पढ्दापढ्दै विद्यालय छाड्नेहरू धेरै हुन्थे भने हिजोआज लकडाउनका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरू श्रमिक बनिरहेका छन् । विद्यालय नलाग्दा कापी, कलम बोक्ने उमेरमा बालबालिका माछा मार्ने र काठ, दाउरा निकाल्नेसँगै क्यारिङ गर्ने काममा लागेको मानवअधिकारकर्मी रमेश भट्टराईको बुझाइ छ । ‘विद्यालय पढ्ने उमेरका बालबालिका पहिला पहिला कापी, कलम र पोसाक खर्च जुटाउने बहानामा माछा मार्ने र दाउरा सङ्कलन गर्ने गर्थे’ उनले भने, ‘तर, आजभोलि उनीहरू फुर्सदिला भएका छन्, जसले गर्दा त्यस्ता काममा लाग्ने गरेका हुन् ।’

लकडाउनका साथै आर्थिकस्तर कमजोर भएका कारण कतिपय बालबालिकाले पढाइलाई निरन्तरता दिन सक्ने अवस्था कम रहेको भट्टराई बताउँछन् । लामो समयदेखि विद्यालय बन्द हुँदा र पढे पनि रोजगारी नपाइने अभिभावकको मानसिकताका कारण बालबालिका पढाइभन्दा पैसा कमाउनेतिर केन्द्रित भएको स्थानीय सुरेन्द्र यादव बताउँछन् ।

जिल्लाका स्थानीय तहहरूले विद्यालयमा विद्यार्थी टिकाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आए पनि त्यो प्रभावकारी नभएको भट्टराईको दाबी छ । स्थानीय तहहरूले आफ्नोतर्फबाट बालबालिका आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्दै आएका छन् तर, अभिभावकमा चेतनाको अभावका कारण बालबालिका विद्यालयमा टिक्न सकेका छैनन् ।

अभिभावकमा आफ्ना बालबालिकालाई विद्यालय पठाउनु पर्छ भन्ने भावनाको विकास गराउन सकेमा बालबालिकालाई विद्यालय पठाउन मात्र नभई टिकाउनसमेत सकिने कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । गाँस, बास, शिक्षा र स्वास्थ्य भन्ने सरकारी नारा रहे पनि कलिला बालबालिकाहरू अझै पनि आफ्ना अधिकारबारे अनभिज्ञ रहेको बताउँदै मानवअधिकारकर्मी भट्टराईले बालअधिकारका विषयमा जति नै भाषण गरिए पनि त्यो व्यवहारमा भने लागू नभएको दाबी गरे ।