वराहक्षेत्र । कोरोना सङ्क्रमणका कारण विद्यालय पुगेर विद्यार्थीले अध्ययन गर्न पाएका छैनन् । सरकारले भीडभाड हुने विद्यालयलगायतका क्षेत्र सञ्चालन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएको छ । वराहक्षेत्र–३ भरौलीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा बुधबार नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य आफ्ना नेता छान्न तल्लीन थिए ।
पुराना ८२ र नयाँ ९९ गरी वराहक्षेत्र–३ नम्बर वडाका १ सय ८१ जना क्रियाशील सदस्यमध्ये १ सय ७५ जनाले मतदान गरे । तीमध्ये एक थिए ७१ वर्षीय अबिलाल पुरी । ७१ वर्षीय पुरीले यसै वर्ष नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता लिएर मतदान गरे ।
‘म त्यस्तो राजनीति खेल्ने, पार्टीमा लाग्ने, हिँड्ने त हैन, तर एउटा कुनै न कुनै लइन र पार्टीमा लाग्नुपर्छ भनेर काङ्ग्रेसमै लागेको हुँ’ पुरीले भने, ‘पहिलेदेखि नै काङ्ग्रेसमा आस्था राखेकाले सदस्यता लिनुपर्छ भन्ने लागेर लिएको हुँ, यी आज भोट पनि दिएर आएँ ।’
२००७ सालमा खोटाङ जिल्लाको बाकाचौल, बादेल (ऐंसेलुखर्क) भन्ने ठाउँमा जन्मिएका पुरी २०२२ सालदेखि गाउँ छाडेर भारतीय निजामति सेवा (पीडब्लुडी) मा सेवारत रहेको बताउँछन् । मेडिकल पेन्सनपछि वराहक्षेत्र–३ नडाहामा स्थायी बसोबास गरेको उनको भनाइ छ ।
स्थानीय काङ्ग्रेस कार्यकर्ताको सङ्गतले काङ्ग्रेस पार्टीतर्फ आकर्षण भएको पुरी बताउँछन् । स्थानीय सरकारको निर्वाचनमा चुनावी अभियानमा काङ्ग्रेस कार्यकर्ता सँगसँगै हिँडेको बताउने पुरी भन्छन्, ‘इण्डियामा पनि काङ्ग्रेसमै भोट दिएको थिएँ ।’
उनी थप्छन्, ‘इण्डियामा पनि भाजपा, अन्य कम्युनिष्ट पार्टी, क्षेत्रीय पार्टीहरू पनि हुन्थे तर, त्यतातिर नलागेर काङ्ग्रेसमै भोट हालेँ ।’ पुरी बसोबास गर्ने नागाल्याण्डको डिमापुर क्षेत्रमा समेत काङ्ग्रेसको बाहुल्यता रहेको बताउँछन् । ‘वरिपरि पनि काङ्ग्रेस नै थिए, त्यसैले पनि त्यतैतिर मन गयो’ पुरी भन्छन्, ‘त्यही एउटा भोट त दिने हो, अर्थोक त के नै गर्ने हो र ?’
पुरी देश फर्किएपछि पनि भतिजा, नातिहरू काङ्ग्रेसमै सक्रिय रहेका पाए । काङ्ग्रेसको १३ औं महाधिवेशन र स्थानीय निर्वाचनमा सक्रियता देखाएका पुरीले त्यसपछि पार्टीको क्रियाशील सदस्यता लिनुपर्ने रहेछ भन्ने महसुस गरे । उनी भन्छन्, ‘सदस्यता लिन अहिले नातिहरूले पनि सहयोग गरे ।’
पुरीले केन्द्रीय नेता चाहिँ तस्बिरहरूमा मात्र देखेका छन् । तर, उनीहरूसँग सङ्गत गर्न पाएनन् । काङ्ग्रेसका युवा नेताहरूलाई उनी सन्देश पनि दिन चाहन्छन् ।
‘अहिले पार्टीमा लागेर हिँड्ने नयाँ पिँढी, युवाहरूले पार्टीलाई जोगाउनु पर्छ, म ७१ वर्षको उमेरमा सदस्य भएँ, युवाहरूले उठ्नु प¥यो’ पुरी भन्छन्, ‘देशको विकास, बाटोघाटो र केही बदलीको लागि पनि राजनीति नै हुनुपर्छ, बदली हुँदा उसले पो गर्छ कि, एमालेले त्यतिसम्म गर्यो भने काङ्ग्रेसले त्योभन्दा बढी गर्छ कि भन्ने जनतामा आशा हुन्छ, मेरो आशा पनि त्यति मात्रै हो ।’
१५ वर्षदेखि नडाहामा नै निरन्तर बसिरहेका पुरीका २ छोरा र ३ छोरी छन् । तिनीहरूका नाति, नातिना छन् । दुई छोरा विदेशमै छन् । ‘पार्टीको सदस्य हुनुपर्छ । क्रियाशील बन्नुपर्छ । गाउँठाउँको विकास गर्न पनि राजनीतिक आधार समाउनुपर्छ’ पुरीले यिनै विचारका आधारमा सदस्यता लिएको बताए ।
‘मैले अरू के भन्नु र ?, देशको विकास होस्, काङ्ग्रेसले जित्यो भने पनि देशको उन्नति गरे राम्रो हो, गर्छन् कि भन्ने युवा केटाहरूको जोश देखिन्छ, गरेर देखाउँछु भन्ने उनीहरूको ‘भित्री’ छ कि ? पुरी संशय व्यक्त गर्दै भन्छन्, ‘एउटा बूढो आशा मात्रै हो ।’